
नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीपहिरोमा फसेका ५७ जनाको उद्धार गरिएको छ । तीमध्ये हेलिकोप्टरबाट ३० जना र टिमुरे इलाकासहितबाट २७ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।
बाढीपहिरोमा परी १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा नेपाल प्रहरीका लालबहादुर श्रेष्ठ, मुन्ना ठाकुर र लोकेन्द्र बोहरा रहेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार सम्पर्कविहीन हुनेहरूमा बर्दियाका जिपन चौधरी, सन्तोष दहित, बुद्धिराम थारू, लक्ष्मीनारायण थारू र सुरेश थारू तथा बागलुङका नरेश विक रहेका छन् ।
यसैगरी सिन्धुपाल्चोकका फुर्वा लामा र ठेगाना नखुलेका गोविन्द मोक्तान र लोकमान तामाङ रहेका छन् । यस्तै, ६ चिनियाँ नागरिकसमेत बाढी पहिरोमा परी सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन व्यक्तिको खोजीका लागि नेपाली सेनाको धादिङस्थित ६ नम्बर बाहिनीबाट गल्छी हुँदै विभिन्न १७ स्थानमा २९४ जना तथा रसुवास्थित श्रीनाथ गणबाट थप फौज खटिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । त्रिशूली नदीको विभिन्न चार स्थानमा मानव अंग फेला परेको बताइएको छ । रासस