
प्रहरीले भन्सार छली ल्याइएको ठूलो परिणाम सामग्रीसहित ट्रक नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएको सामग्री र सवारी साधन आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया बारामा बुझाएको छ ।
मंगलबार बिहान करिब १ः३० बजे इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट प्रहरी बरिस्ठ नायब निरीक्षक धनप्रसाद श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले जीतपुर सिमरा उपमहानगरपालिका–२१, अमलेखगन्जस्थित प्रहरी कार्यालयअगाडि रहेको चेकप्वाइन्टमा वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको ना८ख ७२४२ नम्बरको डिब्बा ट्रक रोकेर जाँच गरेको थियो। जाँचका क्रममा ट्रकमा रहेका सामानहरू बिल बिजक र भन्सार दस्तावेजभन्दा फरक पाइएपछि प्रहरीले गाडी नियन्त्रणमा लिएको हो। कन्टेनर ट्रकमा करिब एक करोड २५ लाख २४ हजार १० रुपैयाँ बराबरको अबैध सामग्री फेला परेको प्रहरीले जनाएको छ।
कन्टेनरमा कस्मेटिक सामान, नरिवल (कोकोनट), बदाम (आल्मन्ड), कपडा, सर्जिकल सामग्री, मोबाइलका पार्टपुर्जा, इलेक्ट्रोनिक सामान र औषधिजन्य सामाग्री रहेका थिए। यी सबै सामग्री बिना भन्सार तथा अनुमतिपत्र भित्र्याइएको भन्दै प्रहरीले राजश्व अनुसन्धान कार्यालयलाई बुझाएको हो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार पछिल्लो समय साना नाका तथा मुख्य राजमार्गहरू प्रयोग गरेर भन्सार छली गर्ने गिरोह सक्रिय देखिएको छ।
उनले भने, ‘हामीले नियमित गस्ती र चेकिङमार्फत यस्तो अवैध कारोबारमा संलग्नहरूलाई नियन्त्रणमा लिने कार्यलाई प्राथमिकतामा राखेका छौँ। यो कारबाही त्यसैको एउटा परिणाम हो। सामानको मूल्यांकन गर्दा एक करोड २५ लाख रुपैयाँ बराबरको देखिएको छ, थप अनुसन्धान राजश्व अनुसन्धान कार्यालयबाट अघि बड्नेछ।’
प्रहरीका अनुसार नियन्त्रणमा लिइएको ट्रक र सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गरी राजश्व अनुसन्धान कार्यालय, पथलैया बुझाइएको छ।