
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पन्चेहरूले सामान्य शक्ति प्रदर्शन गरेकै भरमा राजतन्त्र ल्याउन नसक्ने बताएका छन्। आज बुधबार नेपाल पत्रकार महासंघ नवलपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन्।
उनले आफूसँग सेना, प्रहरी, प्रशासन हुँदा पनि राजतन्त्र बचाउन नसकेकाहरूले अहिले राजतन्त्र ल्याउँछु भन्नु सपना मात्रै भएको टिप्पणी गरे। मुख्यमन्त्री पाण्डेले राजतन्त्रको वेला नेपाली जनताले कहिल्यै सुखको श्वास फेर्न नपाएकाे उल्लेख गर्दै नेपाली जनताले कहिल्यै पनि राजतन्त्रको पक्षमा वकालत नगर्ने बताए।
अहिले लोकतान्त्रिक व्यवस्था भएकाले जसले जे नारा लगाए पनि छुट भएकाले यस्ता र्याली सामान्य भएको उनको भनाइ थियो। पाण्डेले गणतन्त्र स्थापनाका वेला गणतन्त्रका पक्षमा नारा लगाएकैहरू अहिले राजाको पक्षमा वकालत गरिरहेकाे टिप्पणी गरे।
यसैबिच, पत्रकार महासंघ नवलपुरका अध्यक्ष श्रीराम सिग्देलले महासंघको भवन निर्माणका लागि बजेट विनियोजन गर्न मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो। ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशका ११ वटै जिल्लामा पत्रकार महासंघको भवन बनाउने गरी सरकार लागेकाले नवलपुरमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
मुख्यमन्त्री पाण्डेले आज नै मध्यविन्दु प्रादेशिक अस्पताल डन्डा कावासोतीको नयाँ भवन पनि उद्घाटन गरेका थिए।