मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २६ मंगलबार
  • Tuesday, 08 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ चैत २६ मंगलबार o८:२३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

तीनकुनेको भवन र जडीबुटीमा आगजनी गर्ने दुई पक्राउ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत २६ मंगलबार o८:२३:oo

गत १५ चैतमा राजावादीहरूले गरेको प्रदर्शनका क्रममा तीनकुने र जडीबुटीमा आगजनी गर्ने थप दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ९ का २७ वर्षीय कुमार तामाङ र धार्मिक अभियन्ता ऐनी कुँवरलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । 

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको हो । तामाङ जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको सन्चो उत्पादन गर्ने कारखाना आगजनीमा संलग्न रहेको देखिएको र कुँवर तीनकुनेस्थित भवन जलाउन प्रेरित गर्ने भूमिकामा थिइन् । जहाँ पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो । 

अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले तामाङ जडीबुटीस्थित सन्चो उत्पादन कारखाना आगो लगाउन र कुँवर भवन जलाउन प्रेरित गर्ने भूमिका देखिएको बताए । उनले भने, ‘तामाङले सन्चोको कारखानमा आगो लगाएको भिडियोले नै पुष्टि गर्छ । कुँवरको सन्दर्भमा अर्को भिडियो पनि प्राप्त गरेका छौँ । उनी उक्त भवनमा अनधिकृत तवरले प्रवेश गरेको देखिन्छ । आफैँले आगो नझोसे पनि आगो लगाउने समूहको नेतृत्व गरेजस्तो देखिन्छ । कार्यक्रम स्थलमा पनि उनले भिड भड्काउने गरी मन्तव्य दिएको देखिन्छ ।’

प्रहरीका अनुसार पक्राउ परेका तामाङ सवारीचालक हुन् । राजावादीको प्रदर्शनपछि भने उनी उग्र बनेका थिए । उनले कोटेश्वरस्थित चोकमा राखिएको सिसिक्यामेरासमेत फुटाएका थिए । 

अनुसन्धान कार्यालयका एसपी जिसीका अनुसार तामाङ सन्चो कारखाना आगजनीका साथै सिसिक्यामेरा फुटाउने धन्दामा समेत संलग्न रहेको देखिन्छ । उनले भने, ‘तामाङको संलग्नता कारखाना आगजनी गर्नेमा मात्रै छैन । चोकमा राखिएको सिसिक्यामेरासमेत फुटाएको देखियो ।’धार्मिक अभियन्ता कुँवर पूर्वपत्रकारसमेत हुन् । हिन्दु धर्मको वकालतमा लागेकी उनी पछिल्ला दिन राजावादी आन्दोलनमा सक्रिय थिइन् । सोही क्रममा गत १५ चैतमा राजावादीले गरेको प्रदर्शनमा सहभागी भएकी थिइन् । 

अन्यको पनि खोजी जारी छ : प्रहरी
प्रहरीका अनुसार तीनकुनेस्थित भवनमा आगजनी गर्ने भिडको नेतृत्व पनि कुँवरले नै गरेकी थिइन् । सोही घरमा पत्रकार रजकको जलेर मृत्यु भएको थियो । घरमा अनधिकृत तवरले प्रवेश गर्ने अन्यको पनि खोजी भइरहेको अनुसन्धान कार्यालयका एसपी जिसीले बताए । सार्वजनिक भिडियोमा पनि कुँवर घर जल्नुअघि भर्‍याङबाट ओर्लिएको देखिन्छ । उनको पछि मास्क लगाएको अर्को एक युवा पनि देखिन्छन् । 

दुर्गाका दाइ राकेश पक्राउ 
प्रहरीले राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईंका दाजु राकेश प्रसाईंलाई पक्राउ गरेको छ । उनलाई कोटेश्वरको पेरिसडाँडाबाट जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । उनी पनि राजा फर्काउने अभियानका अभियन्ता हुन् । तर, अहिले भने दुर्गाका बारेमा सोधपुछ गर्न प्रहरीले उनलाई पक्राउ गरेको हो । दुर्गा काठमाडौं छाड्नुअघि राकेशकै घरमा बसेका थिए । त्यसयता पनि उनको सम्पर्क दुर्गासँग भएको देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरीपरिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले राकेश पक्राउ परेको बताए । 
 

छुटाउनुभयो की ?