मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २९ बिहीबार
  • Monday, 17 March, 2025
२o८१ फाल्गुण २९ बिहीबार १७:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सहमति कार्यान्वयन नगरेको भन्दै तामाकोशी पाँचौँका मजदुर पुनः आन्दोलित

आयोजनाको सबै काम ठप्प

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण २९ बिहीबार १७:३७:oo

मजदुर र ठेकेदार पक्षबिच भएको सहमति कार्यान्वयन नगरेको भन्दै दोलखाको बिगु गाउँपालिका– ४, सुरिटारमा निर्माणाधीन तामाकोशी पाँचौँ जलविद्युत् आयोजनाका मजदुर दुई दिनदेखि पुनः आन्दोलनमा उत्रिएका छन्।

ठेकेदार कम्पनी र मजदुरबिच दुई साताअघि भएको सहमति कार्यान्वयन नगरेको भन्दै मजदुरहरू आन्दोलनमा उत्रिएपछि बिहीबारदेखि आयोजनाका सबै काम ठप्प भएको हो। नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन ९९ मेगावाट क्षमताको उक्त आयोजना निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी सिनो हाइड्रो केएसएनएस जेभी र आयोजनामा कार्यरत मजदुरबिच भएको सम्झौता ठेकेदार पक्षले कार्यान्वयन नगरेपछि आयोजनाका सबै काम बन्द गरेर आन्दोलनमा उत्रिन परेको नेपाली श्रमिक संघर्ष समितिका संयोजक जीवन मगरले बताए।

दुई साताअघि भएको सम्झौतामा खासगरी नेपाली मजदुरहरूलाई रोजगारी सम्झौता गराउने, श्रम ऐनअनुसारको ज्याला उपलब्ध गराउनेलगायतका विषयमा लिखित सहमति भएको थियो, तर ठेकेदार पक्षले सम्झौता कार्यान्वयन नगरेको भन्दै पुनः आन्दोलनमा उत्रिएको संयोजक मगरको भनाइ छ। उनले आयोजनाको व्यवस्थापन पक्षले प्रहरी परिचालन गरी मजदुरलाई धरपकड गराएको आरोप लगाएका छन्।

मजदुरहरूले एक विज्ञप्ति जारी गर्दै आयोजनाको व्यवस्थापन पक्षले रोजगारी सम्झौता उपलब्ध नगराउन्जेल र अन्य सहमतिका विषय सम्बोधन नहुन्जेल आन्दोलन जारी राख्ने चेतावनी दिएको छ। मजदुरहरूले दैनिक नाराबाजीसहित आन्दोलन गरिरहेका छन्।

आयोजनामा झन्डै दुई सयभन्दा धेरै मजदुर कार्यरत छन्। सबै नेपाली श्रमिकहरू काम छोडेर आन्दोलनमा उत्रिएपछि आयोजनाको अडिट एक, अडिट दुई र विद्युतगृहका सबै काम ठप्प हुँदा आयोजनामा लाखौँ घाटा भएको आयोजनाले जनाएको छ। यसबारे जानकारी लिन खोज्दा चिनियाँ कम्पनी सिनो हाइड्रोका प्रतिनिधि अनुप एलसीसँग टेलिफोन सम्पर्क हुन सकेन।