
कांग्रेस सभापति शेरबहादुर देउवाले भारत नेपालमा राजतन्त्र फर्काउने पक्षमा नरहेको बताएका छन् । गणेशमान सिंह फाउन्डेसनले सोमबार काठमाडौंमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पुर्याउनुभएको योगदान’ विषयक गोष्ठीमा सभापति देउवाले त्यस्तो बताएका हुन् ।
उनले भारतीय नेताहरू कोही पनि राजतन्त्र पुनस्र्थापनाका पक्षमा नरहेको र नेपालमा राजसंस्था पुनस्र्थापनाका लागि भारतले उचाल्यो भन्ने हल्ला झुटो भएको प्रस्ट्याए ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले समेत राजतन्त्र फर्काउने पक्षमा नरहेको प्रस्टीकरण दिएको देउवाको भनाइ थियो । नेपालमा गणतन्त्र स्थापना भएको धेरै वर्ष नभएकाले राजनीतिक दलहरूले मिलेर मजबुत बनाउनुपर्ने धारणासमेत उनले राखेका थिए ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउन प्रजातन्त्रले नै आधार प्रदान गरेको भन्दै लोकतन्त्रको कुनै विकल्प नरहेको विचार राखे ।