Skip This
लुटिएको क्यामेरा फिर्ता भएपछि लहानमा पुनः राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 23 September, 2025
Invalid date format १६:३६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लुटिएको क्यामेरा फिर्ता भएपछि लहानमा पुनः राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:३६:oo

जेन–जी आन्दोलनका क्रममा गत २४ भदौमा तोडफोड, आगजनीसँगै लुटपाट भएपछि सेवा ठप्प भएको इलाका प्रशासन कार्यालय लहानले केही राहदानीबाहेकका सेवाहरू क्रमशः सञ्चालन गरेको छ । 

आन्दोलनको क्रममा लुटिएको राष्ट्रिय परिचयपत्र शाखाको क्यामेरा फिर्ता भएपछि आइतबारदेखि परिचपत्रको सेवा पुनः थालेको हो । कार्यालय प्रमुख उपसचिव वेदनिधि खनालका अनुसार आन्दोलनकारीहरूले लुटेर लगेको क्यानन कम्पनीको क्यामेरा फिर्ता भएपछि परिचयपत्रसम्बन्धी सेवा पुनः सञ्चालनमा ल्याइएको हो ।

‘राष्ट्रिय परिचयपत्रका लागि करिब डेढ सयको संख्यामा दैनिक आउने सेवाग्राहीमध्ये आन्दोलनअघिकै क्षमतामा बढीमा ७० जनाको विवरण दर्ता गर्ने गरी सेवा नियमित गरिएको हो,’ उनले भने । उनका अनुसार आन्दोलनका क्रममा कार्यालयमा आगजनी हुन नदिए पनि तोडफोडका कारण करिब १५ लाख रुपैयाँबराबरको क्षति पुगेको छ ।

गत २४ भदौदेखि अवरुद्ध रहेको राष्ट्रिय परिचयपत्र र राहदानीबाहेक नाबालक परिचयपत्र, वंशज, वैवाहिक, प्रतिलिपि नागरिकता वितरण १ असोजदेखि थालेको शाखा अधिकृत सन्तोष रायले जानकारी दिए । ‘लुटपाट भएको राट्रिय परिचयपत्र शाखाको फोटो खिच्ने क्यामेरा युवा अभियन्ताहरूलाई परिचालन गरी फेला परेपछि शाखामा सेटअप गरेर सेवा थालिएको हो,’ उनले भने ।

आन्दोलनका क्रममा राहदानी सेवाको स्क्यानर मेसिन, प्रिन्टर, मनिटर, सिग्नेचर प्याड, क्यामेरा स्ट्यान्ड फुटाइएकाले वैकल्पिक व्यवस्था नहुँदासम्म राहदानी सेवा बन्द नै रहने उनले बताए । उनका अनुसार आन्दोलनको क्रममा लुटेर लगेको क्यामेरा लगत्तै फिर्ता ल्याइएको थियो । 

नयाँ उपकरण आएपछि जडान गरी दसैँ अगाडिदेखि राहदानी दर्ताको काम थालिने योजना रहेको कार्यालयले जनाएको छ । कार्यालयबाट प्रवाह हुने सबै सेवाहरू सञ्चालन गर्न मर्मत–सम्भारको कामसमेत भइरहेको उनले बताए ।

लहानस्थित इलाका प्रशासनले सिराहाको पूर्व–उत्तरी भेगमा पर्ने धनगढीमाई नगरपालिकाको १२, १३ र १४, लक्ष्मीपुरपतारी गाउँपालिकाको २ र ६, नवराजपुर गाउँपालिकाको १, सखुवानन्कारकट्टी र भगवानपुर गाउँपालिकाको १ देखि ५ नं. तथा लहान नगरपालिकाको १ देखि २४ नं. गरी ६ स्थानीय तहका ४० वटा वडा क्षेत्रका नागरिकलाई सेवा दिँदै आएको छ । 

उता, जिल्ला प्रशासन कार्यालय सिराहाबाट प्रवाह हुने अन्य सेवाहरू २९ भदौबाट नियमित गरेको भए पनि नयाँ नागरिकता, प्रतिलिपि, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरू १ असोजदेखि नै थालिसकेको सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए ।