
नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले शुक्रबार चार देशीय अन्तर्राष्ट्रिय टी–२० आई सिरिजमा दोस्रो जित निकालेको छ । डबल राउन्ड रोबिन लिगको आफ्नो अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हरायो । नेपालले ६ खेलमा दुई जित र चार हार नतिजा निकाली चार अंक जोडेको छ । समान खेलबाट ६ अंक बटुलेको हङकङ तेस्रो भएको छ । नेपालले पहिलो चरणमा युगान्डाविरुद्ध एक विकेटको सनसनी जित निकालेको थियो । दोस्रो चरणको पाँचौँ खेलमा नेपाल युगान्डासँग ४० रनले पराजित भएको थियो ।
पहिलो ब्याटिङ गरेको हङकङले २० ओभरमा आठ विकेट गुमाएर १०४ रन बनाएको थियो । प्रत्युत्तरमा नेपालले १९.३ ओभरमा चार विकेटको क्षतिमा १०५ रन जोडेको थियो । नेपालको जितमा ओपनर सम्झनाकुमारी खड्काले सर्वाधिक ४७ रनको योगदान दिएकी थिइन् । लगातार दोस्रो खेलमा कप्तान इन्दु बर्मा ओपनिङमै आइन् । उनले सम्झनासँग पहिलो विकेटका लागि गतिलो साझेदारी गरिन् ।
नेपालले पहिलो विकेटका रूपमा कप्तान इन्दुलाई गुमाएको थियो । उनले ३२ बलको सामना गरी १८ रनको योगदान गरिन् । त्यसपछि सम्झनाले यू–१९ की कप्तान पूजा महतोसँग दोस्रो विकेटका लागि बलियो साझेदारी गरिन् । इनिङ्सको अन्तिमसम्म नटआउट रहेकी पूजाले २६ बलमा २० रनको योगदान दिइन् । सम्झनाले ४३ बलको सामना गरी आफ्नो विकेट गुमाइन् ।
मध्यक्रममा स्थान बनाएका रोमा थापा र विन्दु रावलले गतिलो योगदान दिन सकेनन् । दुवैजना खेलाडी रनआउटको सिकार भए । रोमाले सात बलमा चार रन तथा विन्दुले चार बलमा चारै रन बनाए । अलिशाकुमारी यादवले पाँच बलमा पाँच रन बनाइन् ।
नेपालको कसिलो बलिङ
जितका साथ सिरिज अन्त्य गर्न चाहेको नेपालले हङकङविरुद्ध कसिलो बलिङ गरेको थियो । राजमती ऐरीले चार ओभरमा १७ रन खर्चँदै सर्वाधिक तीन विकेट लिइन् । कप्तान इन्दुले चार ओभरमा एक मेडन राखी १२ रन खर्चेर दुई विकेट हात पारिन् । पूजा र ईश्वरी विष्टले समान एक विकेट लिँदा हङकङले सोचेजस्तो ब्याटिङ गर्न सकेन ।
हङकङले इनिङ्सको पहिलो ओभरमै विकेट गुमाएको थियो । हङकङले तेस्रो विकेटका लागि ६३ रनको साझेदारी गर्यो । स्कोर बोर्डमा ९९ रनको योगफल हुँदा हङकङले लगातार तीन विकेट गुमाएको थियो । तीन विकेट एकै रनमा गुमाएको अवस्थामा हङकङमाथि नेपालले दबाब बनायो । यद्यपि, नेपाली बलरले हङकङलाई १२ अतिरिक्त रन दिएका थिए । हङकङको ब्याटिङमा सानजिन शाहजादले अर्धशतकीय इनिङ्स खेलिन् । उनले ४७ बलमा ५४ रन बनाइन् ।
चाङ यिनले १६ रन र यस्मिन दस्वानीले १४ रन बनाए । हङकङविरुद्धको प्रतिस्पर्धामा नेपालले खेलाडी परिवर्तन गरेको थियो । पूर्वकप्तान रुबिना क्षेत्री र कविता जोशीले अन्तिम खेलमा स्थान बनाउन सकेनन् । दुवै खेलाडीले अघिल्लो पाँचै खेलमा मौका पाएका थिए । तर, उनीहरूले ब्याटिङ, बलिङ र फिल्डिङमा कमजोर प्रदर्शन गरेका थिए ।