मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २६ मंगलबार
  • Tuesday, 08 April, 2025
२o८१ चैत २६ मंगलबार o८:४८:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

बिपी राजमार्ग पुनर्निर्माणमा जापानले आर्थिक र प्राविधिक सहयोग गर्ने

तत्काल फिल्डमा प्राविधिक खटाउने योजनामा जाइका

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २६ मंगलबार o८:४८:oo

१०–१२ असोजको बाढीले क्षतिग्रस्त बिपी राजमार्ग खण्डको पुनर्निर्माणमा जापानले आर्थिक तथा प्राविधिक सहयोग गर्ने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले क्षतिग्रस्त सडकको पुनर्निर्माणमा आर्थिक तथा प्राविधिक सहयोग गर्ने भन्दै अर्थ मन्त्रालयलाई पत्रमार्फत जानकारी गराएको हो । सो पत्र अर्थबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आउन बाँकी रहेको मन्त्रालयका एक अधिकारीले बताए । उनका अनुसार भौतिक मन्त्रालयमा उक्त पत्र पुगेपछि यसको कार्यान्वयन प्रक्रिया अघि बढ्नेछ । 

पूर्व र मधेशलाई संघीय राजधानी काठमाडौंसँग छोटो दूरीमा जोड्ने एक सय ६० किलोमिटर लामो बिपी राजमार्ग जापानको २६ अर्ब यान आर्थिक र प्राविधिक सहयोगमा निर्माण गरिएको थियो । ०५३/५४ देखि सुरु भएर यसको निर्माण ०७२ सालमा सम्पन्न भएको थियो । तर, सम्पन्न भएको नौ वर्षमै उक्त सडक बाढीले प्रभावित बनाएको थियो । प्रभावित भएको खण्डको पुनर्निर्माणमा पनि जापानले सहयोग गर्ने भएको हो । 

जापानकै सहयोगमा बनेका कारण मन्त्रालयले उक्त सडकको पुनर्निर्माणमा पनि सहयोगका लागि जापानसँग आग्रह गरेको थियो । बाढीले सडक क्षतिग्रस्त भएलगत्तै जाइकाले त्यसको अवलोकन गरेको थियो । त्यसको पुनर्निर्माणबारे पनि जाइकाले अध्ययन गरेको थियो । त्यसपछि जाइका पुनर्निर्माणमा सहयोग गर्ने निर्णयमा पुगेको हो । अर्थ मन्त्रालयबाट जाइकाको पत्र प्राप्त भएपछि पुनर्निर्माणको मोडेल र सहयोग रकमबारे जानकारी प्राप्त हुने स्रोतको भनाइ छ । भौतिक पूर्वाधार मन्त्रालयले जापानलाई चौथो प्याकेजको पुनर्निर्माण गर्न दिने योजना बनाएको छ । 

१०–१२ असोजमा भएको अविरल झरीका कारण रोशी नदीमा आएको बाढीले बिपी राजमार्गको काभ्रेपलाञ्चोकको रोशीदेखि सिन्धुलीको नेपालथोकसम्मका विभिन्न ठाउँमा गरी १३ किलोमिटर सडकखण्ड क्षतिग्रस्त बनाएको थियो । त्यसमा ८.५ किमि सडकको नामोनिसान नै छैन । प्रभावितसहित गरेर यसमा कुल २८ किमि सडक पुनर्निर्माण गर्नुपर्नेछ । 

सडक विभागले त्यसको पुनर्निर्माणलाई छिट्टै सक्ने गरी चार प्याकेजमा विभाजन गरेको छ । त्यसमा काभे्रपलाञ्चोक जिल्लामा पर्ने खण्डलाई तीन र सिन्धुली जिल्लामा पर्ने खण्डलाई एउटा प्याकेजमा राखिएको छ । तीन प्याकेजको पुनर्निर्माणका लागि ठेक्का आह्वान भइसकेको छ । पहिलो प्याकेजमा सिन्धुलीको नेपालथोकदखि बार्खेखोलासम्म, दोस्रो प्याकेजमा काभ्रपलाञ्चोकको डल्लाबेँसीदेखि चार सय बेँसीसम्म र तेस्रो प्याकेजमा चार सय बेँसीदेखि भकुन्डेबेँसीसम्मको खण्डलाई राखेर टेन्डर आह्वान भइसकेको छ ।

चौथो प्याकेजमा भने सिन्धुली–काभ्रेपलाञ्चोक सीमा क्षेत्र बार्खेखोलादेखि काभ्रेपलाञ्चोकको डल्लाबेँसीसम्मको खण्ड छ । जापानलाई सोही खण्डको पुनर्निर्माण गर्न दिने विभागको तयारी छ । यसको लम्बाइ झन्डै ६ किमि छ । 

‘जाइकाले आर्थिक तथा प्राविधिक सहयोग गर्ने भनेर अर्थ मन्त्रालयमा पत्र पठाइसकेको छ । अर्थबाट भौतिक पूर्वाधार मन्त्रालय हुँदै विभागमा पत्र आउन बाँकी छ,’ विभागका एक अधिकारीले भने, ‘जाइकाले काम गर्ने ठाउँ देखाउनुस्, हाम्रा प्राविधिक परिचालन गरिहाल्छौँ पनि भनिसकेको छ । अब अर्थ मन्त्रालयबाट पत्र आएपछि जाइकालाई चौथो प्याकेजको पुनर्निर्माण गर्न भन्नेछौँ । कसरी निर्माण गर्ने ? कति रकम सहयोग हुन्छ भन्ने विषयमा जानकारी आइसकेको छैन । अर्थ मन्त्रालयबाट पत्र प्राप्त भएपछि यस विषयमा स्पष्ट होला ।’ जाइकाबाट धेरै बजेट आउने भएमा अन्य खण्डमा रकम परिचालन गर्न सकिने स्रोतको भनाइ छ । जाइका पुनर्निर्माणसम्बन्धी काम गर्न फिल्डमा प्राविधिक खटाउने योजनामा छ । आवश्यक प्रक्रिया पूरा गरेर पुनर्निर्माण गर्ने ठाउँ देखाउन जाइकाले सडक विभागलाई ताकेता गरेको छ । विभाग पनि अर्थ मन्त्रालयबाट पत्र प्राप्त भएपछि थप प्रक्रिया अघि बढाउने तयारीमा छ  । 

बिपी राजमार्गको पुनर्निर्माण गर्न ६ फागुनमा अर्थ मन्त्रालयले साढे आठ अर्ब रुपैयाँको स्रोत सहमति दिइसकेको छ । त्यसपछि विभागले तीन प्याकेजको ठेक्का निकालेको थियो । चौथो प्याकेजका लागि भने जाइकाको निर्णयको पर्खाइमा थियो । अब जाइकाको पत्र प्राप्त भएपछि चौथो प्याकेजको पुनर्निर्माण प्रक्रिया पनि अघि बढ्ने विभागको भनाइ छ । 

यो सडक रणनीतिक रूपमा पनि निकै महŒवपूर्ण छ । यसको पुनर्निर्माणमा ढिलाइ भएमा यात्रुले दुःख पाउने निश्चित छ । सडक बाढीले क्षतिग्रस्त हुँदा अहिले यात्रुले कष्टकर यात्रा गर्दै आइरहेका छन् । क्षतिग्रस्त सडकको पुनर्निर्माण छिट्टै सक्नुपर्ने दबाबबिच विभागले आफ्नै ढंगले पुनर्निर्माण अघि बढाएको थियो । विभागले अघि बढाएको तीन प्याकेजको निर्माण दुई वर्षमा सक्ने भनिएको छ । चौथो प्याकेजको हकमा भने जापानसँग छुट्टै सम्झौता हुनेछ ।

बाढीले सडक नै बगाएपछि त्यहाँ पूर्ण रूपमा यातायात अवरुद्ध भएको थियो । त्यसपछि उक्त राजमार्गमा अस्थायी रुट बनाएर २५ असोजदेखि यातायात सञ्चालन गरिएको छ । त्यसपछि क्षतिग्रस्त सडकखण्डको अस्थायी मर्मतको काम पनि अघि बढाइएको थियो । सडकलाई सामान्य अवस्थामा ल्याउन पुनर्निर्माण नै गर्नुपर्नेछ । अहिले सडक मर्मतका लागि ४१ वटा मेसिन परिचालन भइरहेका छन् । 
 

छुटाउनुभयो की ?