
राजविराजदेखि १० किलोमिटर दक्षिणमा पर्ने छिन्नमस्ता गाउँपालिकास्थित ठुलोपोखरीको उत्तरी डिलमा रहेको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता मन्दिर प्रमुख ५१ शक्तिपीठमध्ये एक हो । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले चर्चित सो स्थानमा बिहानदेखि रातिसम्म भिड लागेको हुन्छ । नेपालीहरू मात्रै नभई भारतीयहरू पनि ठुलो संख्यामा त्यहाँ पूजा गर्न पुग्ने गर्छन् ।
बाटो दुरुस्त हुँदा राजविराजबाट चारपांग्रे सवारीसाधन २० मिनेटमा मन्दिर पुग्छ । तर, निर्माण कम्पनीले सडक अलपत्र परेपछि मन्दिर पुग्न अहिले एकदेखि डेढ घण्टासम्म समय लाग्ने गर्दछ ।
ठेक्का लागेको तीन वर्ष बितिसक्दा पनि सडकको काम सकिएको छैन। स्थानीय हरि यादवले भने ठेकेदार बेपत्ता भएपछि अहिले यो सडक जताततै खाल्डाखुल्डीले भरिएको बताए । ठाउँठाउँमा खाल्डो हुनुका साथै पानी जमेर पोखरी बनेपछि थप समस्या भएको यात्रुहरूको गुनासो छ। सडककै कारण सवारी यात्रु ओराल्दै र चढाउँदै लैजानुपरेको टेम्पो व्यवसायी सत्यनारायण चौधरी बताउँछन् । कुनै पनि वेला दुर्घटना हुन सक्ने भएका कारण जोखिम मोलेर सवारीसाधन चलाउनुपरेको उनको गुनासो छ। पहिला बस सञ्चालन हुने बाटोमा अहिले बससेवा पनि बन्द छ ।
डिभिजन कार्यालयदेखि प्रधानमन्त्रीसम्म ध्यानाकर्षण
छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले निर्माण कम्पनीको लापरबाहीका कारण सडक नबनेको र आवागमनमा समस्या भएको बताए। उनले आफूसहित गाउँपालिकाका जनप्रतिनिधिहरूले सडक डिभिजन कार्यालय र ठेकेदारदेखि विभागीय प्रमुख, प्रधानमन्त्रीसमेतलाई भेटेर सडक बनाउन ध्यानाकर्षण गराए पनि काम नभएको गुनासो गरे।
‘यो सडकले ऐतिहासिक धार्मिकस्थल छिन्नमस्ता शक्तिपीठ अवातजावतमा पर्यटकलाई सहज हुनेछ जसले यहाँ आन्तिरक तथा बाह्य पर्यटकको राम्रो संख्यामा वृद्धि हुन्छ,’ उनले भने, ‘यसले यहाँको स्थानीय आर्थिक गतिविधिमा समेत टेवा पुग्नेछ ।’ तर, दुर्भाग्य दसैँमा नेपाल र भारत दुवैतर्फबाट छिन्नमस्ता जोड्ने सडकमा भक्तजनको चाप बढ्ने गर्छ। सडक नबन्दा तीर्थालुहरू आउने क्रममा समेत प्रभाव परेको उनले बताए ।
साढे तीन वर्षमा ३० प्रतिशत मात्रै काम
सडक डिभिजन कार्यालय लहानले ०७९ असार २३ गते साह इन्जिनियरिङ प्रालिसँग २५ करोड ८८ लाख दुई हजार रुपैयाँमा दुई वर्षको म्याद राखेर ठेक्का सम्झौता गरेको थियो । अहिलेसम्म ६ करोड ८८ लाख ९२ हजार १९६ रुपैयाँ भुक्तानीसमेत दिइसकेको छ ।
राजविराज–छिन्नमस्ता–न्योर बोर्डर सम्झौताअनुसार उक्त निर्माण कम्पनीले ०८१ असार ३० गतेसम्म यो सडक निर्माण पूरा गरिसक्नुपर्ने थियो। तर, सो अवधिमा कन्स्ट्रक्सनले सडक निर्माण गर्न सकेन । पुनः एक वर्षको म्याद थपेर २०८२ असार १५ सम्म पुर्याउँदा पनि हालसम्म ३० प्रतिशत मात्रै काम भएको सडक डिभिजन कार्यालयको तथ्यांक छ । पुनः म्याद थपिने प्रक्रियामा रहेको डिभिजन कार्यालयका प्रमुख आशुतोष कर्णले बताए ।
सडक निर्माणमा ठेकेदार कम्पनीको काम सन्तोषजनक नभएपछि ठेक्का तोड्नका लागि स्पष्टीकरणसहितको सूचना निकालिसकेका थियो। त्यसपछि ठेकेदार कम्पनीले स्पष्टीकरण बुझाउँदै तत्काल सडक मर्मत गर्ने र छिट्टै नै बाँकी काम सुरु गर्ने प्रतिबद्धता जनाएको उनले बताए । ‘मर्मत भएको छ, छिट्टै नै काम सुरु हुन्छ,’ उनले बताए ।