मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८२ पौष ६ आइतबार
  • Friday, 14 August, 2026
पवन मुलुकुटला/श्री कुमार कुमारास्वामी
२o८२ पौष ६ आइतबार ११:३८:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

नयाँदिल्लीमा स्वच्छ वायुको लक्ष्य तय गरियोस्

Read Time : > 2 मिनेट
पवन मुलुकुटला/श्री कुमार कुमारास्वामी
नयाँ पत्रिका
२o८२ पौष ६ आइतबार ११:३८:oo
  • प्रस्ट तीनवर्षे योजना, मापनयोग्य लक्ष्य, बलियो कार्यान्वयन र नागरिक सहभागिताबाट भारतले आफ्नो प्रदूषण नियन्त्रणको कथा पुन: लेख्न सक्छ

तीव्र गतिमा बिग्रँदै गएको वायु गुणस्तरबिच दिल्ली सरकारले हालै २०२६ का लागि वायु प्रदूषण नियन्त्रण योजनालाई अन्तिम रूप दिने जिम्मेवारी पाएको उच्चस्तरीय समितिको गठनसहित आपत्कालीन उपायको शृंखला घोषणा गरेको छ । एक गम्भीर स्वास्थ्य जोखिमसहित विषाक्त हावाले भारतको आर्थिक सम्भावनालाई त गहिरो रूपमा असर गरेको छ नै, त्यसबाहेक वायु प्रदूषणकै कारण श्रम उत्पादकत्व घटेको छ, व्यवसायमा ह्रास ल्याएको छ र स्वास्थ्य सेवा खर्च अस्वाभाविक रूपमा बढाएको छ । 

वायु प्रदूषणले प्रशासनिक सीमाहरूको सम्मान गर्दैन । दिल्ली–एनसिआर (राष्ट्रिय राजधानी क्षेत्र) र आसपासका क्षेत्रलाई हेर्ने वायु गुणस्तर व्यवस्थापन आयोग (सिएक्युएम)को गठन सही दिशामा एउटा कदम थियो । यो दृष्टिकोणलाई विभिन्न विभाग (यातायात, सहरी विकास, कृषि, उद्योग र नगरपालिका निकाय)मा समन्वित कार्यका साथ विस्तार गर्न आवश्यक छ जसमा स्पष्ट भूमिका, उदार प्रोत्साहन र कडा दण्ड समावेश छन् ।

आगामी तीन वर्षमा राष्ट्रिय राजधानी क्षेत्रभर हावामा पिएम–२.५ को मात्रामा ३० प्रतिशत कटौतीलाई क्षेत्रीय लक्ष्यका रूपमा तय गरिनुपर्छ ताकि प्रणालीलाई सुस्त, तर निरन्तरको सुधारभन्दा बाहिर जान मद्दत मिलोस् । विभागहरूमा कार्य मापन गर्ने एकीकृत ‘क्रस–सेक्टरल’ (एउटाभन्दा बढी समूह, क्षेत्र वा खण्डसँग सम्बन्धित) अनुगमन ढाँचाले एजेन्सीबिच समन्वय र नीति तथा कार्यकोे पंक्तिबद्धतालाई बलियो बनाउन सक्छ । यी लक्ष्य प्राप्त गर्नका लागि सम्बन्धित विभागमा नक्सांकन गरिएको र राजधानीमा बलियो राजनीतिक सहमतिद्वारा समर्थित वार्षिक मापनयोग्य जिम्मेवारीको आवश्यकता पर्छ । समग्र अनुगमनले बलियो जवाफदेहिता सुनिश्चित गर्न सक्छ तर लक्षित, स्थानीयस्तरको कार्यान्वयनको संस्थागतीकरण पनि आवश्यक छ । सानो समुदाय वा भौगोलिक क्षेत्रमा वायु गुणस्तर तथ्यांकका साथ, अधिकारीहरूले वास्तविक समयमा प्रदूषणका मुख्य स्थल पहिचान गर्न र द्रुत सुधारात्मक कारबाही गर्न सक्छन् । 

यातायात क्षेत्रबाट उत्पन्न हुने उत्सर्जन कम गर्न सरकारले विद्युतीय बस, पैदल यात्रा र साइकल चलाउनेजस्ता आमयातायात प्रणाली विस्तार गर्नुपर्छ । साथै, स्वच्छ यातायात विकल्पलाई अझ किफायती र पहुँचयोग्य बनाउनुपर्छ । शून्य–उत्सर्जन सवारीसाधनका लागि विशेष निर्देशनले विभिन्न प्रकारका सवारीसाधनले फरक–फरक प्राविधिक र आर्थिक चुनौती सामना गर्छन् भन्ने कुरालाई स्विकार्छ । विभिन्न वर्गका सवारीसाधनका लागि विशिष्ट लक्ष्य तय गर्नाले त्यसले स्वच्छ गतिशीलतामा परिवर्तनलाई तीव्र बनाउनेछ । राजधानीलाई प्रदूषण स्रोतहरूको निगरानी र लेखापरीक्षण गर्ने एकीकृत डेटा प्रणाली चाहिन्छ । निर्माणस्थलमा सेन्सरबाट तथ्यांक एकत्रित गर्न एकल मार्गले जानकारीलाई एकैसाथ सम्बन्धित विभागमा पठाइएको सुनिश्चित गर्न सक्छ । राजधानीभर मानकीकृत लेखापरीक्षण प्रक्रियाले क्षेत्रभरि समान जवाफदेहिता र छिटो प्रतिक्रिया पनि सुनिश्चित गर्नेछ । प्राविधिक नवप्रवर्तनमार्फत हावामा धुलोका कण प्रवाह हुने गतिविधिलाई सम्बोधन गर्न पनि आवश्यक छ । प्रिफ्याब (खण्ड–खण्डमा निर्मित वातावरणमैत्री भवन)लाई प्रवर्द्धन गर्न र स्वच्छ निर्माण विधिलाई अझ किफायती र व्यापक बनाउनाले पदार्थमा हुने कणको प्रदूषण घटाउन सकिन्छ ।

वायु प्रदूषणको अर्को कारण नगरपालिकाको ठोस फोहोरलाई खुला रूपमा जलाउनु हो । पर्याप्त फोहोर प्रशोधन पूर्वाधारको अभाव एउटा ठुलो खाडल हो । त्यसैले, सहरहरूले विकेन्द्रीकृत फोहोर व्यवस्थापन र कम्पोस्ट प्रणालीको सञ्जाल निर्माण गर्न लगानी गर्नुपर्छ । वायु प्रदूषणलाई सम्बोधन गर्न व्यवहार परिवर्तन महत्वपूर्ण छ– चाहे त्यो फोहोर जलाउन निरुत्साहित गर्ने होस्, व्यक्तिगत सवारीसाधनको प्रयोग सीमित गर्ने होस् वा औद्योगिक स्थानमा उत्तम अभ्यास अपनाउने तरिका होस् । यो सरकारको मिसन लाइफ (वातावरणका लागि जीवनशैली)सँग मिल्दोजुल्दो छ ।

सरकारहरूले यथार्थपरक व्यवहारकेन्द्रित लक्ष्य तय गर्नुपर्छ र लक्षित कार्यको रोलक्रममार्फत तिनलाई पछ्याउनुपर्छ : सार्वजनिक अपिल, दिगो संलग्नता, स्पष्ट लक्ष्य, पूर्वाधार सक्षम पार्ने, निरन्तर अनुगमन गर्ने र सकारात्मक परिणामका लागि मान्यता । कम्पनीहरूले सञ्चालन र आपूर्ति शृंखलाभित्र उत्सर्जन स्रोतलाई सक्रिय रूपमा पहिचान गर्नुपर्छ, प्रदूषण घटाउने र न्यूनीकरण उपाय कार्यान्वयन गर्ने व्यावसायिक फाइदाको मूल्यांकन गर्नुपर्छ । विश्वसनीयता निर्माण गर्न र सुधार बढाउन नियमित अनुगमन र पारदर्शी रिपोर्टिङ महत्वपूर्ण छ । स्पष्ट तीनवर्षे योजना, मापनयोग्य लक्ष्य, बलियो कार्यान्वयन र नागरिक सहभागिताका साथ भारतले आफ्नो प्रदूषणको कथा पुन: लेख्न सक्छ । 

(मुलुकुटला एकीकृत यातायात, स्वच्छ वायु र हाइड्रोजनका कार्यकारी कार्यक्रम निर्देशक हुन् भने कुमारास्वामी क्लिन एयर एक्सनका कार्यक्रम निर्देशक हुन्) हिन्दुस्तान टाइम्सबाट