१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नौरियल रुबिनी
Invalid date format १o:२२:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

पतनतर्फ अघि बढिरहेको खामेनी शासन

Read Time : > 2 मिनेट
नौरियल रुबिनी
नयाँ पत्रिका
Invalid date format १o:२२:oo

गत वर्ष नोभेम्बरमै मैले इजरायलले इरानको आणविक र अन्य सैन्य संयन्त्रमाथि आक्रमण गर्ने सम्भावना रहेको भविष्यवाणी गरेको थिएँ । अझ तेहरानका ‘शीर्ष सैन्य र राजनीतिक नेताहरू’ मारिनसक्ने पनि संकेत गरेको थिएँ । साथै इजरायलको इरानमाथिको कारबाहीका क्रममा ‘अमेरिकामा जुन पार्टीको सरकार भए पनि त्यसले अनिवार्य रूपमा इजरायललाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा समर्थन दिने’ पनि बताएको थिएँ । मेरो भविष्यवाणी ६ महिनापछि वास्तविकतामा बदलियो । 

गाजा युद्धप्रति इजरायलभित्र गहिरो विभाजन छ । तर, त्यस्तो मतभिन्तता इरानको हकमा भने देखिँदैन । इजरायली राजनीतिकको लगभग सबै समूह र दल इरान आणविक हतियार विकासको एकदम नजिक पुगेको भन्ने प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको दाबीमा सहमत देखिन्थे । आणविक इरान इजरायलका लागि अस्तित्वगत खतरा भएकोमा पनि त्यहाँ आमसहमति छ । यस्तोमा इजरायलले इरानमाथि आक्रमणका लागि उपयुक्त समय मात्र पर्खिरहेको थियो । अक्टोबर ७, २०२३ मा हमासले इजरायलमाथि आक्रमण गरेयता इरानले लेबनानका हिज्बुल्लाह, यमनका हुथीहरू र सिरिया तथा इराकका सिया मिलिसियालाई इजरायलविरुद्ध उक्सायो । इजरायलले यी सबैजसो समूहलाई नष्ट वा कमजोर बनाएपछि इरानसामु अब आणविक हतियार हासिल गर्नु एक मात्र विकल्प बाँकी रह्यो । जुन तथ्य इजरायल र पश्चिमाहरूका लागि अस्वीकार्य थियो । त्यसैले, अन्तत: इजरायलले इरानमाथि आक्रमण गर्‍यो । तथापि, इरानका केही आणविक संयन्त्र जमिनबाट धेरै मुनि बनाइएकाले ती इजरायली हतियारले मात्र नष्ट भएनन् । परिणामस्वरूप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेपविरोधी नीतिका बाबजुद अमेरिकाले इरानी भूमिगत आणविक संयन्त्रमाथि आक्रमण गर्‍यो ।

इजरायली आक्रमणको जवाफमा इरानले इजरायलमाथि मिसाइलमार्फत प्रत्याक्रमण गर्‍यो । इरानी मिसाइलले घना इजरायली सहरी क्षेत्रमा क्षति पुर्‍याए पनि ती उलेख्य प्रभावकारी देखिएनन् । वास्तवमा इरानको वर्तमान धार्मिक शासन यति कमजोर बनिसकेको छ कि यो आफ्नो रक्षा गर्न पनि असमर्थ देखिँदै गएको छ । निश्चित रूपमा इराक र यमनका सिया मिलिसियाहरूमाथि उसको अझै प्रभाव भए पनि तिनको क्षति पुर्‍याउन सक्ने क्षमता सीमित छ । वर्तमान इरानी शासक हर्मुजको जलडमरुलाई रोक्न, फारसी खाडीमा खानी उत्खनन गर्न र आफ्ना अरब छिमेकीको ऊर्जा उत्पादन संयन्त्र तथा पाइपलाइनमा आक्रमण गर्न सक्षम देखिँदैनन् । 

इरानको इस्लामिक शासन अहिले आफ्नो अस्तित्वरक्षामा केन्द्रित हुने स्थितिमा पुगेको छ । अहिलेको अवस्था हेर्दा केही महिनाभित्रै यसको पतन हुने सम्भावना छ । निश्चित रूपमा इजरायल–अमेरिकाको आक्रमणपछि खामेनीका कट्टर विरोधी विपक्षी समूहसमेत राज्य र देशप्रति एकताबद्ध भएका छन् । तर, यो स्थिति लामो समय टिक्नेछैन । समय बित्दै जाँदा देशको आर्थिक र वित्तीय अवस्था यति भयावह बन्ने सम्भावना छ कि त्यो अवस्था ल्याउने शासनविरुद्ध बहुमत इरानी उठ्नेछन् र त्यसको स्थानमा नयाँ विकल्प ल्याउनेछन् । 

सन् १९९० मा इरानको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (जिडिपी) लगभग इजरायलकै बराबर थियो । आज २५ वर्षपछि इजरायलको प्रतिव्यक्ति जिडिपी इरानको भन्दा झन्डै १५ गुणा बढी छ । इरानसँग साउदी अरेबियाकै हाराहारी वा अझ बढी पेट्रोल भण्डारण छ । तर, विगत पाँच दशकको अवधिमा पश्चिमविरुद्धको व्यर्थ युद्धका कारण उसले पेट्रोलियम पदार्थ बेचेर पाउने सयौँ अर्ब डलरको सम्भावित राजस्व गुमाउन पुग्यो । ।

आज, इरानीले भोगिरहेको आकाश छुने महँगी, आयको ह्रास, आमगरिबी र भोकमरी अमेरिकी र पश्चिमी प्रतिबन्धका कारण निम्तिएको नभएर इस्लामिक शासकको अर्थहीन नीतिको कारण आएको हो । खाडीको सबैभन्दा धनी राष्ट्र हुन सक्ने देश अहिले शासनमा छाएको भ्रष्टाचार, अक्षमता र रणनीतिक लापरबाहीको कारणले गर्दा टाट पल्टिने अवस्थामा पुगेको छ । यसरी इरानको इस्लामिक गणतन्त्र आफ्नै जनताका लागि अभिशाप बनेको छ । त्यसबाहेक सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरानले दशकौँदेखि मध्यपूर्वका आतंकवादी समूहलाई विभिन्न प्रकारको सहयोग गर्दै आएको छ । ऊ यस भेगका यमन, लेबनान, सिरिया, इराकजस्ता राज्यको विफलता वा अर्ध–विफलताको प्रमुख कारक हो । 

मध्यपूर्वमा स्थायित्वका लागि र यस भेगका असफल राज्यको पुनरुत्थानका लागि पनि इरानमा शासन परिवर्तन आवश्यक छ । यसका लागि मुख्य शक्ति बन्नेछन्, इरानी जनता । अर्को वर्षसम्म इरानी जनता ठुलो शक्तिका साथ खामेनी शासनविरुद्ध उठ्ने सम्भावना छ । इरानीले विगत केही दशकमै कम्तीमा आधा दर्जनपटक यस शासनविरुद्ध विद्रोह गरिसके । र, अवसर पाएमा तिनले सधैँ धार्मिक कट्टरपन्थीको सट्टा नरम मझधारका नेता रोज्ने गरेका छन् ।

आणविक शक्ति सम्पन्न इरान, इजरायलका लागि मात्र नभई समग्र मध्यपूर्वका सुन्नी शासन, साथै नजिकैको युरोप र अन्तत: अमेरिकाका लागि खतरा हुने थियो । त्यसैले त जर्मन चान्सलर फ्रेडरिक मर्जको एक भनाइमा अन्य पश्चिमी नेताले सोचेको तर सार्वजनिक गर्न नसकेको कुरा झल्किन्छ, जहाँ उनले भनेका थिए, ‘इजरायलले हामी सबैको तर्फबाट यो बडार्नैपर्ने फोहोर बढाइरहेको ।’ इरानका सहयोगी चीन र रुसले समेत यसपटक इजरायली आक्रमणका क्रममा संयम देखाए । इरानी सहयोग पाएका कट्टरपन्थी शक्तिले दशकौँदेखि मध्यपूर्वलाई अस्थिर बनाएका छन् । जसबाट उब्जिएको आतंकवाद, राज्यको असफलता र सामूहिक बसाइँसराइको प्रभाव युरोप र पश्चिममा फैलाउने गरेको छ । 

इरानको धार्मिक शासन अन्त्य भयो भने इजरायल र साउदी अरबबिचको कूटनीतिक सम्बन्ध सामान्यीकरणसँगै मध्यपूर्वमा स्थिरता बढ्ने आशा गर्न सकिन्छ । यो क्षेत्रको पुनर्निर्माणले गति लिनेछ । त्यसपछि इजरायलमा प्यालेस्टिनीसँग शान्तिका लागि खुला नयाँ सरकार आउने बाटो खुल्ने र अन्तत: दुई–राज्य समाधान सम्भव हुनेछ । तर, त्यसका लागि इरानमा अन्तर्राष्ट्रिय समुदायमाथि आक्रमण गर्नेभन्दा विश्व समुदायमा समाहित हुन उत्सुक शासन आवश्यक पर्नेछ । 

– प्रोजेक्ट सिन्डिकेटबाट