
प्रविधिगत उपलब्धिको वास्तविक मूल्य आफूलाई सर्वशक्तिमान् ठान्नमा होइन, बरु सम्पूर्ण मानवजातिको प्रगतिलाई अघि बढाउनमा निहित छ
चीनको प्रविधि विश्वव्यापीकरण हुने क्रममा हालै दुई महत्वपूर्ण विकास भएका छन् । पहिलो दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्सले चीनको याङत्जे मेमोरी टेक्नोलोजिज (वाइएमटिसी) सँग एक पेटेन्ट लाइसेन्स सम्झौता गरेको छ, जसअनुसार स्यामसुङले वाइएमटिसीबाट ‘थ्रिडी न्यान्ड हाइब्रिड बन्डिङ’ प्रविधि पाउनेछ । मेमोरी चिप उद्योगमा अग्रणी मानिने सामसुङले चिनियाँ कम्पनीबाट पेटेन्ट लाइसेन्स प्राप्त गर्नु दुर्लभ हो र यस कदमलाई चीनका ती कम्पनीका लागि ‘महत्वपूर्ण प्रोत्साहन’का रूपमा वर्णन गरिएको छ, जसले लामो समयदेखि स्वतन्त्र अनुसन्धान र विकासमा ध्यान केन्द्रित गर्दै आएका छन् । दोस्रो बेलायतको ब्याट्री निर्माता वाकरिकले चीनको फार इस्ट ब्याट्री (एफइबी) सँग प्रविधि प्रयोग गर्ने सम्झौता गरेको छ । उद्योग विशेषज्ञले युरोपेली ब्याट्री कम्पनीलाई आफ्नो सञ्चालन विस्तार गर्न चिनियाँ पुँजी र विशेषज्ञताको आवश्यकता बढ्ने भविष्यवाणी गरेका छन् ।
यी दुई साझेदारी प्राविधिक प्रयोजनका कारणले महत्वपूर्ण छन् । वाइएमटिसीको स्वामित्वमा रहेको ‘हाइब्रिड बन्डिङ’ प्रविधि सामसुङलाई अर्को जेनेरेसनको भी १० फ्ल्यास मेमोरी चिपको तीव्र रूपमा ठुलो मात्रामा उत्पादन गर्न आवश्यक छ । यसैकारण यो पेटेन्ट लाइसेन्स प्राप्त गर्नु सामसुङका लागि अपरिहार्य विकल्प बनेको छ । अर्कातर्फ बेलायत सरकार समर्थित ब्याट्री स्टार्टअप वाकरिकले ब्रिटिस भोल्ट र स्विडेनको नर्थभोल्टजस्ता प्रमुख कम्पनीका जस्तो असफलता दोहोर्याउनु छैन । त्यसैले उत्पादन लागत घटाउन चीनको परिपक्व प्रविधि आत्मसात् गर्नु वाकरिकको तर्कसंगत निर्णय हो । यी उदाहरणले चिनियाँ कम्पनीले आफ्नो प्रविधिगत नवीनता र खुलापनका माध्यमबाट आफूलाई विश्वव्यापी प्रविधि उद्योगको आपूर्ति शृंखलामा समाहित गरिसकेका छन् र प्रविधि प्रगतिमा एक अविभाज्य हिस्सा बनेका छन् भन्ने देखाउँछ । यसबाहेक यी साझेदारी ‘गुणात्मक प्रभाव’ हुने प्रविधिमा मात्रै सीमित छैन । पछिल्ला वर्षमा चीन र दक्षिण कोरियाबिचको आर्थिक सहकार्य, विशेषतः उच्च–प्रविधि क्षेत्रमा, बाह्य कारक र राजनीतिक दबाबका कारणबाट दिनानुदिन प्रभावित भइरहेको तथ्यलाई अस्वीकार गर्न सकिँदैन । दक्षिण कोरियाका केही मानिसले यस्ता साझेदारीले देशको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकतामा क्षति पुर्याउन सक्छ भन्ने चिन्ता व्यक्त गरेका छन् । वास्तवमा उच्च–प्रविधि क्षेत्रमा हुने प्रतिस्पर्धाले नै सहकार्यको सम्भावना थप ठुलो र फराकिलो बनाउँछ ।
त्यसैगरी चीन–युरोप आर्थिक र प्रविधि सहयोगले पनि अवरोध सामना गरिरहेको छ विशेषतः केही व्यक्तिले चिनियाँ विद्युतीय सवारीसाधनलाई अन्यायपूर्ण रूपमा युरोपका लागि ‘झट्का’ वा ‘खतरा’का रूपमा पनि हेरेका छन् । तर, जब सामसुङले चिनियाँ पेटेन्टको सहयोगबाट प्रविधिगत अवरोध पार गर्छ र वाकरिकले चिनियाँ समाधानमार्फत लागतसम्बन्धी समस्या समाधान गर्छ, तब यी साझेदारीले माथिका दाबीलाई बलियो ढंगले खण्डन गर्छन् । यसबाहेक यी साझेदारीले विश्वव्यापी प्रविधि सहयोगको नयाँ दृष्टिकोणलाई प्रतिबिम्बित पनि गर्छन्, अर्थात् चीनले आफ्नो स्थानीय नवीनतालाई साझा विश्वव्यापी विकास लाभमा रूपान्तरण गर्दै खुला दृष्टिकोण अपनाइरहेको छ । चीनको वैश्विक प्रविधि विस्तार मानव संवेदनशीलतासँग मात्र सीमित नभई यो फराकिलो दृष्टिकोणद्वारा निर्देशित छ । दक्षिणपूर्वी एसियाका डिजिटल भुक्तानी प्रणालीदेखि अफ्रिकाका स्मार्ट कृषि सञ्जालसम्म, ल्याटिन अमेरिकाका अत्याधुनिक बन्दरगाह निर्माणदेखि मध्यपूर्वका फाइभजी पूर्वाधार सञ्जालसम्म, विश्वव्यापी रूपमा फैलिरहेको चिनियाँ प्रविधिले नवप्रवर्तनको एउटा पारिस्थितिकीय प्रणाली निर्माण गर्दै छ र प्रगतिका उपलब्धिलाई विश्वमाझ साझा गरिरहेको छ । यसले समावेशी विश्वव्यापी नवप्रवर्तन र विकास अवसरको एउटा नयाँ बजार सिर्जना गरेको छ । अत्याधुनिक प्रविधिलाई स्थानीय नवीनतासँग एकीकृत गर्दै चिनियाँ उद्यमले न केवल आर्थिक मूल्य सिर्जना गरिरहेका छन्, बरु डिजिटल समावेशीकरण र सामाजिक न्यायलाई पनि अगाडि बढाइरहेका छन् ।
विभिन्न रिपोर्टअनुसार वासिंटनले अझै पनि चीनतर्फ प्रविधि निर्यातमा प्रतिबन्ध कडा गर्न, द्विपक्षीय प्रविधि लगानी सीमित गर्न र जापान तथा नेदरल्यान्ड्सजस्ता देशलाई पनि यस्तै कदम चाल्न दबाब दिने तयारी गरिरहेको छ । यसरी प्रविधिलाई राजनीतीकरण गर्नु प्रविधिगत प्रगतिको प्राकृतिक प्रक्रियासँग विरोधाभास हुन जान्छ र यसले राजनीतिक भाष्य सिर्जना गर्नेबाहेक कुनै पनि सकारात्मक परिणाम उत्पन्न गर्दैन ।
विश्व बौद्धिक सम्पत्ति संगठन (बिपो) को तथ्यांकअनुसार चीनले अन्तर्राष्ट्रिय पेटेन्ट आवेदनमा लगातार पाँच वर्षसम्म विश्वको शीर्ष स्थान हासिल गरेको छ, जसले यसलाई गत दशकमा नवप्रवर्तनका हिसाबले सबैभन्दा तीव्र गतिमा वृद्धि गर्ने देशमध्ये एक बनाएको छ । अनुसन्धान प्रतिवेदनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र क्वान्टम कम्प्युटिङजस्ता अत्याधुनिक क्षेत्रमा प्रकाशित सामग्रीमा चीनको योगदान अहिले विश्वको कुल हिस्सामध्ये ४० प्रतिशतभन्दा बढी पुगेको छ । प्रविधिका क्षेत्रमा अरूलाई जति रोक्ने प्रयास गरिन्छ, आफ्नो विकासको ठाउँ त्यति नै साँघुरो बन्छ भन्ने तथ्यले प्रमाणित गरेको छ । मानव बुद्धि बहुआयामिक छ र कुनै एक मात्र मार्गमा सीमित छैन । कुनै पनि देशसँग सबै प्रश्नको समाधानको एकाधिकार छैन । प्रविधिगत उपलब्धिको वास्तविक मूल्य आफूलाई सर्वशक्तिमान ठान्नमा होइन, बरु सम्पूर्ण मानवजातिको प्रगतिलाई अघि बढाउनमा निहित छ ।
केही मुलुक राष्ट्रिय सुरक्षाका नाममा प्रविधि साझेदारीलाई लत्याउँछन् । तर, वास्तविक राष्ट्रिय सुरक्षा चीनको विश्वव्यापी प्रविधि सफलताको नवप्रवर्तन र विश्वव्यापी आपूर्ति शृंखलाको एकीकरणबाट आउँछ । अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवद्र्धन गर्दै चीनले अवरोध हटाउनु नै साझा नवप्रवर्तन र आपसी सफलताका लागि सही मार्ग हो न कि ‘प्रविधि एकाधिकार’ खोज्नु हो भन्ने देखाउँछ ।
(२७ फेब्रुअरीको ग्लोबल टाइम्सको सम्पादकीय)