पुजारी हत्या प्रकरण : एकजनाको बयान सकियो, थुनछेक बहस स्थगित

बुधबार, २ पुष, २०८२
डिजिटल संस्करण

पुजारी हत्या प्रकरणका सात अभियुक्तमध्ये एकजनाको सप्तरी जिल्ला अदालतमा बयान सकिएको छ । बुधबार दिउँसो अदालतमा हाजिर भएका प्रतिवादी रामनारायण मण्डलको न्यायाधीश महेन्द्रबहादुर थापा क्षेत्रीको एकल इजलासले बयान लिएकाे हाे ।  

अदालतको सूचना अधिकारी उमेशकुमार अर्यालले बयान सकिएको र थुनछेक बहसको लागि समय नभएपछि आजको लागि स्थगित गरेको बताए । अब बिहीबार फेरि थुनछेक बहस हुनेछ । प्रतिवादी मण्डललाई जिल्ला प्रहरी कार्यालय सप्तरीको  हिरासतमा पठाएको उनले बताए । 

अदालतबाट जारी म्यादमा हाजिर हुन नआएको र प्रहरीले पक्राउ समेत नगरेकाले ‘पक्राउ परेपछि मुद्दाको बाँकी कारबाही गर्ने गरी’ जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले १४ फागुन ०७९ मा मण्डलसहित सात जनाविरुद्धको मुद्दा मुल्तबीमा राखेको थियो । तर, त्यसको साढे नौ महिनाअघि नै ३० वैशाख ०७९ मा स्थानीय तह निर्वाचनमा उनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

मण्डलसहित सातजनाविरुद्ध सप्तरी जिल्ला अदालतबाट १५ वैशाख ०७८ मा पक्राउ पुर्जी जारी भएको थियाे । पुजारी हत्या मुद्दामा मण्डल, उनका बुबा गंगाराम (बेल्हीचपेना गाविसका तत्कालीन अध्यक्ष) तथा अन्य आरोपीहरू रामनारायण मण्डल, रामदेव सदा मुसहर, मनिक शर्मा, बच्चा यादव (बौका) र भोलिछन सदा मुसहरविरुद्ध २२ असार ०७५ मा मुद्दा चलेको थियो । 

तत्कालीन बेल्हीचपेना गाविस–३ स्थित रामजानकी मन्दिरका पुजारी जन्त्रीदास बैरागीको अस्थिपञ्जर ३ साउन ०५५ मा फेला परेको थियो । हाल राजगढ गाउँपालिका अध्यक्ष रहेका मण्डलका बुबा गंगारामले मन्दिरको ११ बिघा जग्गाको धान मन्दिरलाई दिन नमानेको विवादले हत्या भएको अदालतमा दायर अभियोगपत्रमा उल्लेख छ । राजविराजमा रहेका गाविस अध्यक्षसँग बैठक गर्ने भन्दै पुजारीलाई बोलाएर कोशी नहरको उत्तर–दक्षिण जाने पुलनजिक हत्या गरेर फालेको आरोप छ । 

मन्दिरको बाली लुटपाट गरेको र ज्यान मार्ने धम्की दिएको भन्दै पुजारीले गंगारामविरुद्ध जिल्ला प्रशासन कार्यालय सप्तरीमा निवेदन दिएका थिए । तर, ‘मिलापत्र गराइदिन्छु, गंगाराम मण्डल राजविराजमै छ, गएर भेटघाट गरी प्रहरी चौकी पथलगाडामा बैठकमा जानुपर्छ’ भनेर बच्चा यादव (बौका)ले पुजारीलाई लिएर गएको देखिएको अभियोगपत्रमा उल्लेख छ । तर, पुजारी बेपत्ता भएकोे १० दिनपछि अस्थिपञ्जर फेला परेको थियो ।

सुझावित समाचार