Skip This
बागमती प्रदेश सभा भवनमा ३३ करोडको क्षति
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 23 September, 2025
Invalid date format १७:५८:oo
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमती प्रदेश सभा भवनमा ३३ करोडको क्षति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:५८:oo

जेन–जी आन्दोलनका क्रममा बागमती प्रदेश सभामा भएको तोडफोड र आगजनीबाट ३३ करोडबराबरको क्षति भएको छ। प्रदेश सभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले आन्दोलनका क्रममा प्रदेश सभापरिसरभित्र भएको तोडफोड र आगजनीका कारण करिब ३३ करोड क्षति भएको बताए। 

उनका अनुसार बागमती प्रदेश सरकारको भैतिक पूर्वाधार मन्त्रालय र विज्ञको टोलीले प्रदेश सभापरिसरमा रहेका भवनहरूमा पुगेको क्षति र तिनको अवस्थाका बारेमा भर्खरै मात्र परीक्षणको काम सकेका छन्।

‘बागमती प्रदेश सभापरिसरमा रहेका भवनहरूमा पुगेको क्षति र तिनको अवस्थाको बारेमा प्रदेश सरकारको भैतिक पूर्वाधार मन्त्रालय र विज्ञको टोलीले परीक्षणको काम सकेका छन्,’ उनले भने, ‘हामीले प्रारम्भिक रूपमा प्रदेश सभाभित्र भएको तोडफोड र आगजनीबाट ३३ करोडबराबरको क्षति पुगेको अनुमान गरेका छौँ।’

प्रदेश सचिव दर्जीले १२ करोड २९ लाखको लागतमा निर्माण गरिएको प्रदेश सभाको नवनिर्मित भवन पूर्ण रूपमा क्षति भएको बताए। यस्तै, प्रदेश सभा सचिवालय रहेको पुरानो भवन र दलका कार्यालयहरूमा पनि क्षति पुगेको उनको भनाइ छ। सचिव दर्जीका अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने कांग्रेस र माओवादीको कार्यालय रहेको तलामा तोडफोड मात्रै भएको छ भने एमाले, एकीकृत समाजवादी, राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीको संसदीय दलका कार्यालयहरू आगजनीबाट ध्वस्त भएका छन्।

‘प्रदेश सभाको नयाँ भवन पूर्ण रूपमा ध्वस्त भएको छ। पुरानो भवन पनि आगजनीका कारण जीर्ण बनेको छ। प्रदेश सरकारको प्राविधिक टोलीले परीक्षणपछि पुरानो भवनमा नपस्न र प्रयोग नगर्न भनेको छ,’ उनले भने। प्राविधिक टोलीले पुनः परीक्षण गरेपछि मात्रै प्रयोग गर्न मिल्ने वा नमिल्ने निर्क्यौल हुने उनको भनाइ छ।

उनका अनुसार प्रदेश सभा सचिवालय र दलका कार्यलयहरूका कुनै पनि कागजात र अभिलेख बाँकी छैनन्। सबै जलेर नष्ट भएका छन्। सचिव दर्जीले डिजिटलाइज गरिएकाभन्दा बाहेक कुनै पनि अभिलेख नरहेको जानकारी दिए। उनले प्रदेश सभामा गरिएको आगजनीबाट पाँचवटा भवन, ३ वटा चारपांग्रे गाडी, ६ वटा मोटरसाइकल, भवनका ढोका, झ्याल, बैठक कक्ष, अभिलेख कोठालगायतका महत्त्वपूर्ण संरचना जलेर ध्वस्त भएको बताए।

प्रदेश सभा भवन आगजनीबाट ध्वस्त भएपछि प्रदेश सभा बैठक सञ्चालन गर्ने स्थलको अभाव भएको छ। तत्कालका लागि पार्किङ प्रयोजनका लागि प्रयोग हुँदै आएको जस्ताको टहरोलाई अस्थायी बैठकस्थल बनाउने तयारी भइरहेको सचिव दर्जीले जानकारी दिए।