
राष्ट्रपति रामचन्द्र पौडेलले युवाहरूलाई देशमै रोक्ने खालका शैक्षिक प्रणाली लागु गर्नुपर्ने बताएका छन् । मुलुकको समृद्धिको मुख्य आधार नै शिक्षा भएकाले दिनहुँ वैदेशिक रोजगारीमा गइरहेका युवालाई रोख्ने खालको शैक्षिक प्रणाली विकास गर्नु पर्ने उनले बताएका हुन् ।
बिहीबार संखुवासभाको मादी नगरपालिकास्थित मादी माध्यमिक विद्यालयको ७५औं वार्षिकोत्सव तथा हिरक महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेल यस्तो बताएका हुन् ।
मुलुकको विकास र समृद्धिका लागि विद्यमान शैक्षिक प्रणाली पाठ्यक्रम परिवर्तन गरी आधुनिक र समय अनुकुल पाठयक्रम बनाउनु पर्ने पौडेलले जोड दिए । ‘सीपमुलक, आधुनिक र व्यावसायिक शिक्षा दिनुपर्छ, तब मात्रै दिनहुँ विदेशिने युवाहरूलाई यहि रोक्न सकिन्छ । यही प्रविधियुक्त सीप दिई उद्यमशील बनाउनतर्फ सरकार लाग्नुपर्छ । सरकारले शिक्षालाई उच्च प्राथमिकतामा राखेर लगानी गर्नुपर्छ । युवाहरूलाई रोक्ने खालका शैक्षिक प्रणाली लागु गर्नुपर्छ, तब मात्रै मुलुक समृद्धिमा सपना साकार हुन्छ,’ पौडेलले भने ।
संखुवासभा कृषि, वनस्पति, अमूल्य जडिबुटी, जलस्रोत र पर्यटन क्षेत्रमा अथाह सम्भावना भएको जिल्ला भएकाले भूगोल सुहाउँदो कार्यक्रम र योजनाहरू लागु गर्नुपर्नेमा राष्ट्रपति पौडेलको भनाइ थियो । विभिन्न खालका खण्डका राजनैतिक परिवर्तनपछि आज मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेको उल्लेख गर्दै राजनैतिक परिवर्तनपछि मुलुक विस्तारै विकासतर्फ अघि बढेको राष्ट्रपति पौडेलले बताए ।
कार्यक्रममा राष्ट्रपति पौडेलले ०१५ सालका मादीमा जन्मिएका संखुवासभाका सांसद लिलानाथ दाहाल, हरिबैरागी दाहाल र गोपाल पहाडी मादीले जन्माएको सपुतहरू भएको भनि स्मरण गरे । राष्ट्रपति पौडेलले उत्तरी चीनसँगको सिमावर्र्ती किमाथांका नाका, नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत्त आयोजना, १०६३ मेगावाटको अपर अरुण र तल्लो अरुण लगायतको हेलिकोप्टरद्वारा अवलोकन गरी कार्यक्रमस्थल मादी पुगेका थिए । राष्ट्रपति पौडेलले विद्यालयको हिरक महोत्सव लेखिएको स्तम्भको अनावरण, विद्यालय परिसरमा पूर्वविद्यार्थीद्वारा निर्माण गरिएको सरस्वती मन्दिरको उद्घाटन, मादी नगरपालिकाभित्रबाट विद्यावारिधी (पिएचडी) उपाधि हासिल गरेका दुईजनालाई सम्मान गरेका छन् ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले मुलुकका ठूला दुई दल कांग्रेस र एमालेको गठबन्धन सरकारले नागरिकको समस्यालाई केन्द्रित गरेर काम गरिरहेको बताएका छन् । उनले सरकारको सामाथ्र्यले भ्याएसम्म सबैतिर आवश्यकताको आधारमा विकास गरिरहेको दाबी गरे ।