
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको जित देखिने गरी युद्धविराम गराउन बाध्य पार्ने छन् भन्ने चिन्तामा रहेका अमेरिकी सहयोगी युरोपेली मुलुकका नेताले अमेरिकी र युक्रेनी नेताहरूबिचको चर्काचर्की सञ्चारमाध्यममा आएसँगै जेलेन्स्की र युक्रेनको समर्थनमा आफ्ना भनाइहरू सार्वजनिक गरेका छन्।
युरोपेली आयोग र युरोपेली काउन्सिलका प्रमुखहरु क्रमशः उर्सुला भोन डेर लेयेन र एन्टोनियो कोस्टाले जेलेन्स्की कहिल्यै एक्लो नभएको टिप्पणी गरेका छन्। ‘बलियो बन्नुस्, साहसी बन्नुस् र निडर बन्नुस्’, भोन डेर लेयन र कोस्टाले सामाजिक सञ्जालमा संयुक्त विज्ञप्ति जारी गर्दै जेलेन्स्कीलाई भने, ‘हामी न्यायपूर्ण र स्थायी शान्तिका लागि तपाइँको साथमा सहकार्य गरिरहनेछौँ।’
यसैबीच, इयूकी शीर्ष कूटनीतिज्ञ काजा कल्लासले युरोपेली शक्ति र वासिङ्टनबीचको ट्रान्स–एटलान्टिक गठबन्धनबारे अमेरिकी नेतृत्वमाथि प्रश्न उठाएकी छिन्। उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘आज, यो स्पष्ट भयो कि यो चुनौतीको सामना गर्नको लागि स्वतन्त्र विश्वलाई नयाँ नेताको खाँचो छ। यसका लागि हामी युरोपेलीहरू के गर्छौँ यसमा निर्भर रहनेछ।’
वार्ता अवरूद्ध भएसँगै युक्रेनको समर्थनमा पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले जेलेन्स्कीलाई संकेत गर्दै भने, ‘तपाईं एक्लो हुनुहुन्न।’ बेलायती प्रधानमन्त्री केइर स्टार्मरले ट्रम्प र जेलेन्स्की दुवैसँग फोनमा कुरा भएको र किभलाई ‘अटुट समर्थन’ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीले संयुक्त राज्य अमेरिका, युरोप र युक्रेनका सहयोगीहरूबीच ‘अविलम्ब’ शिखर सम्मेलन गर्न आह्वान गरेकी छिन्।फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेन युद्धमा रुस ‘आक्रमणकारी’ भएको टिप्पणी गरेका छन्। उनले भने, ‘आक्रमणकारी रुस हो। युक्रेनलाई सहयोग गर्ने र रुसलाई तीन वर्षअघि नै प्रतिबन्ध लगाउने र त्यसलाई निरन्तरता दिने हाम्रो निर्णय सही थियो।’
जेलेन्स्कीविरुद्ध ट्रम्पले लगाएको आरोपलाई संकेत गर्दै उनले भने, ‘यदि कोही तेस्रो विश्वयुद्धमा खेलिरहेको छ भने त्यो रूसी नेता पुटिन हुन्।’ जर्मनीका सम्भावित चान्सलर फ्रेडरिक मर्जले जेलेन्स्कीलाई समर्थन गर्ने आश्वासन दिएका छन्। ‘हामीले यस भयानक युद्धमा आक्रमणकारी र पीडितलाई कहिल्यै भ्रमित गर्नु हुँदैन,’ मर्जले भने। निवर्तमान चान्सलर ओलाफ स्कोल्जले पनि युक्रेनको समर्थन गरेका छन् भने विदेशमन्त्री एनालेना बेयरबोकले पनि किभको ‘शान्ति र सुरक्षाको खोजी हाम्रो दायित्व हो’ भनेकी छिन्।
यसैबीच, ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुवैका निकटतम साझेदारमध्येका एक हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले शान्तिका लागि बहादुरीका साथ उभिएको भन्दै धन्यवाद दिए। ओर्बानले एक्समा लेखेका छन्, ‘शक्तिशाली मानिसले शान्तिको पक्षमा माहोल बनाउँछ, कमजोर मानिसले युद्ध गर्छ।’
इटालियन प्रधानमन्त्री जियोर्जिया मेलोनीले संयुक्त राज्य अमेरिका, युरोप र तिनका सहयोगीहरूलाई युक्रेन युद्धको विषयमा एकजुट हुन आह्वान गरेकी छिन्। उनले भनिन्, ‘ढिलो नगरी शिखर सम्मेलन आवश्यक छ। युक्रेनबाट सुरु भएको आजको प्रमुख चुनौतीहरूको सामना कसरी गर्ने भन्ने बारेमा हामी स्पष्ट रूपमा कुरा गर्न चाहन्छौँ।’
‘युक्रेनका लागि नेदरल्याण्डको समर्थन अझै कम भएको छैन’, प्रधानमन्त्री डिक स्कूफले एक्समा भने, ‘विशेष गरी अहिले हामी स्थायी शान्ति चाहन्छौं र रूसले सुरु गरेको आक्रमणको अन्त्य चाहन्छौँ।’
किभ कट्टर सहयोगी पोल्याण्डले विवादपछि युक्रेनीहरूलाई आश्वस्त पार्न कदम चालेको थियो। पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले जेलेन्स्कीलाई सम्बोधन गर्दै भने, ‘प्रिय युक्रेनी मित्रहरु, तपाईं एक्लो हुनुहुन्न।’
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले युद्धग्रस्त युक्रेनको पक्षमा आफ्नो देश उभिने बताएका छन्। ‘युक्रेनी मित्रहरू, स्पेन तपाईंहरूको साथमा उभिएको छ,’ सन् २०२२ मा रुसले गरेको आक्रमणपछि युक्रेनका कट्टर समर्थक सान्चेजले एक्समा लेखेका छन्।