
सरकारले कूटनीतिक पहलमार्फत भारतबाट नियमित बिजुली आपूर्तिको सुनिश्चितता नगरे लोडसेडिङ फर्कने जोखिम बढेको छ ।
विद्युत् प्राधिकरणले भारतको केन्द्रीय विद्युत् प्राधिकरणसँग ४ मंसिरमा गरेको समझदारीअनुसार शनिबार रातिसम्म मात्रै बिजुली आपूर्ति हुनेछ । आइतबारदेखि प्रत्येक दिन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म भारतले बिजुली दिने व्यवस्था छ । जसकारण रातिको माग धान्न मुस्किल भई प्राधिकरणले बिजुली कटौती गर्न सक्ने जनाएको छ । त्यसैले तत्काल विद्युत्को मागअनुसार आपूर्तिको सुनिश्चितता गर्न सरकारले कूटनीतिक संयन्त्रमार्फत भारतबाट हाल पाइरहेको २० घण्टा बिजुली खरिदको सुविधा यथावत् राख्न पहल गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।
त्यस्तै, ३० माघमा नयाँदिल्लीमा नेपाल–भारत पावर एक्सचेन्ज कमिटी (पिइसी)को बैठकमा भएको सम्झौता कार्यान्वयन गर्न पनि सरकारले प्राधिकरणलाई तत्काल स्वीकृति दिनुपर्नेछ । सो बैठकमा भएको सम्झौता कार्यान्वयन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठक राखेर पिइसीमा भएको सम्झौता स्वीकृत गर्ने र विद्युत् नियमन आयोगले पनि अनुमोदन गर्नुपर्ने व्यवस्था छ ।
३० माघमा नयाँदिल्लीमा बसेको पिइअसी बैठकले आइतबार (१६ मार्च)देखि खरिद गर्ने विद्युत्को नयाँ दर निर्धारण गरेको थियो । तर, नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई उक्त बैठकमा नसोधी गएको र विगतको भन्दा बढी दरमा बिजुली किन्ने गरी सम्झौता गरेको दोष लगाएर ऊर्जामन्त्री खड्काले पदबाट हटाउने नियतका साथ स्पष्टीकरण सोधेका छन् । मन्त्री खड्काले दुई महिनादेखि प्राधिकरणको सञ्चालक समिति बैठकसमेत नराखेर नीतिगत निर्णय गर्नबाट अल्झाइरहेका छन् । ऊर्जामन्त्री खड्का प्राधिकरण सञ्चालक समितिका अध्यक्ष हुन् ।
पिइसी बैठकमा भएको निर्णय प्राधिकरणको बोर्ड बैठकबाट स्वीकृत हुनुपर्ने र विद्युत् नियमन आयोगले अनुमोदन गर्नुपर्ने व्यवस्था छ । दुवै निकायले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई असहयोग गर्ने नियतका साथ भारतबाट किन्ने बिजुलीको नयाँ दररेट स्वीकृत गरेका छैनन् । जसकारण आइतबारदेखि भारतबाट रातभर बिजुली आयात रोकिने जोखिम छ ।
कुलमान घिसिङ, कार्यकारी निर्देशक, विद्युत् प्राधिकरण
भारतको इनर्जी एक्सचेन्ज मार्केटबाट आइतबारदेखि रातको समयमा विद्युत् आयात गर्न पाइँदैन । यद्यपि, त्यो समयमा हामीले कसरी हुन्छ, विद्युत् आपूर्तिलाई व्यवस्थित गर्न लागिपरेका छौँ । सकेसम्म औद्योगिक क्षेत्रमा पनि विद्युत् कटौती हुन दिँदैनौँ, यदि भयो भने रातिको केही समय मात्रै हुन सक्छ ।