
फिलिपिन्सका पूर्वराष्ट्रपति रोद्रिगो दुतेर्तेलाई मानवताविरुद्धको अपराधको मुद्दामा पक्राउपछि नेदरल्यान्डको हेग पुर्याइएको छ । दुतेर्तेलाई लागुऔषध प्रयोगकर्ताविरुद्धको हिंसात्मक अभियानको विषयमा अनुसन्धान गर्न अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) लगिएको छ । पूर्वराष्ट्रपति दुतेर्तेलाई लिएर नेदरल्यान्ड्सका लागि उडेको एक विमान दुबईमा केही घण्टा रोकिएपछि बुधबार पुनः उडान सुरु गरेको ‘फ्लाइट ट्र्याकिङ साइट’ले जनाएको थियो ।
अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)को आग्रहमा मंगलबार फिलिपिन्सको राजधानी मनिलास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा दुतेर्तेलाई पक्राउ गरिएको थियो । हङकङमा एक कार्यक्रममा सहभागी भएर स्वदेश फर्किएका दुतेर्तेलाई विमानबाट ओर्लिएलगत्तै पक्राउ गरिएको थियो । प्रहरीले आइसिसीको आदेशमा उनलाई हिरासतमा लिएको जानकारी दिएको छ ।
दुतेर्तेले लागुपदार्थ प्रयोगकर्ताविरुद्ध चलाएको कारबाहीका क्रममा हजारौँ नागरिक अन्धाधुन्ध मारिएका थिए । त्यस अभियानमाथि आइसिसीले अनुसन्धान गरिरहेको र आफूले पक्राउमा सघाएको मात्र राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरको कार्यालयले विज्ञप्तिमार्फत बताएको छ । दुतेर्ते मानवताविरुद्ध अपराधको आरोपमा हेगमा लगिएका पहिलो एसियाली नेता बनेका छन् ।
मंगलबार फिलिपिन्सको राजधानी मनिलास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका दुतेर्ते मानवताविरुद्धको अपराधको आरोपमा हेगमा मुद्दा चलाइएका पहिलो एसियाली नेता हुन् ।
मंगलबार दुतेर्तेलाई बिना पूर्व सूचना गिरफ्तारीमा गर्दा विमानस्थलमा केही समय हंगामा मच्चिन पुगेको थियो । दुतेर्तेको पक्राउपछि लागुऔषध प्रयोगकर्ताविरुद्ध चालिएको रक्तपातपूर्ण अभियानका पीडितका परिवार भने खुसी भएका छन् । ‘हामीले न्यायका लागि लामो समयदेखि प्रतीक्षा गरिरहेका थियौँ । हामीले थोरै भए पनि न्याय पाएको महसुस गरेका छौँ,’ मनिला महानगरमा सन् २०१७ अगस्टमा लागुऔषधविरोधी कारबाहीका क्रममा प्रहरीबाट मारिएका एक किशोरका काका र्याहन्डी डेलोस सान्तोसले भने ।
सन् २०११ नोभेम्बर १ देखि सन् २०१९ मार्च १६ सम्म दुतेर्ते देशको दक्षिणी भेगमा अवस्थिति दावाओका सहरका मेयर रहँदा भएका हत्याको समेत आइसिसीले अनुसन्धान सुरु गरेको थियो । दुतेर्तेले आइसिसीको कारबाहीबाट बच्ने हिसाबले सन् २०१९ मा देशलाई रोम विधानबाट बाहिर निकालेका थिए । तर पनि उनी आईसीसीको अनुसन्धानबाट बच्न सकेनन् ।
दुतेर्तेविरुद्धको कदममा वर्तमान उपराष्ट्रपति सारा दुतेर्ते र राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरबीच बढ्दो तनावलाइ जिम्मेबार ठानिएको छ । सारा रोदि«गोकी छोरी हुन् । फिलिपिन्सका सर्वोच्च दुई पदाधिकारबीच विवाद बढ्दै जादाँ सारा दुतेर्तेले पछिल्लो समय आफूलाई केही भए मार्कोस जुनियरलाई मार्न मान्छे खटाईसकेको बताएकी थिइन् । जुनियर पक्षधर सांसदले संसदमा साराविरुद्ध महाअभियोग ल्याएका छन् ।
दुतेर्ते प्रशासनले सन् २०२१ को अन्त्यमा फिलिपिन्समा लागुऔषध प्रयोगकर्ताविरुद्ध चलाइएको कारबाही आइसिसीको क्षेत्राधिकार नभएको तर्क गरेको थियो । आइसिसीको अपिलमा न्यायाधीशहरूले सन् २०२३ मा अनुसन्धान पुनः सुरु गर्न सकिने फैसला गरेको थियो । अधिकारवादी समूहहरूका अनुसार दुतेर्तेको शासनमा चलेको अभियानका क्रममा झन्डै तीस हजार विपन्न पुरुषको अन्धाधुन्ध हत्या भएको थियो । यसबिच, दुतेर्तेलाई मनिला फर्काउने पर्ने माग गर्दै बुधबार फिलिपिन्सको सर्वोच्च अदालतमा मुद्दा परेको छ । बुधबार बिहान उनका वकिलले कान्छी छोरी भेरोनिकाका तर्फबाट सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सरकारले दुतेर्तेलाई ‘अपहरण’ गरेको आरोप लगाउँदै उनले फिर्ता ल्याउन माग गरे ।
त्यस्तै दुतेर्तेकी जेठी छोरी तथा वर्तमान उपराष्ट्रपति सारा दुतेर्ते पनि पिताको मुद्दा सघाउन हेग उडेको फिलिपिनी मिडियाले लेखेका छन् । साराले हेगमा आफ्ना पिताको तर्फबाट वकालत गर्न वकिलहरूको समूह मिलाउने बताइएको छ । उता वर्तमान राष्ट्रपति मार्कोस जुनियरकी प्रेस अधिकृत क्लेयर क्यास्ट्रोले इन्टरपोललाई सहयोग गर्नु सरकारको जिम्मेवारी र विशेषाधिकार भएको बताइन् । ‘मानवताविरुद्धको अपराध गरेको आरोप लागेको व्यक्तिलाई बुझाइएको हो,’ उनले भनिन् । नेदरल्यान्ड्सको हेगमा रहेको आइसिसीले नरसंहार, युद्ध अपराध र मानवताविरुद्धको अपराधलगायत अत्यन्त जघन्य अन्तर्राष्ट्रिय अपराधमा संदिग्धहरूलाई मुद्दा चलाउन देशहरू अनिच्छुक वा असमर्थ हुँदा कदम चाल्न सक्छ । सन् २०२२ मा दुतेर्तेपछि राष्ट्रपति बनेका फर्डिनान्ड मार्कोस जुनियरले आइसिसीले रेड नोटिसमार्फत दुतेर्तेलाई हिरासतमा लिन आग्रह गरे सहयोग गर्ने बताउँदै आएका छन् ।