
मधेश प्रिमियर लिगअन्तर्गत आइतबार भएको खेलमा जनकपुर सनराइज र बलान बिहुल विजयी भएका छन् । पहिलो खेलमा जनकपुरले कोशी दुहबी क्यापिटललाई १९८ रनको फराकिलो अन्तरले हरायो । अर्को खेलमा बलानले काठमाडौं रोयल्समाथि ६ विकेटको जित निकाल्यो । जनकपुरले २० ओभरमा पाँच विकेट गुमाएर २३५ रनको योेगफल खडा गरेको थियो । विशाल सुस्लिङले ८० रनको योगदान दिए ।
मयन यादवले ६६ र विशाल पटेलले ४७ रन बनाए । बलिङमा कोशीका साजनकुमार दासले तीन विकेट लिए । कोशीले ७.४ ओभरमा सबै विकेट गुमाएर ३७ रन मात्र बनायो । कोशीका नवीन र मोहम्मद सोहिलले समान १५ रन बनाए । जनकपुरका विपिन खत्रीले चार विकेट लिए । अर्को खेलमा काठमाडौंले पहिलो ब्याटिङ गरी १५.४ ओभरमा सबै विकेट गुमाएर ६५ रन खडा गर्यो ।
काठमाडौंका मिलन बोहराले ११ र रूपेश सिंहले १० रन बनाए । बलानका भुवन कार्की र अरनिकोप्रसाद यादवले समान चार विकेट हात पारे । बलानले ७.३ ओभरमा चार विकेट गुमाएर लक्ष्य भेट्टायो । जसमा इमरान शेखले अविजित ३२ रनको योगदान दिए ।