
विषादीमुक्त बाली उत्पादन गर्ने उद्देश्यसहित सल्यानका दुई स्थानमा जैविक मल प्रशोधन केन्द्र स्थापना गरिएको छ । प्राकृतिक स्रोतहरूको समुचित उपयोग गर्दै वातावरणमैत्री कृषि प्रणालीको प्रवद्र्धन गर्न भन्दै जिल्लाको वनगाड कुपिण्डे नगरपालिका र कुमाख गाउँपालिकामा जैविक मल प्रशोधन केन्द्र स्थापना गरिएको हो ।
बनगाड कुपिण्डे नगरपालिका ६ शान्ति सामुदायिक वन समुह र कुमाख गाउँपालिका २ मा रहेको जयमालिका सामुदायिक वन समुहमा जैविक मल प्रशोधन केन्द्र स्थापना गरिएको छ ।
वन क्षेत्रबाट सङ्कलित पातपतिङ्गर, स्याउला, झारपात जस्ता कुहिने जैविक वस्तुलाई मेसिनको प्रयोगमार्फत प्रशोधन गरेर गोबर बिना नै जैविक मल उत्पादन गर्नका लागि सम्भवतः जिल्लामै पहिलोपटक यो प्रयास गरिएको हो ।
कुमाखको जयमालिका सामुदायिक वन समूहमा आयोजनाको १७ लाख ५० हजार रुपियाँ र जनश्रमदान रकम ६२ हजार पाँचसय गरेर १८ लाख १२ हजार पाँच सय रुपियाँको लागतमा जैविक मल प्रशोधन केन्द्र स्थापना गरिएको समितिका अध्यक्ष खिमबहादुर बुढाले जानकारी दिए। उनले भने‘मल उत्पादनका लागि हालसम्म १५ क्विन्टल स्याउला सङ्कलन भइसकेको छ, तर विद्युत् भोल्टेज कम भएकाले मेसिन सञ्चालन हुन सकेको छैन । दुईवटा मोटरसमेत जलिसकेका छन् र विद्युत प्राधिकरणसँग समस्या समाधानका लागि आग्रह गरेका छौँ । ’
यसैगरी बनगाड कुपिण्डे नगरपालिकाको वडा नम्बर ६ स्थित शान्ति सामुदायिक वन समूहमा पनि १९ लाख बढीको लागतमा प्रशोधन केन्द्र स्थापना गरिएको छ । समूहका अध्यक्ष धनबहादुर सिंहले ११ क्विन्टल पातपतिङ्गर सङ्कलन भइसकेको तर विद्युत अभावकै कारण मल उत्पादन गर्न नसकिएको बताए ।
दुवै स्थानमा प्रशोधन केन्द्रका लागि टहरा निर्माण गरिएको छ । जैविक मल प्रशोधनका लागि आवश्यक यन्त्र उपकरणहरू जडान गरिएका छन् । ती उपकरणहरूमा स्याउला टुक्¥याउने मेसिन, मल छानेर ग्रेडिंग गर्ने मेसिन, प्याकेजिङ मेसिन, नाम प्रिन्ट गर्ने मेसिन, मल कुवाउने ड्रम आदि छन् । मल प्रशोधनको क्रममा सूक्ष्मजीवयुक्त झोल प्रयोग गरिने र यसले जैविक पदार्थलाई छिटो कुहाएर मलमा रूपान्तरण गर्ने वन समूहहरुले जनाएका छन् ।
पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन कार्यक्रम अन्तर्गत सञ्चालित “समूहको आयआर्जन वृद्धि कार्यक्रम” मार्फत प्रशोधन केन्द्र स्थापना गरिएको हो । कार्यक्रमले वन संरक्षण, वातावरण सुधार र किसानको आयआर्जनमा योगदान र्पुयाउने अपेक्षा राखिएको छ । वन क्षेत्रमा हरेक वर्ष लाग्ने डढेलोको समस्या न्यूनीकरण गर्न पनि यो कार्यक्रमले टेवा पु¥याउने पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजना कार्यक्रमका जिल्ला सयोजक डाक्टर दिगम्बर सिह दाहालले बताए ।
डढेलो लाग्नु अगाडि नै पातपतिंगर संकलन गरेर मल उत्पादनमा प्रयोग गर्ने रणनीति बनाइएको छ । यसले आगामी वर्षमा वन डढेलोबाट जोगाउनुका साथै उत्पादनशील मलमार्फत कृषिमा सकारात्मक असर पार्ने दाहालको अपेक्षा छ । कृषिमा रासायनिक मलको अत्यधिक प्रयोगले माटोको उर्वराशक्ति घट्दै गएको वर्तमान अवस्थामा जैविक मल उत्पादनले माटोलाई पुनः जीवन्त बनाउने र उत्पादन प्रणालीलाई दिगो बनाउने विश्वास गरिएको यहाँले बताए । उनले भने ‘स्थानीय स्रोतसाधनको उपयोग गर्दै किसान समूहलाई गुणस्तरीय मल उपलब्ध गराउने र विषादीमुक्त तथा सुरक्षित बाली उत्पादनमा सहयोग गर्ने यो कार्यक्रमको उद्देश्य हो’ ।