
क्यानडाको २४औँ प्रधानमन्त्रीमा मार्क कार्नी नियुक्त भएका छन्। उनले शुक्रबार शपथसमेत लिएका छन्।
निवर्तमान प्रधानमन्त्री जस्टिन टुड्रोले राजीनामा दिएपछि क्यानडाको सत्तारूढ दल लिबरल पार्टीबाट कार्नी प्रधानमन्त्री बनेका हुन्। केही दिनअघि उनी भारी मतसहित दलको नेतामा चुनिएसँगै प्रधानमन्त्री बन्ने पक्का भएको थियो। अर्थशास्त्रीसमेत रहेका कार्नी केन्द्रीय बैंकका पूर्वगभर्नरसमेत हुन्। पूर्वप्रधानमन्त्री टुड्रोले अर्थतन्त्रमा देखिएका समस्याको समाधान गर्न नसकेको भनेर तीव्र आलोचना भएपछि राजीनामा दिनुपरेको हो।
नवनियुक्त प्रधानमन्त्री कार्नीले आजै मन्त्रिपरिषद्समेत गठन गर्दै छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई अमेरिकाको ५१औँ राज्य बनाउने भनेर धम्क्याइरहेको कठिन अवस्थामा कार्नी प्रधानमन्त्री बनेका हुन्।
यसअघि क्यानेडियन प्रधानमन्त्रीले सुरुमा दक्षिणी छिमेकी अमेरिकाकै भ्रमण गर्दथे। तर, कार्नीले भने फ्रान्सबाट आफ्नो पहिलो भ्रमण सुरु गर्न लागेको बिबिसीले जनाएको छ।