मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ४ सोमबार
  • Tuesday, 18 March, 2025
२o८१ चैत ४ सोमबार २१:o३:oo
Read Time : < 1 मिनेट
खेलकुद

पोखरा कप राष्ट्रिय पुरुष ह्यान्डबल : सेमिफाइनलमा गण्डकी, एपिएफ, आर्मी र कोशी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत ४ सोमबार २१:o३:oo

घरेलु टोली गण्डकी प्रदेश, विभागीय सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र  कोशी प्रदेश पोखरामा जारी प्रथम पोखरा कप राष्ट्रिय पुरुष ह्यान्डबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्। 

गण्डकी प्रदेश ह्यान्डबल संघको आयोजना, प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धन एवं कास्की जिल्ला ह्यान्डबल संघको प्राविधिक पोखरामा जारी प्रतियोगिताअन्तर्गत विभागीय डर्बीमा आर्मीले एपिएफलाई १९–१४ को गोलअन्तरले पराजित गरेको हो। आर्मीको जितमा आकाश अधिकारीले सर्वाधिक ५ गोल गरेका थिए। 

कर्णालीले सुदूरपश्चिमलाई ३७–२७ गोलअन्तरले पराजित गर्‍यो। कर्णालीको जितमा महेश थापाले सर्वाधिक ११ गोल गरेका थिए। 

अर्को खेलमा गण्डकीले कोशीलाई ३७–२५ गोलले पराजित गर्‍यो। तीन खेल खेलेको गण्डकी समूह विजेता बन्दै कुल ९ अंकका साथ र सोही समूहमा समान चार-चार अंक जोडेका कोशी र कर्णालीमध्ये गोलअन्तरको आधारमा कोशीले सेमिफाइनलको यात्रा बनाएको हो। कोशीले कर्णालीभन्दा तीन गोल कम खाएको थियो। 

यसैगरी, आर्मीले लुम्बिनीलाई ३७–२१ ले हराउँदै ६ अंकका साथ समूहको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको हो। आर्मीका लागि सुरेश महतोले सर्वाधिक ९ गोल गरेका थिए। सोही समूहको उपविजेता बन्दै एपिएफले अन्तिम चारमा स्थान बनाएको हो। 

फाइनल प्रवेशका लागि गण्डकीले एपिएफसँग र आर्मीले कोशीसँग प्रतिस्पर्धा गर्ने आयोजक संघका अध्यक्ष केशव पाठकले जानकारी दिए। सेमिफाइनल र फाइनलका खेलहरू मंगलबार हुने पाठकले जानकारी दिए।

प्रतियोगिताको उपाधि विजेताले एक लाख, उपविजेताले ५० हजार र तेस्रोले ३० हजार साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै, उत्कृष्ट गोलरक्षक, खेलाडी र सर्वाधिक गोलकर्ताले जनही पाँच, पाँच हजारसँगै ट्रफी र प्रमाणपत्र पाउनेछन्।