मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८२ पौष ६ आइतबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८२ पौष ६ आइतबार २३:४o:oo
Read Time : > 1 मिनेट
सप्तरंग

नयाँदिल्लीमा नेपाली फिल्मको महोत्सव र अवार्डस् कार्यक्रम हुँदै 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ पौष ६ आइतबार २३:४o:oo

नेपाली चलचित्रको प्रवर्द्धन तथा सम्मानको उद्देश्यसहित इन्टरनेसनल नेपाली फिल्म फेस्टिभल एन्ड अवार्डस् (इन्फा)ले आफ्नो पहिलो फिल्म महोत्सव तथा अवार्डस् कार्यक्रम सन् २०२६ फेब्रुअरी १ देखि ३ सम्म भारतको नयाँदिल्लीमा आयोजना गर्ने घोषणा गरेको छ। 

अन्तर्राष्ट्रिय दर्शकमाझ नेपाली चलचित्रको प्रवर्द्धन गर्नुका साथै सहकार्य र व्यावसायिक सम्बन्ध विस्तारका लागि साझा मञ्चको निर्माण गर्नु यस महोत्सवको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । प्रतियोगिताका लागि सन् २०२५ मा प्रदर्शन भएका नेपाली फिचर फिल्महरूबाट आवेदन आह्वान गरिएको छ । आवेदन बुझाउने अन्तिम मिति २०२६ जनवरी ७ रहेको छ ।

महोत्सवको प्रमुख आकर्षणहरूमा उत्कृष्ट फिचर फिल्म, निर्देशन, कलाकार तथा अन्य प्राविधिक विधामा सम्मान प्रदान गरिने रेडकार्पेट अवार्ड समारोह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्मकर्मी, समीक्षकहरूको सहभागितामा मन्थन, प्रिमियर साे तथा विशेष प्रदर्शनहरू र सांस्कृतिक प्रस्तुतिहरू रहनेछन् ।

फेस्टिभलमा प्रमुख जुरीका रूपमा नेपालका लोकप्रिय चलचित्रकर्मी तथा अभिनेता कृष्ण मल्ल  तथा जुरी सदस्यहरूमा निर्देशक तुलसी घिमिरे, अभिनेता सुनील थापा,  अभिनेत्री विपना थापा र भारतका विशिष्ट थिएटर एक्टर अभतार शाहनी  छन्। 

‘इन्फा दिल्ली २०२६ हाम्रो नेपाली चलचित्र उद्योगका लागि अन्तर्राष्ट्रियस्तरमा आफ्नो प्रभाव विस्तार गर्ने महत्त्वपूर्ण अवसर हुनेछ,’ इन्फाका अध्यक्ष राजेन्द्र घिमिरे भन्छन्, ‘यस कार्यक्रममार्फत नेपाली चलचित्र र प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउने हाम्रो प्रयास हो।’ 

महोत्सव निर्देशक (नेपाल) जनकदीप पराजुलीका अनुसार यस कार्यक्रमले भारत–नेपाल सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै भारतस्थित नेपाली समुदाय र अन्तर्राष्ट्रिय दर्शकमाझ नेपाली चलचित्रको प्रचार र प्रभाव विस्तार गर्नेछ ।

इन्फाकी प्रवक्ता तथा हिमचुली फाउन्डेसन फर आर्ट एन्ड कल्चरकी संस्थापक   आकांक्षा शाह भन्छिन्, ‘फिल्म प्रदर्शनका अतिरिक्त हामी प्यानल छलफल, अन्तर्वार्ता तथा टक साेहरू आयोजना गर्दै छौँ, जसको उद्देश्य नेपाललाई छायांकन गन्तव्यका रूपमा प्रवर्द्धन गर्नु, संयुक्त निर्माणका सम्भावनाहरू खोज्नु र भारत तथा नेपालबिच सांस्कृतिक कूटनीतिलाई सशक्त बनाउनु हो ।’ 

महोत्सवले भारतमा रहेका नेपालीभाषीसँगै फिल्मकर्मीहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ, जसले उदाउँदा प्रतिभा र दुवै चलचित्र उद्योगबिचको सहकार्यका लागि एक महत्त्वपूर्ण मञ्चको निर्माण हुने अपेक्षा गरिएको छ । महोत्सवले भारतमा रहेका नेपालीभाषीसँगै फिल्मकर्मीहरूलाई आकर्षित गर्ने अपेक्षा आयोजकले गरेको छ। उदाउँदा प्रतिभा र चलचित्र दुवैबिचको सहकार्यका लागि यो महत्त्वपूर्ण कार्यक्रम हुने आकलन गरिएको छ। संस्थाले अवार्डका लागि सहभागी हुने https://filmfreeway.com/INFFA मा चलचित्र अपलोड गर्न अथवा नेपालस्थित नेपाल चलचित्र निर्देशक समाजको कार्यालयमा उपलब्ध गराउन वा इमेल infaa.filmsubmission@gmail.com मा गुगल ड्राइभमा  पठाउन अनुरोध गरेको छ।