
यमनी अधिकारीले जुलाई १६ लाई तय गरिएको भारतीय नागरिक निमिषा प्रियाको मृत्युदण्डलाई पछि सारेका छन् । केरलाको पलक्कड जिल्लाकी स्थायी निवासी र पेसाले नर्स रहेकी निमिषा प्रियामाथि आफ्नो यमनी व्यापारिक साझेदारको हत्या गरेको आरोप छ । साझेदार तलाल अब्दो महदीको हत्याका लागि उनलाई मृत्युदण्डको सजाय दिइएको थियो ।
यमनमा विदेशी नागरिकले क्लिनिक खोल्नका लागि त्यहाँको नागरिकसँग अनिवार्य साझेदारी गर्नुपर्ने हुन्छ । निमिषाले काम गर्ने क्रममा महदीबाट आफूले यातना, आर्थिक शोषण र धम्की दिएको आरोप लगाएकी छिन् । साथै महदीले उनीसँग विवाह भएको भन्ने झुटो कागजात बनाएको पनि दाबी गरेकी छन् ।
निमिषा प्रियालाई यमनको राजधानी सानाको जेलमा सन् २०२० मा मृत्युदण्डको सजाय सुनाइएको थियो । सन् २०२३ मा दिइएको उनको अन्तिम अपिल अदालतले खारेज गरेको थियो । ‘मुद्दाको सुरुवातदेखि नै यस विषयमा सबै सम्भावित सहयोग प्रदान गर्दै आएको भारत सरकारले हालैका दिनमा निमिषा प्रियाको परिवारलाई अर्को पक्षसँग परिवारलाई सहमतिपूर्ण समाधानमा पुग्न सघाइरहेको छ,’ स्रोतलाई उल्लेख गर्दै भारतीय मिडियाले लेखेका छन् ।
स्रोतहरूका अनुसार भारतीय अधिकारीले ‘घटनाको संवेदनशीलताको बाबजुद’ सजायँ स्थगन गराउन सकेको बताए । यस क्रममा भारतीय अधिकारीले त्यहाँको जेल अधिकारी र अभियोजकको कार्यालयसँग नियमित सम्पर्कमा रहेको पनि स्रोतले बताए । जबकि, भारतले गृहयुद्धका क्रममा यमनको उत्तर–पश्चिम तथा सानासहित धेरैजसो भागमा नियन्त्रण कायम गरेको हुथी शासनलाई मान्यता दिँदैन ।
भारतका महान्यायाधिवक्ता आर बेंकटरमणिले निमिषा प्रियाको जीवनरक्षाका लागि भारत सरकारले हरसम्भव प्रयास गरिरहेको बताएका छन् । उता, केरलाका मुख्यमन्त्री पिनारायी विजयनले पनि निमिषा प्रियाको रिहाइ सुनिश्चित गर्ने केन्द्र सरकारद्वारा लिइएका प्रयासलाई समर्थन गरेका छन् । यस सम्बन्धमा उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्रसमेत लेखेका छन् ।