
गएको दुई दिनमा जिल्ला प्रहरी कार्यालय उदयपुरले लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानबाट लागुऔषधसहित पक्राउ गरेर कानुनी दायरामा ल्याएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङले बताए ।
उनका अनुसार जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरेर आवश्यक अनुसन्धान जारी राखिएको छ । इलाका प्रहरी कार्यालय कटारीले कटारी नगरपालिका– ३ स्थित सिद्धिचरण लोकमार्गबाट मोटरसाइकलमा सवार धनुषाको धनुषाधाम नगरपालिका– ५ बस्ने वर्ष ३५ का शम्भुकुमार साह र महोत्तरी मनरा सिसुवा नगरपालिका– १ बस्ने वर्ष ४० का दिलीप भुजेललाई गएको सोमबार पक्राउ गरेको हो । उनीहरूको साथबाट ट्यापेन्टाडोल हाइड्रोक्लोराइड ट्याब्लेट २५१० वटा, स्पान्सिस ट्याब्लेट २४६०, काफ डी ट्याब ट्याब्लेट ३२० वटा गरी जम्मा ५२९० वटा ट्याब्लेट बरामद गरिएको छ । तीनै प्रकारका ट्याब्लेटहरू लागुऔषधभित्र पर्ने दोङको भनाइ छ ।
यता त्रियुगा नगरपालिका– ६ लालपत्ताबाट ३० एम्पुल प्रतिबन्धित लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका– १२ का वर्ष २६ को ललित चौधरी र १३ का वर्ष २५ को विदायक राई रहेका छन् । डिएसपी दोङले लाहानबाट गाईघाटतर्फ आउँदै गरेको प्र.१–०५–००२प १५२८ नम्बरको स्कुटरमा सवार भइरहेको साथबाट डाइजेपाम–१० एम्पुल, फेनार्गन–१० एम्पुल, बुप्रिनोर्फिन–१० एम्पुल गरी जम्मा ३० एम्पुल र पाँच थान सिरिन्ज बरामद गरेको छ ।
यसैगरी, बेलका नगरपालिका– ३ मा रामपुरमा रहेको होटेल एकान्त एन्ड लजबाट ३.६० मिलिग्राम चरेससहित बेलका नगरपालिका– ५ बस्ने वर्ष ३० का विशप खतिवडा पक्राउ परेका छन् । गएको मंगलबार साढे दुई किलो गाँजासहित त्रियुगा नगरपालिका– ३ बगरटोल बस्ने वर्ष ५० की सितेम्मा राई पक्राउ परेकी छिन् । गाँजा लुकाइछिपाई बेचबिखन गरिरहेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको डिएसपी दोङले जानकारी दिए ।