
२५ करोड १९ लाख रुपैयाँबराबरको डलर र युरो ट्रकमै लोड गरेर काठमाडौंबाट केरुङ हुँदै चीन लैजान लागेका सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका– १ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामा टोखा झोरमा पक्राउ परे । यति ठुलो परिमाणको पैसा लोड गरिएको ना.७ख १६५२ नम्बरको ट्रकसहित सोमबार राति ११ बजे पक्राउ परेका कुसाङ तिनै व्यक्ति हुन् जो १३ पुस ०७३ मा सात किलो तस्करीको सुनसहित पक्राउ परेर जेलसमेत पुगेका थिए । उनी पाँच वर्ष जेल बसेर ०७८ मा छुटेका थिए । उक्त रकम केरुङ लैजाँदै गरेको ट्रक पनि कुसाङकै नाममा रहेको खुलेको छ ।
प्रहरीले ट्रकबाट अमेरिकी डलर सय दरका तीन हजार ११९ थान तथा युरो पाँच सय दरका ११, दुई सय दरका ४८०, सय दरका चार हजार १४८ र ५० दरका १७ हजार १७७ थान बरामद गरेको छ । यो रकम हालको विनिमयदरअनुसार २५ करोड १९ लाख २४ हजार ९५० रुपैयाँ हुन्छ । सुन तस्करीमै संलग्न संगठित अपराध यो घटनामा संलग्न रहेको प्रहरीको प्रारम्भिक निचोड छ । प्रहरीका अनुसार यो रकमको मालिक चिनियाँ नागरिक रहेको र कुसाङले रसुवागढीसम्म मात्रै पुर्याउन जिम्मा पाएका थिए । सूचना चुहिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो ।
‘ट्रकमा शंकास्पद सामग्री लोड गरेर केरुङतर्फ जाँदै गरेको सूचनापछि प्रहरी निगरानीमा थियो । यही क्रममा टोखाको झोरमा ट्रक फेला पर्यो । तलासी लिँदा सुरुमा केही फेला परेन । जब कुसाङ आफैँले चालक सिटमाथिको स्पिकर राख्ने बाकस स्क्रुडाइभरले खोले, त्यहाँ लुकाएर राखिएको अवस्थामा ठूलो परिणाममा अमेरिकी डलर र युरो फेला पर्यो । गनेर हेर्दा २५ करोड १९ लाख २४ हजार ९५० रुपैयाँबराबर रहेछ,’ अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले भने ।
प्रहरीका अनुसार रसुवागढीसम्म कुसाङले पुर्याएपछि ट्रकलाई सीमा कटाएर केरुङसम्म लैजाने जिम्मा भने अर्कै चालकले पाएका थिए । त्यस्तै, ट्रकलाई पुनः रसुवागढी फर्काउने जिम्मा फरक चालकले पाएका थिए । रसुवागढी ल्याएपछि ट्रक फेरि कुसाङको जिम्मा लगाउने योजना खुलेको प्रहरीले बतायो ।
‘घटनाको प्रारम्भिक रूप हेर्दा संगठित गिरोह संलग्न रहेको देखिन्छ । जस्तो, कुसाङलाई रसुवागढीसम्म मात्रै ट्रक हाँक्न भनिएको थियो । त्यहाँबाट अर्कै चालकले हाँकेर केरुङ लैजाने र फेरि रसुवागढी फिर्ता ल्याएपछि कुसाङको जिम्मा लगाउने योजना बनेको देखिन्छ,’ अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यले भने, ‘अरू चालकबारे पनि यसलाई (कुसाङ) सोध्यौँ, तर चिन्दिनँ भन्छ । संगठित प्रकृतिको अपराधमा हुने यस्तै हो ।’
ठमेलमा संकलन गरिएको थियो रकम, सुन खरिद गर्न लगिँदै थियो केरुङ
प्रहरीले ट्रकबाट अमेरिकी डलर सय दरका तीन हजार ११९ थान तथा युरो पाँच सय दरका ११, दुई सय दरका ४८०, सय दरका चार हजार १४८ र ५० दरका १७ हजार १७७ थान बरामद गरेको छ । यो रकम हालको विनिमयदरअनुसार २५ करोड १९ लाख २४ हजार ९५० रुपैयाँ हुन्छ । प्रहरीका अनुसार ठमेलका विभिन्न मनी एक्सचेन्ज सेन्टरबाट जम्मा गरिएको उक्त रकम सुन खरिद गर्ने उद्देश्यले केरुङतर्फ लगिँदै थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी बस्नेतले भने, ‘बरामद रकम ठमेलका विभिन्न मनी एक्सचेन्ज सेन्टरबाट जम्मा गरिएजस्तो देखिन्छ । जुन सुन खरिद गर्ने उद्देश्यले चीन लैजान खोजिएको देखिन्छ ।’
सुन तस्करी गर्न चिनियाँ मालिकले नै किन्न लगाएका थिए ट्रक
प्रहरीका अनुसार २५ करोडको असली मालिक चिनियाँ नागरिक हुन् । जो विगतदेखि नै सुन तस्करी धन्दामा संलग्न हुँदै आएका छन् । ०७८ मा जेलबाट छुटेलगत्तै कुसाङलाई उनीहरूले नै सम्पर्कमा ल्याएका थिए । घटनामा प्रयोग गरिएको ट्रक पनि चिनियाँ सुन तस्करले नै खरिद गर्न लगाएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार बरामद ट्रक सुन तस्करी गर्ने उद्देश्यले खरिद गरिएको हो ।
अनुसन्धान कार्यालयका एसपी आचार्यले भने, ‘कुसाङ पहिले पनि सुन तस्करीमा संलग्न रहेका थिए । सुन तस्करीमै पाँच वर्ष जेल बसेर ०७८ मा जेलबाट छुटेको देखिन्छ । त्यसयता यो ट्रक खरिद गरेको र आफैँले चलाउँदै आएको देखिन्छ ।’
झोरबाट टेकु ल्याएर केरकार गरेपछि मात्रै देखाए ट्रकमा लुकाएको पैसा, राष्ट्र बैंकबाट मेसिन मगाएर गनियो
प्रहरीले कुसाङसहित ट्रक झोरमा समातेको थियो । तर, त्यहाँ सर्च गर्दा प्रहरीले केही फेला पारेन । थप अनुसन्धानका लागि भन्दै ट्रकसहित उनलाई टेकुस्थित कार्यालय परिसर ल्यायो । सोधपुछ थाल्यो, तर कुसाङ गलेनन् ।
जब उनी सुन तस्करीमा पहिले पनि पक्राउ परेको खुल्यो, अनि उनी केही गले । अन्ततः उनी मुख खोल्न बाध्य भए । प्रहरीलाई डोहोर्याउँदै ट्रकतर्फ लगे । चालक सिटमा उक्लिए । सिटको ठिक माथि स्पिकर राखिएको बाकस स्क्रुले खोल्न थाले । लुकाएर राखिएका विदेशी पैसाको बन्डल भटाभट झर्न थाले । प्लास्टिकले बेरिएका सबै बन्डल प्रहरीले कोठामा जम्मा गर्यो । कोठा अमेरिकी डलर र युरो नोटले भरियो ।
घटना संवेदनशील थियो । त्यसैले प्रहरीले प्रत्येक नोट एक–एक गर्दै गन्न थाल्यो । राति साढे १ बजेबाट गन्न थालिएको नोट मंगलबार बिहान ६ बज्दासम्म सकिएन । त्यसै गनेर सम्भव नहुने देखेपछि प्रहरीले नेपाल राष्ट्र बैंकबाट नोट गन्ने मेसिन नै मगायो । मेसिनबाट गनेपछि बरामद रकमको यकिन विवरण आएको थियो ।