
प्रधानमन्त्री केपी ओलीले अर्थतन्त्रमा सुस्तता एकैदिनमा नआएको भन्दै सुधार हुन पनि समय लाग्ने बताएका छन्। आइतबार प्रतिनिधिसभामा माओवादी केन्द्रका सांसद वर्षमान पुन अनन्तको प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन्।
पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले अर्थतन्त्रमा शिथिलता आएको र जनताको चुलोमा महँगीको मार परेको भन्दै यसतर्फ सरकारको योजनाबारे प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए।
जवाफमा प्रधानमन्त्रीले भने, ‘देशको अर्थतन्त्रबारे चिन्ता गर्नुभएकोमा यसअघिका अर्थमन्त्रीसमेत रहनुभएका प्रश्नकर्ता माननीयलाई धन्यवाद। सात महिनाअगाडि तपाईं आफैँ अर्थमन्त्री हुनुहुन्थ्यो। त्यस समयभन्दा अगाडि र त्यसयताको मूल्य वृद्धिको अनुपात हेर्न म उहाँलाई अनुरोध गर्दछु। हामीले अब आँकडामा प्रश्नोत्तर गर्ने, त्यसको तुलना गर्ने बानी बसाल्नुपर्छ।’
पुँजीगत खर्च कम रहेको स्वीकार गर्दै प्रधानमन्त्रीले पुन अर्थमन्त्री भएको अवधिको तुलनामा भने बढी रहेको बताए। उनले भने, ‘हाम्रो अर्थतन्त्रमा सुस्तता एकैदिनमा आएको होइन र सुस्तता एकैदिनमा हट्ने पनि होइन। हामी सरकारमा आएपछि अर्थतन्त्र सुधारका लागि गम्भीर रूपमा काम गरिरहेका छौँ र सुधारका केही नतिजाहरू पनि देखिएका छन्।’
सरकार कानुनमा भएका अप्ठ्याराहरूलाई हटाएर अर्थतन्त्र सुधार्ने, लगानीको वातावरण बनाउने र उत्पादन बढाउने काममा लागेको प्रधानमन्त्रीको भनाइ छ।