१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 08 July, 2025
Invalid date format १७:११:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेशकै ‘रेफरल’ अस्पताल सेतीमा ओपिडी बन्द हुँदा बिरामीलाई सास्ती

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:११:oo

सुदूरपश्चिम प्रदेशभरिको एकमात्र ‘रेफरल’ अस्पतालका रुपमा रहेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको बहिरंग (ओपिडी) सेवा बन्द भएपछि सर्वसाधारण सेवाग्राहीले सास्ती खेप्नु परेको छ । चिकित्सकको आन्दोलनका कारण अस्पतालको ओपिडी दुई दिनदेखि बन्द छ ।

सुदूरपश्चिमका नौवटै जिल्लाबाट बिरामीहरु उपचारका लागि सेतीमा आउने गर्छन् । पहाडी जिल्लासँगै उपचारका लागि यहाँ पुगेका बिरामी ओपिडी बन्द भएपछि बिचल्लीमा छन् । बिरामी भएर स्वास्थ्य जाँच गर्न र ‘फलोअप’ आएका बिरामी फर्कनु पर्ने बाध्यता छ ।

मुटु सम्बन्धी समस्याको उपचारका लागि सेतीमा आएकी डोटीको सिलगढीकी बाशुदेवी बिष्टले दुई दिनदेखि डाक्टर भेट्न नपाएको गुनासो गरिन् । ‘हिजो आएका थियौँ, चेकजाँच बन्द छ भनेपछि फर्कियौँ, आज पनि ओपिडी बन्द रहेछ’ सेती प्रादेशिक अस्पतालमा सोमबार भेटिएकी उनले गुनासो गरिन्, ‘खाली दुखमात्र पाइयो ।’ उनी मुटु सम्बन्धी जाँचका लागि आफ्ना श्रीमानसँग शुक्रबार पनि सेतीमा पुगेकी थिइन् । बिष्टका अनुसार डाक्टरले एमआरइलगायत केही जाँच गर्न भनेका थिए । शुक्रबारनै जाँच गरेर रिपोर्ट आए पनि त्यस दिन ओपिडी छिट्टै बन्द भएकाले देखाउन नपाएको उनले बताइन् । 

 कैलालीको हसुलियाबाट आएकी प्रतिमा कठरिया आफ्नो छोरालाई जाँच गराउन पाइनन् । छ वर्षीय छोरा रिहानको गिजा सुन्निले समस्या भएपछि एक घण्टा बसको यात्रा गरेर उनी सोमबार बिहान सेती प्रादेशिक अस्पताल पुगेकी थिइन् । ओपिडी बन्द रहेकाले जाँच गराउन नपाएको उनले गुनासो गरिन् ।  ‘यस्तो घामघाममा त्यति टाढाबाट आएँ, यहाँ त चेकजाँच बन्द रहेछ’ सेतीमै भेटिएकी कठरियाले भनिन्, ‘डाक्टरले दिएको औषधि सकियो तर सुधार भएन । आज डाक्टर भेटिनन्, अब त्यही औषधि खुवाइ राख्ने हो की अर्को चलाउने हो अलमल भयो ।’ गिजा सुनिएकाले पाँच दिनअघि रिहानलाई सेतीको ओपिडीमा चेकजाँच गरेर औषधि लगेको उनले बताइन् ।

बिरामीको निकै भीडभाड हुने सेतीको ओपिडी सोमबार प्राय सुनसान थियो । जाँचका लागि पुगेका बिरामी बन्द रहेको थाहा पाएपछि फर्किन बाध्य भए । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोरकुमार श्रेष्ठका अनुसार ओपिडीमा दैनिक एक हजारदेखि एक हजार दुई सय जना बिरामीले सेवा लिन्छन् ।

ओपिडी बन्द हुँदा टाढाटाढाबाट आएका बिरामी बिचल्लीमा परेका छन् । उपचारमा लापरबाही सम्बन्धी मुद्दामा उपभोक्ता अदालतले गरेको फैसलाको विरोधमा चिकित्सकहरु देशभरका अस्पतालमा ओपिडी सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । सेतीमा ओपिडीबाहेक अन्य सेवा भने सुचारु रहेको सूचना अधिकारी श्रेष्ठले बताए ।