मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १६ शुक्रबार
  • Friday, 28 February, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ फाल्गुण १६ शुक्रबार ११:३५:oo
Read Time : > 3 मिनेट
विश्व प्रिन्ट संस्करण

युक्रेनलाई लिएर राष्ट्र संघमा बदलिएको अमेरिकी अडान 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ फाल्गुण १६ शुक्रबार ११:३५:oo

युक्रेनलाई लगातार समर्थन गरेको तीन वर्षपछि संयुक्त राज्य अमेरिकाले आकस्मिक युटर्न लियो र संयुक्त राष्ट्र संघको महासभा (युएनजिए)मा युक्रेनमाथि रुसी हमलाको निन्दा गर्ने प्रस्तावको विरुद्धमा मतदान गर्‍यो । संयुक्त राज्यले सोमबार आफ्नै प्रस्ताव पनि पेस गर्‍यो, जसले द्वन्द्वको लागि रुसलाई स्पष्ट रूपमा दोष नदिने र तटस्थ सर्तमा युद्धको अन्त्यका लागि आह्वान गर्‍यो । यो कदमले अमेरिका र युरोपबिच बढ्दो विभाजनका साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा युक्रेन मामिलामा वासिंटनको नीतिमा आएको परिवर्तनलाई प्रतिबिम्बित गर्छ । आखिर अमेरिकाको नीति परिवर्तनले के अर्थ राख्छ ?

राष्ट्र संघको प्रस्तावमा रुसलाई समर्थन
‘युक्रेनमा व्यापक, न्यायपूर्ण र दिगो शान्तिको विकास’ शीर्षकको प्रस्तावको विपक्षमा मतदान गर्ने १८ देशमध्ये अमेरिका पनि एक थियो । अमेरिकाले विरोध गरेको प्रस्तावले २०२२ देखि चलिरहेको युद्ध सुरु गर्ने किभ नभई मस्को हो भनेर स्पष्ट रूपमा स्वीकार गर्‍यो र युक्रेनको ‘सार्वभौमसत्ता, स्वतन्त्रता, एकता र क्षेत्रीय अखण्डता’प्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्न युएनजिएका सदस्यलाई आह्वान गर्‍यो । यसले सदस्यलाई बलद्वारा वा बलको धम्कीबाट भूमि लिनु गैरकानुनी हो भनेर पुनः पुष्टि गर्न र द्वन्द्वका दुवै पक्षलाई अन्तर्राष्ट्रिय कानुनको पालना गर्न र नागरिकहरू ‘विशेषगरी महिला र बालबालिका’लाई सुरक्षाको आह्वान गर्न आग्रह गर्‍यो । सायद सबैभन्दा महत्वपूर्ण कुरा, यसले रुसलाई युक्रेनबाट तुरुन्तै फिर्ता हुन र युद्ध अन्त्य गर्न माग गरेको थियो । अमेरिकासँगै रुस, उत्तर कोरिया, हंगेरी, इजरायल र मुठीभरका अन्य देशले प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।

रसिया र युक्रेनबिच दिगो शान्तिका लागि आह्वान गर्दै र युद्ध कसले सुरु गर्‍यो भनेर दोष नदिई संयुक्त राष्ट्र संघको महासभामा अमेरिकाले ‘शान्तिको मार्ग’ शीर्षकमा आफ्नै प्रस्ताव प्रस्ताव गर्‍यो । उक्त प्रस्तावमा ‘रुसी संघ र युक्रेनबिचको द्वन्द्वमा भएको दुःखद मृत्युप्रति शोक’ व्यक्त गरिएको छ । 

थप रूपमा प्रस्तावले दोहोर्‍याएको छ कि संयुक्त राष्ट्रको उद्देश्य अन्तर्राष्ट्रिय शान्ति कायम राख्नु र ‘शान्तिपूर्वक विवाद समाधान गर्न’ थियो । तर, मस्कोको पूर्णस्तरीय आक्रमण र युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सन्दर्भ थप्दै फ्रान्सले त्यो मस्यौदामा संशोधन गर्‍यो । उक्त प्रस्तावलाई संयुक्त राष्ट्र संघले पारित गरेको थियो । प्रस्तावको पक्षमा ९३ र विपक्षमा आठ मत खसेको थियो । ७३ सदस्य अनुपस्थित रहे । अमेरिका यस प्रस्तावमा मतदान गर्नबाट अलग रह्यो ।
तर, अमेरिकाले उक्त प्रस्तावको मूल मस्यौदा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् (युएनजिए) मा पुर्‍यायो । बेलायत, फ्रान्स, डेनमार्क, ग्रिस र स्लोभेनिया पाँच देश अनुपस्थितसहित यो प्रस्ताव शून्यका विरुद्ध १० मतले पारित भयो । युएनएससी प्रस्तावहरू कानुनी रूपमा बाध्यकारी हुन्छन् भने युएनजिए प्रस्तावहरू बाध्यकारी नभए पनि प्रतिबिम्बित हुन्छन् र कहिलेकाहीँ विश्वले कसरी द्वन्द्वलाई बुझ्छ भनेर यसले गहिरो प्रभाव पार्छ ।

विगतमा अमेरिकाले गरेकोभन्दा यो कसरी फरक छ ?
युद्ध सुरु भएदेखि संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्र महासभाको छवटा प्रस्तावको पक्षमा मतदान गरेको छ, जुन सोमबार पारित भएका दुई प्रस्तावजस्तै थिए । रुसको भिटोको क्षमताले युएनएससीलाई कमजोर बनाएपछि युएनजिए युक्रेनमा प्रस्तावहरूका लागि महत्वपूर्ण निकाय भएको छ । यहाँ यसअघि पारित भएका युएनजिएका ६ प्रस्तावबारे चर्चा गरिएको छ : 

मार्च ३, २०२२ ः संयुक्त राज्य अमेरिकासहित १४१ देशले फेब्रुअरी २४, २०२२ मा रुसको ‘विशेष सैन्य कारबाही’को घोषणाको निन्दा गर्ने प्रस्तावको पक्षमा मतदान गर्नुका साथै बलद्वारा क्षेत्र अधिग्रहण गैरकानुनी हो भनेर पुनः पुष्टि गरे । प्रस्तावमा रुसले युक्रेनविरुद्धको बल प्रयोग बन्द गर्न र आफ्नो भूभागबाट आफ्ना सेना फिर्ता गर्न माग गरेको थियो । पाँच देशले यसको विपक्षमा मतदान गरे ।

मार्च २४, २०२२ ः संयुक्त राज्य अमेरिका १३९ देशसँग सामेल भयो र एक प्रस्तावको पक्षमा मतदान गर्‍यो, जसले ‘युक्रेनको सार्वभौमिकता, स्वतन्त्रता, एकता र क्षेत्रीय अखण्डता’लाई पुनः पुष्टि गर्‍यो र रुसलाई आफ्ना सेना फिर्ता गर्न आह्वान गर्‍यो ।

अप्रिल २०२२ :  संयुक्त राष्ट्र संघको मानवअधिकार परिषद्मा रुसको सदस्यता निलम्बन गर्ने प्रस्तावको पक्षमा अमेरिकासहित ९३ देशले मतदान गरे ।

अक्टोबर २०२२ :  वासिंटनले युक्रेनी भूभागको रुसी विलयको निन्दा गर्दै १४३ ले जितेको युएनजिए प्रस्तावलाई समर्थन गर्‍यो ।

नोभेम्बर २०२२ :  अमेरिकाले युक्रेनलाई क्षतिपूर्ति तिर्न रुसलाई आह्वान गर्दै ९४ देशले युएनजिए प्रस्तावको पक्षमा मतदान गर्‍यो । प्रस्तावमा रुसलाई बल प्रयोग बन्द गर्न र सेना फिर्ताको आह्वान गर्‍यो, प्रस्तावको विपक्षमा १४ मत परेको थियो ।

फेब्रुअरी २३, २०२३ ः बल प्रयोग गरी क्षेत्रीय अधिग्रहणलाई गैरकानुनी भनिएको र रुसलाई युक्रेनबाट आफ्ना सेना फिर्ता गर्न आग्रह गर्ने प्रस्ताव पारित भयो । वासिंटनले यो प्रस्तावको पक्षमा मतदान गर्‍यो ।

युक्रेनमा रुसको युद्धमा केन्द्रित युएनएससी प्रस्ताव मात्र पारित भएको छ । यो फेब्रुअरी २७, २०२२ मा युक्रेन मामिलामा महासभामा एक आपत्कालीन विशेष सत्र आह्वानका लागि भएको थियो ।

अमेरिकाले यसको पक्षमा मतदान गर्‍यो र एक दिनपछि आपत्कालीन विशेष सत्रको बैठक बस्यो । अक्टोबर २०२२ मा संयुक्त राज्यले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को मस्यौदा प्रस्तावलाई सह–प्रायोजन गर्‍यो, जसमा रुसले बिलय गराएको युक्रेनी क्षेत्रमा आयोजित ‘अवैध जनमत संग्रह’को निन्दा गरियो । उसले युक्रेनबाट आफ्ना सेना फिर्ता गर्न रुसलाई पनि आग्रह गरेको छ । रुसले भिटो गरेपछि यो प्रस्ताव असफल भयो ।

युद्धको दिगो अन्त्य चाहेको दाबी
संयुक्त राष्ट्र संघका लागि अमेरिकी उपराजदूत डोरोथी सियाले विगतमा रुसलाई आफ्ना सेना फिर्ता गर्न आह्वान गर्ने संघका धेरै प्रस्ताव ‘युद्ध रोक्न असफल भएको’ बताएकी छन् । मतदानअघि सियाले युद्ध ‘धेरै लामो समयसम्म तानिएको’ र यसले रुस र युक्रेन दुवैलाई हानि पुर्‍याएको बताइन् । 

‘युद्धको दिगो अन्त्य गर्न संयुक्त राष्ट्रका सबै सदस्य राष्ट्रको प्रतिबद्धतालाई अंकित गर्ने प्रस्ताव हामीलाई चाहिन्छ,’ सियाले मतदानअघि भनिन् । उनले यो पहिलो चरण भएको र त्यसले सरोकारवालालाई ‘शान्तिको बाटोमा राख्ने’ बताइन् । यो पूर्वराष्ट्रपति जो बाइडेनको नेतृत्वमा संयुक्त राष्ट्रका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले गरेको टिप्पणीविपरीत हो ।

‘हरेक दिन, युक्रेनी परिवार रुसी युद्ध अपराधको डरमा बाँचिरहेका छन् । र, हरेक रात युक्रेनी परिवार रुसी हवाई आक्रमणको डरमा बाँचिरहेका छन्, जसले देशलाई निरन्तर त्राहिमाम बनाएको छ,’ थोमस–ग्रिनफिल्डले नोभेम्बर २०२४ मा युएनएससीको एक ब्रिफिङमा भने । ‘यो स्पष्ट छ कि रुसले युक्रेनी जीवनको कुनै वास्ता गर्दैन । तर, यो पनि स्पष्ट छ कि रसियालाई रुसी जीवनको कुनै वास्ता छैन,’ उनले थपे ।

– अलजजिराबाट