मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २६ मंगलबार
  • Tuesday, 08 April, 2025
नवीन अर्याल काठमाडाैं
२o८१ चैत २६ मंगलबार o८:५७:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

१८ घण्टा खुल्यो त्रिभुवन विमानस्थल, थपिए ११ अन्तर्राष्ट्रिय उडान

२७ वैशाखदेखि भारतको स्पाइस जेटले दिल्ली–काठमाडौं दैनिक उडान गर्ने 

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत २६ मंगलबार o८:५७:oo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)को उडान आवर बढेसँगै ११ अन्तर्राष्ट्रिय उडान थपिएका छन् । १ अप्रिलदेखि लागू भएको समर सिजनमा दैनिक ५५ अन्तर्राष्ट्रिय उडान (अराइभल र डिपार्चर गरी ११०) भइरहेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।

यसअघि त्रिभुवन विमानस्थलमा दैनिक ४४ फ्लाइट (अराइभल र डिपार्चर गरी ८८) हुँदै आइरहेका थिए । धावनमार्गबाट ७५ मिटर क्षेत्रभित्रको जोखिमपूर्ण निर्माण सम्पन्न भएपछि १९ चैतदेखि विमानस्थल दैनिक १८ घण्टा (बिहान ६ बजेदेखि राति १२ बजेसम्म) खुला गरिएको छ । त्यसअघि १६ घण्टा उडान सेवा सञ्चालनमा थियो । विमानस्थल सञ्चालन अवधि बढेसँगै उडानहरू पनि बढेका हुन् ।

त्रिभुवन विमानस्थलको सञ्चालन अवधि बढेपछि वायुसेवा कम्पनीले भैरहवाको अन्तर्राष्ट्रिय उडान स्थगित गरेका छन् । विन्टर सिजनदेखि जजिरा, फ्लाई दुबई, थाई एयर एसियाले भैरहवामा अन्तर्राष्ट्रिय उडान गर्न थालेका थिए । समर सिजनमा कुनै पनि वायुसेवा कम्पनीले भैरहवामा अन्तर्राष्ट्रिय उडानको अनुमति लिएका छैनन् ।  

विन्टर सिजनमा भैरहवामा अन्तर्राष्ट्रिय उडान ठप्प हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्स र सिचुवान एयरलाइन्सले कमर्सियल उडान सुरु गरेका छन् । विमानस्थल निर्माण भएको करिब २७ महिनापछि पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानहरू फुल भइसकेको महाप्रबन्धक निरौलाले बताए । ‘अहिले अन्तर्राष्ट्रियतर्फ अराइभल र डिपार्चर गरी दैनिक एक सय १० फ्लाइट हुन थालेका छन्,’ उनले भने, ‘अब नयाँ फ्लाइट थप्न स्लट दिन सक्ने स्थिति छैन, विमानस्थल पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ ।’

२३ कात्तिक ०८१ अघि त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा (बिहान ६ बजेदेखि राति २ बजेसम्म) सञ्चालन हुँदै आएको थियो । तर, विमानस्थल स्तरोन्नतिका कारण अहिले १८ घण्टा मात्र सञ्चालन भइरहेको छ । त्यहाँ ट्याक्सी वे, अन्तर्राष्ट्रिय एप्रोन, आन्तरिक एप्रोन, आन्तरिक वायुसेवाका लागि ह्यांगरलगायत निर्माणको काम भइरहेको छ । 

स्पाइस जेटले उडान थाल्ने
भारतको निजी क्षेत्रबाट सञ्चालित बजेट एयरलाइन्स स्पाइस जेटले पाँच वर्षपछि काठमाडौंमा नियमित उडान थाल्ने भएको छ । स्पाइस जेटले २७ वैशाखदेखि दिल्ली–काठमाडौं दैनिक एउटा उडान गर्ने तालिका सार्वजनिक गरेको छ । स्पाइस जेटले हिमालयन ग्लोबल ट्राभल सर्भिसेज प्रालि जनरल सेल्स एजेन्ट (जिएसए) नियुक्त भएको छ ।

 

छुटाउनुभयो की ?