मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ५ सोमबार
  • Wednesday, 12 March, 2025
२o८१ फाल्गुण ५ सोमबार o८:४१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दायाँबायाँ हतियारधारी राखेर सांसद अब्दुल  खानले खिचाए फोटो 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण ५ सोमबार o८:४१:oo

जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष एवं सांसद अब्दुल खानले दायाँबायाँ हतियारधारी राखेर फोटो खिचाएका छन् । पूर्वमन्त्रीसमेत रहेका खान गौर आएका वेला जनमत पार्टीका रौतहट जिल्ला इन्चार्ज शेख जमसेदसहितको समूहले हतियार प्रदर्शन गरेको फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको हो । सांसद खान शुक्रबार जिल्ला इन्चार्ज शेख जमसेदको घरमा पुगेका थिए । सोही वेला खिचिएको तस्बिर र भिडियो जमसेदले शनिबार सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेका थिए । बन्दुकसहित खिचिएको फोटो र भिडियोबारे आलोचना हुन थालेपछि जनमत पार्टी रौतहटका इन्चार्जसमेत रहेका शेख जमसेदले शनिबार साँझ फेसबुकबाट डिलिट गरेका थिए ।

खान गौर नगरपालिकाको सबगढास्थित जमसेदको घरमा शुक्रबार भेटघाट गर्न पुगेका थिए । भेटका क्रममा उनीहरूले दुईजना व्यक्तिलाई बन्दुक भिर्न लगाएर आफूहरू सोफामा बसेर फोटो खिचाएका थिए । उपाध्यक्ष र जिल्ला इन्चार्ज गाउँमा डुल्दा पनि दुवैजनालाई हतियार बोकाएर साथै हिँडाएका थिए । जमसेदले भेटघाट, डुलाएको फोटो र भिडियो फेसबुकमा राखेका थिए । खुलेआम हतियार प्रदर्शन गरेको भनेर आलोचना भएपछि उनले फोटो र भिडियो फेसबुकबाट हटाएको स्वीकार गरेका छन् ।

जमसेदले आफ्नो घरमा रहेको इजाजतप्राप्त हतियार सफा गरिरहेका वेला उपाध्यक्ष आएको र कार्यकर्ताले फोटो खिचौँ भनेर खिचेको फोटो आफूले फेसबुकमा राखेको बताए । जिल्ला प्रहरी कार्यालय रौतहटले सामाजिक सञ्जालमा हतियार प्रदर्शन गरेको विषयमा जनमत पार्टीका जिल्ला इन्चार्ज शेष जमसेदसँग सोधपुछसमेत गरेको जनएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी दीपककुमार राय यादवले लाइसेन्सप्राप्त हतियार भएकाले सोधपुछपछि छाडेको बताएका छन् । ‘सामाजिक सञ्जालमा देखिएको बन्दुकहरूको इजाजतपत्र भएको देखियो । इजाजतप्राप्त हतियार व्यक्तिले घरमा राख्न पाइने व्यवस्था रहेकाले जमसेदलाई सोधपुछपछि छाडेका हौँ,’ डिएसपी यादवले भने ।

जमसेदले शुक्रबार घरमा बन्दुक सफा गर्ने वेला तस्बिर खिचिएको दाबी गरेका छन् । तर, सामाजिक सञ्जालमा फोटो र भिडियो राख्नु आफ्नो भूल भएको उनको भनाइ छ । ‘दुवै बन्दुक इजाजतप्राप्त हुन्, तर सामाजिक सञ्जालमा राख्नु भूल भयो, मैले सो पोस्ट हटाइसकेको छु,’ उनले भने । जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष अब्दुल खानसँग बुझ्न पटक–पटक सम्पर्क गर्न खोज्दा उनको फोन उठेन ।