
पर्साको पोखरिया नगरपालिकामा चालू आर्थिक वर्ष ०८१/८२ मा करार र ज्यालादारीमा नियुक्त भएका कर्मचारीहरूको नियुक्ति बदर गरिएको छ । आगामी आर्थिक वर्ष ०८२/८३ सुरु भएकै दिन देखि हटाउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत रामविनयकुमार सिंहले जानकारी दिए ।
उनका अनुसार सोमबारको कार्यापालिका बैठकको निर्णयअनुसार पालिकामा करार र ज्यालादारीमा नियुक्त भएका सबै किसिमको कर्मचारीहरूलाई साउन १ गतेदेखि कामकाजमा नलगाउने भनिएको छ ।
नगरपालिकामा चालू आर्थिक वर्षमा नगर प्रहरी, स्वास्थ्य संस्था ,विद्यालयका स्वयंसेवक शिक्षक, कार्यालय सहयोगी र अन्य कर्मचारीको नियुक्ति बदर भएको प्रशासकीय अधिकृत सिंहले बताए ।
साथै नियुक्ति बदर भएको खण्डमा कुनै कर्मचारीलाई कामकाज खटाएमा वा हाजिर गराएमा सम्बन्धित शाखा वा संस्था प्रमुख जिम्मेवार हुने उनले बताए । पालिकाका कर्मचारीहरूका अनुसार चालू आर्थिक वर्षमा मात्र करिब साढे तीन सयभन्दा बढी कर्मचारी नियुक्त भएका थिए ।