मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १ शुक्रबार
  • Friday, 14 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत १ शुक्रबार २१:२५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

फूल मेलामा रमाइरहेका ‘फूलप्रेमी’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत १ शुक्रबार २१:२५:oo

भृकुटीमण्डप प्रवेश गर्नेबित्तिकै फूलैफूलको द्वार देख्न सकिन्छ । द्वार (गेट) प्रवेश गर्नेबित्तिकै लाग्छ विभिन्न रंगीचंगी फूलहरूले स्वागत गरिरहेका छन् । थरीथरीका फूल तथा बोटबिरुवामा मौरीझैँ झुम्मिएका देखिन्छन् फूलप्रेमीहरू ।

फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि सुरु भएको २६औँ पुष्पमेला (फ्लोरा एक्स्पो) को दृश्य हो यो । फूलैफूलको संसारमा रमाइरहेको भेटिइन्, प्रतिनिधिसभाअन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुमदेवी थापा । पुष्पमेलामा फूल किन्दै गरेकी थापाको हातमा ‘जेरानियम’ फूलको बोट थियो भने अर्को हातमा थप अरू फूलका बिरुवाहरू ।

उनी बोटबिरुवाको सौखिन छिन् । उनलाई मौसमअनुसारको फलफूल तथा तरकारी आफैँ फलाएर खाने इच्छा लाग्छ । कौसीखेती गर्दै आएकी उनले सागसब्जी, फूलहरू रोपेकी छिन् । सकेसम्म अर्गानिक खाने प्रयत्न गर्छिन् थापा । ‘यस्तो मेला लाग्नेबित्तिकै एकपटक छिरिहाल्छु । फुर्सद हुँदासम्म आफैँ रोप्ने, बोटबिरुवाको स्याहार्ने काम गर्छु,’ थापा भन्छिन् । पुष्पमेला हेर्न भक्तपुरबाट आएकी समृद्धि राईले ६ वटा फूलहरू किनिन् । उनी हरेक वर्ष मेलामा आउँछिन् र मन परेका फूलहरू किनेर लग्छिन् । उनी भन्छिन्, ‘फूलप्रेमीलाई त मेला औधी रमाइलो लाग्छ । मैले थुप्रै फूलहरू रोपेकी छु । फूलको संकलन गर्न मनपर्छ । घरभरि नै सजाएर राखेकी छु ।’

मेलामा कसैको आँखा गमलामा तथा कसैको आँखा ठुलो फुल्ने फूलहरूमा देखिन्थ्यो । मौसमअनुसारको फुल्ने फूलहरूमा धेरैको चासो गइरहेको थियो । मेलामा जेरानियम, लाहुरे फूल, सिनारेरिया, पेटुनिया, गुलाब, लिली, कार्नेसनलगायत सयौँ प्रकारका आउटडोर तथा इन्डोर फूल तथा बोटबिरुवा प्रदर्शनीमा राखिएको थियो ।

कीर्तिपुरका साहिल श्रेष्ठ ‘अर्किड ’को संकलन गर्न मन पराउँछन् । उनले मेलामा विभिन्न प्रकारका अर्किडको खोजीमा आएका थिए । तर, भनेजस्तो पाएनन् । उनी भन्छन्, ‘खासै खोजेजस्तो पाइएन । मसित भएका नै रहेछन् प्रायः । मूल्य पनि नर्सरीभन्दा अलि बढी जस्तो लाग्यो ।’

भृकुटीमण्डप प्रदर्शनी हलमा ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ चैत १ देखि ४ गतेसम्म मेला लाग्नेछ । आयोजकका अनुसार मेलामा ८२ वटा प्रदर्शनी कक्ष राखिएका छन् । मेलामा विभिन्न प्रजातिका फूल, मल, गमलालगायत पुष्प सामग्री रहेका छन् । मेला संयोजक रामबहादुर तामाङले मेलामा करिब ६० हजार मानिसले अवलोकन गर्ने अनुमान गरिएको बताए । रासस