
पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले योजनाबद्ध रूपमा सिंहदरबार जलाइएको टिप्पणी गरेका छन्। काठमाडौं महानगरका मेयर बालेन शाहतर्फ लक्षित गर्दै ओलीले घुसपैठिया तत्त्वले योजनाबद्ध रूपमा सिंहदरबार जलाएको आरोप लगाए।
मेयर बालेनले गत वर्ष फोहोर व्यवस्थापनको विषयमा संघ सरकारको सहयोग नपाउँदा सिंहदरबार जलाइदिने भन्दै आक्रोश पोखेका थिए। त्यसैलाई आधार मान्दै ओलीले मंगलबार भक्तपुरको गुन्डुस्थित निवासमा आयोजित कार्यक्रममा बालेनलक्षित टिप्पणी गरेका हुन्।
‘सिंहदरबार जलाइयो। कसले जलायो? देश र इतिहासलाई माया गर्ने मान्छेले सिंहदरबार जलायो होला र? पक्कै जलाएन,’ ओलीले भने, ‘अरू नै कुनै घुसपैठिया तत्त्वले गरे, जो पहिलेदेखि नै भन्दै थिए त सिंहदरबार जलाउँछु भनेर। यो एउटा योजनाबद्ध काम हो।’
ओलीले नयाँ पुस्ता देश र समाजप्रति जिम्मेवार हुनुपर्ने भए पनि सामाजिक सञ्जालको प्रभावमा हल्काफुल्का ढंगले चल्ने प्रवृत्ति बढेकाे बताए। ‘सामाजिक सञ्जालको प्रभावमा पर्ने, डिजिटल प्लेटफर्महरूमा सहभागी हुने र त्यसको सदुपयोग गरिरहेको छु कि छैन भनेर राम्ररी विचार नगरी हल्काफुल्का ढंगले चल्ने प्रवृत्तिहरू बढेका छन्,’ उनले भने, ‘यस प्रवृत्तिलाई हामीले अन्त्य गर्नुपर्दछ।’