
नेपालमा बाह्य मिचाहा प्रजातिका फैलावटलाई रोक्नका लागि हालका रणनीतिबारेमा जानकारी गराइदिनुस् है?
बाह्य मिचाहा प्रजाति व्यवस्थापन राष्ट्रिय रणनीति तथा कार्यान्वयन योजना चैत्र १७ गते स्वीकृत भएको हो । यसअघि ‘नेसनल बायोडाइभर्सिटी स्ट्रेटेजिक एन्ड एक्सन प्लान’मा यसको संक्षिप्त उल्लेख मात्र थियो । विस्तृत योजना आवश्यक ठानी २०७४ देखि रणनीति निर्माण थालिएको हो । पटक–पटक संशोधनपछि हाल विस्तृत रूपमा पारित भएको छ ।
बाह्य मिचाहा प्रजातिको फैलावटले पारिस्थितिकीय प्रणालीमा कस्तो असर गरिरहेको छ ?
पारिस्थितिक प्रणालीमा मिचाहा प्रजातिको फैलावटले गम्भीर असर गर्छ । यी असरलाई विशेषतः चार बुँदामा व्यक्त गर्न सकिन्छ । पहिलो त एल्लोप्याथी अर्थात् मिचाहा प्रजातिबाट निस्कने रसायनले माटोमा असर पार्छ, स्थानीय वनस्पतिका लागि आवश्यक सूक्ष्म जीवाणुमा असर पर्छ, उब्जाउ क्षमतामा ह्रास ल्याउँछ र समग्रमा जैविक विविधतामा असर गर्छ । दोस्रो यी प्रजातिले पशु उत्पादकत्वमा असर पार्छ । तेस्रो यसले मानिस एवं पशुको स्वास्थ्यलाई पनि असर गर्छ । मिचाहा प्रजाति स्वास्थ्यमा पनि समस्या ल्याइरहेको हुन्छ । छाला, श्वासप्रश्वासको समस्या र चौपाया मिचाहा वनस्पति खाँदा दुध तितो हुने पनि गर्छ । चौथो, यसले हाम्रो जैविक एवं वन्यजन्तु संरक्षणमा पनि गम्भीर असर गर्छ । वास्तवमा मिचाहा प्रजातिले पारिस्थितिक प्रणालीमा मात्रै नभई कृषि क्षेत्रमा पनि ठुलो क्षति पुर्याउँछ ।
नेपालमा बाह्य मिचाहा प्रजातिको प्रभावलाई कसरी कम गर्न सकिन्छ र यसमा विज्ञको भूमिका कस्तो हुन सक्छ ?
मिचाहा प्रजातिका वनस्पतिले निम्त्याउने क्षति विशाल छ । मिचाहा प्रजाति पूर्ण रूपमा उन्मूलन गर्न कठिन भए पनि रोकथाम सम्भव छ । कृषि, वनस्पति, वातावरण, प्राणीशास्त्र र अन्य सम्बन्धित क्षेत्रका विज्ञहरूको समन्वय आवश्यक छ । जैविक विधिबाट नियन्त्रण सम्भव भए पनि थप अनुसन्धान आवश्यक छ । स्थानीयस्तरमा कृषक र अधिकारीहरू सक्रिय भई सुरुवाती अवस्थामा नै नियन्त्रण गर्नुपर्छ ।