
जनयुद्धले उठाएका कैयौँ मुद्दा, समृद्धि, सुशासन र सामाजिक न्यायको आन्दोलन अझै बाँकी नै छ
माओवादी जनयुद्ध नेपालको वर्गीय, जातीय, लिंगीय र क्षेत्रीय उत्पीडनविरुद्धको मौलिक आन्दोलन हो । जनयुद्ध नेपालको राजनीतिक आन्दोलनको मुद्दा मात्र नभई संयुक्त राष्ट्र संघ (अनमिन) को मध्यस्थताका कारण अन्तर्राष्ट्रिय राजनीतिक मुद्दा पनि बन्न पुग्यो । नेपाली समाज उच्च र नीचमा विभाजित थियो । वर्गीय, जातीय, महिला र दलितमाथि उत्पीडन थियो । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको हालत अत्यन्तै नाजुक थियो ।
सामाजिक विभेद, जाँडरक्सी सेवन, जुवातास, महिला बेचबिखन, हरवाचरवा, बिर्ता, गुठीलगायत अनेकौँ समस्या थिए । घाटा–व्यापार, भ्रष्टाचार, तस्करी, कालाबजारीको बिगबिगी थियो, त्यसको अन्त्य गर्न जनयुद्धले समग्र युद्धको भूमिका निर्वाह गर्यो । जनयुद्ध आमनेपालीको रगत–पसिनाको योगदानका कारण माओवादीको मात्र नभई नेपालको परिवर्तनको आन्दोलन बन्न पुग्यो । यसले नेपाली समाजमा ठुलो चेतना जगाएको छ ।
नेपालका सबै राजनीतिक दललाई ‘नयाँ’ बन्न प्रेरित गरेको छ । जनयुद्धले उठाएका कैयौँ मुद्दा, समृद्धि, सुशासन र सामाजिक न्यायको आन्दोलन बाँकी नै छ । आज जनताले यो अभिभारा शान्तिपूर्ण ढंगले पूरा गर्न सक्ने वातावरण जनयुद्धले निर्माण गरेको छ । तत्कालीन जनयुद्ध एउटा उत्पीडनविरुद्धको सामुदायिक प्रतिबद्धता थियो । सामन्तवादलाई फाल्न र विस्तारवादी/साम्राज्यवादी हस्तक्षेप कम गर्न मात्र होइन, जातजाति र भाषाभाषीको आन्तरिक र बाह्य राष्ट्रियता मजबुत बनाउन, सामाजिक विकृति, विसंगति अन्त्य गर्न मात्र होइन, सामाजिक न्याय र समृद्धिको पक्षमा जनयुद्धले सामूहिक प्रतिबद्धताको आधार तयार गर्न सकेको थियो ।
तर, शान्ति प्रक्रिया, संविधानसभा, संघीयतामार्फत तल्लो वर्गका थुप्रै अधिकार सुनिश्चित भए पनि जुन शासकीय स्वरूपलाई प्रयोग गरियो, त्यो सामूहिक स्वरूप बन्न सकेन, त्यो मात्र संसदीय भद्दा खेलमा परिणत भई जनयुद्धको सामूहिकता नराम्रोसँग भत्किन पुग्यो । चुनावी प्रक्रिया प्रजातान्त्रिक हुँदाहुँदै पनि खर्चिलो, भड्किलो र भोट किनबेचको अवस्थाबाट दलाल पुँजीपतिको हातमा सत्ता पुग्ने अवस्था सिर्जना भयो । जसले माओवादीभित्र पनि निजीकरण, वर्गउत्थान र दलाल पुँजीवादको बीजारोपण गर्यो । त्यसैले, जनताको आन्दोलनलाई फेरि पुनर्संरचना गर्नुपर्ने अवस्था देखियो । वर्गीय समाजलाई मानव समाजमा कसरी बदल्ने ? बुर्जुवा चुनावलाई जनताको चुनाव कसरी बनाउने ?
शासकीय स्वरूपलाई कसरी सामुदायिक स्वरूपमा बदल्ने ? जनताको सहभागिता कसरी सुनिश्चित गर्ने ? व्यवस्थासँगै जनताको अवस्था कसरी बदल्ने ? यी साना तर अति महत्वपूर्ण विषयलाई कसरी जनताको बनाउने ? आज यो बहसलाई जनताको पक्षमा सोझ्याउन नसक्ने हो भने राजनीतिक अस्थिरता कायमै रहन्छ, विदेशीको चलखेल बढ्छ, सस्तो लोकप्रियता र नकारात्मक चेत हाबी हुँदा जनता निरास र रुष्ट हुन पुग्छन् ।
हेर्दाहेर्दै देश असफलताको खाडलमा पर्छ । यो जोखिमबाट देशलाई बचाउन जनतालाई आशावादी बनाउँदै सशक्त राजनीतिमा ल्याउने, सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा निरन्तर सामूहिक हस्तक्षेप बढाउन वैज्ञानिक समाजवादको आन्दोलनलाई फेरि नयाँ ढंगले उठाउनुपर्छ । आत्मालोचनासहित नयाँ ढंगको पार्टी निर्माण गर्दै त्याग, तपस्या, बलिदानले मात्र सुशासन, भ्रष्टाचाररहित समृद्ध र सामाजिक न्यायसहितको समाजवादी नेपाल बनाउन सकिन्छ । माओवादी जनयुद्ध परम्परागत जनयुद्ध होइन ।
यो स्वतन्त्रता, समानता र भ्रातृत्वलाई नयाँ ढंगले स्थापित गर्ने पूर्ण प्रजातन्त्र, समृद्धि र सामूहिक तथा व्यक्तिगत खुसीको खोजी गर्ने आन्दोलन हो । वर्गीय समाजमा वर्ग रहेसम्म जनयुद्ध विभिन्न रूपमा अभिव्यक्त भइरहन्छ । कहिले चुनाव, कहिले सरकार, कहिले सुशासन र भ्रष्टाचारविरुद्ध, कहिले सामाजिक न्याय, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिक, धर्मनिरपेक्षता रक्षाका लागि निरन्तर लड्न र समाजवादी आन्दोलनको जनयुद्ध भिन्न रूपमा जारी नै छ । सबैखाले उत्पीडनविरुद्ध तल्लो वर्ग र आमजनताको हस्तक्षेप नै साँचो अर्थमा जनयुद्ध हो ।
इतिहासमा भीमदत्त पन्तको विद्रोह, तराईका किसान आन्दोलन, धादिङको खनियाँबासका तामाङ विद्रोह, मोहनविक्रम सिंह, मदन भण्डारी, पुष्पलाल आदिले गरेका आन्दोलन, कांग्रेसले गरेको सशस्त्र युद्ध र एमालेले गरेको झापा विद्रोह, ०३६ को आन्दोलन, सत्याग्रह, रामराजा सिंहको बम काण्ड, ०४६ को संयुक्त जनआन्दोलन सबै जनयुद्धकै भिन्न रूप थिए । जनयुद्ध भनेको जनताको हस्तक्षेप, आन्दोलन र खबरदारी हो । जनयुद्ध जनताको पक्षमा, जनताका लागि जनताले गर्ने सबै प्रकारको उत्पीडनविरुद्धको विद्रोह हो । त्यसैले आज शासकहरू जनयुद्धदेखि मात्र होइन, ‘जनयुद्ध’ शब्दसँग समेत डराइरहेका छन् ।
१ फागुन ०५२ देखि सुरु भएको जनयुद्ध एउटा खेल थिएन । जनयुद्ध एउटा कविता पनि होइन, न जनयुद्ध चित्रकारिता नै हो । जनयुद्ध त बादशाहलाई घोडाबाट खसाल्ने जनताको सचेत हस्तक्षेप थियो । जनयुद्ध इतिहासको रहर थिएन, बाध्यता थियो । स्मरण रहोस्, तत्कालीन अवस्थामा राष्ट्रियता, जनतन्त्र, जनजीविकालगायत सवालमा भएको शान्तिपूर्ण आन्दोलनका क्रममा सयौँको गिरफ्तारी र दर्जनौँको हत्या भएको थियो । ‘किलो सेरा टु’, ‘रोमियो’लगायत अप्रेसन चलाएर जनताको शान्तिपूर्ण आन्दोलनमाथि हस्तक्षेप भयो, त्यसले जनयुद्ध जन्मायो तर माओवादीले शान्तिपूर्ण आन्दोलनको विकल्पलाई खुल्ला नै राख्यो । पटक–पटक एकल युद्धविराम र शान्तिका लागि वार्ताको सचेत पहल गर्यो ।
माओवादीले कहिल्यै युद्ध अपराध गरेन, जनयुद्धका क्रममा केही गम्भीर कमजोरी हुँदा कमजोरी गर्नेलाई तत्काल कारबाही गर्ने र जनतासँग आत्मआलोचित हुँदै, माफी माग्दै, सच्चिँदै अगाडि बढ्यो । तर, तत्कालीन शासकले जनतालाई आतंककारीका नाममा पाँच हजारभन्दा बढी बेपत्ता बनायो, ती मानिस आज कहाँ छन् ? घरघरमा लुटपाट, आगजनी, चेलीबेटीलाई बलात्कार गरेर १७ हजारको निर्मम हत्या गरियो । तत्कालीन राज्य पक्षबाट टाउकाको मूल्य तोकेर झोलामा टाउको ल्याऊ, बदलामा पैसा दिन्छु भनेर गरेको शृंखलाबद्ध हत्या कसैले भुलेको छैन ।
इतिहास उल्ट्याउने कोसिस कसैले नगरौँ यदि शासकहरू नबदलिने हो भने जनता फेरि जनविद्रोह गर्न बाध्य हुनेछन् । त्यसैले, परिवर्तनलाई सम्मान र संस्थागत गरौँ, सबै मिलेर देश बनाऔँ । देशको प्राकृतिक स्रोत–साधन मूलतः पानी र युरेनियमको रक्षा र त्यसको सही सदुपयोग गरौँ । स्थिर र बलियो सरकार बनाउन राष्ट्रिय सहमति कायम गरी संविधान संशोधन गरौँ, नत्र सबैलाई हेक्का रहोस्– मानव समाजमा जबसम्म वर्गको अन्त्य हुँदैन र स्वतन्त्रता, समानता तथा भ्रातृत्व रहँदैन तबसम्म जनयुद्ध यो वा त्यो रूपले जारी नै रहन्छ ।
आजको विश्व परिस्थितिमा समाजवाद : विज्ञान र मानव समाजको विकासक्रमलाई हेर्दा बाफबाट चल्ने इन्जिनको विकास युरोपमा भएपछि उत्पादन, शक्ति र स्रोतको केन्द्र एसियाबाट युरोपतिर सर्यो । अठारौँ शताब्दीदेखि उन्नाइसौँ शताब्दीको मध्यसम्मको अवधिलाई पहिलो औद्योगिक क्रान्तिको युग भनिन्छ । विद्युत्को आविष्कारपछि उन्नाइसौँ शताब्दीको मध्यदेखि बीसौँ शताब्दीको मध्यसम्मको अवधिलाई दोस्रो औद्योगिक क्रान्तिको युग भनिन्छ । पहिलो र दोस्रो विश्वयुद्धले युरोपलाई निकै कमजोर मात्र बनाएन, उत्पादन, शक्ति र स्रोतको केन्द्र युरोपबाट अमेरिकातिर सर्यो । बीसौँ शताब्दीको मध्यदेखि अन्त्यसम्मको विज्ञान, प्रविधि र डिजिटल युगलाई तेस्रो औद्योगिक क्रान्तिको युग भनिन्छ ।
यस अवधिमा विश्व शीतयुद्धको संकटबाट गुज्रियो । अमेरिकाले गरेको शक्ति सञ्चय र सन् १९९१ मा सोभियत संघको विघटनसँगै समाजवादी ध्रुव ढलेको र पुँजीवादी ध्रुव अजेय एवं निर्विकल्प रहेको घोषणा मात्र गरिएन, समाजवाद अर्थात् मार्क्सवादकै अन्त्य भएको प्रचारसमेत गरियो । एकाइसौँ शताब्दीको सुरुदेखि हालसम्म साइबरनेटिक, डिजिटल, नानो टेक्नोलोजी, जेनोम र कृत्रिम बौद्धिकता (एआई) को ‘एकीकृत सूचना प्रविधिको युगलाई’ चौथो औद्योगिक क्रान्तिको युग भनिन्छ । यसले मान्छेको दिमागमा उथलपुथल ल्याइदिएको छ । चेतनाले प्रविधिमा र प्रविधिले मान्छेको श्रममा सरलता ल्याएको छ । उत्पादक शक्तिमा फेरबदल ल्याइदिएको छ । वर्ग संरचना, स्वरूप र चेतनामा फेरबदल हुँदा विश्वको पुनर्संरचनाको प्रश्न आज नयाँ ढंगबाट उठिरहेको छ ।
युक्रेन–रुस युद्धले रुस र चीनको सहकार्य मात्र बढाएन, भारतको तटस्थताले ठुलो प्रश्न खडा गरिदियो । मध्यपूर्वमा चलिरहेको युद्ध, नेटो र ब्रिक्सको द्वन्द्व, व्यापार युद्धको नाममा भएको नाकाबन्दी र विभिन्न सर्त, युद्ध सामग्री उत्पादन र त्यसको परीक्षणका नाममा भएको प्रतिस्पर्धा र नक्षत्र कब्जा गर्ने होडबाजी, बिआरआई र एमसिसीका नाममा हिन्द–प्रशान्त क्षेत्रमाथि हस्तक्षेप गर्ने होडबाजी, कोराना महामारी नियन्त्रणमा समाजवादी देशमा भएको सफलता र पुँजीवादी देश असफल हुँदा भएको ठुलो मानवीय क्षतिले आज नयाँ ढंगबाट विश्व पुँजीवादको विकल्पको बहस चलिरहेको छ ।
आर्थिक रूपमा पश्चिमको पतन तथा पूर्व र दक्षिणको उदय हुँदै छ । भूगोल र जनसंख्या दुवै हिसाबले महाशक्तिका रूपमा रहेको एसिया उत्पादन, शक्ति र स्रोत तथा शीतयुद्धको पनि केन्द्र बन्दै गएको छ । विश्वभरि फेरि नयाँ ढंगबाट क्रान्तिकारी आन्दोलन पुनर्संगठित हुँदै जानु, अन्तर–साम्राज्यवादी अन्तरविरोधले एकध्रुवीय विश्व व्यवस्था विघटन र बहुध्रुव बन्दै जानु, वर्गीय खाडल तीव्र भएको पुँजीवादमा समुदाय, निजी क्षेत्र र राज्यको लडाइँ पनि तीव्र हुनु, निजी क्षेत्र र राज्य बलिया भए पनि समुदाय कमजोर हुँदा स्वतन्त्रता, समानता र भ्रातृत्वको अन्त्य हुनु भनेको पुँजीवाद पूर्ण असफल हुनु हो ।
आज पुँजीवादको विकल्प ‘नयाँ वैज्ञानिक समाजवाद’ बन्दै गएको छ । समुदायलाई बलियो बनाउने ‘म र हामी’ अर्थात् ‘निजी सम्पत्ति र सामूहिक सम्पत्ति’ समायोजन गर्दै समाजवादको नयाँ र उन्नत विकल्पको प्रतिस्पर्धा गर्ने व्यावहारिक बाटो नै आजको वैज्ञानिक समाजवादमा जाने बाटो हो । समाजवाद नै मानव सभ्यताको मूल विषय हो ।
सबै दुःख, उत्पीडनको अन्त्य, विज्ञान र पर्यावरणमैत्री समाजले स्वतन्त्रता, समानता र भ्रातृत्वभाव जन्माउँछ, जसले विश्वको एकतालाई मजबुत बनाउँदै मानवीय खुसी पैदा गर्छ । समाजवादको भूमण्डलीकरणले मानवजातिको अन्तरिक्ष र त्योभन्दा परको न्यायोचित प्रवेशमा तीव्रता आउनेछ । मान्छेले वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा विश्वलाई एकताबद्ध गर्न सक्यो भने मानवजाति थप विकसित र रूपान्तरित मात्र हुँदैन, यो सौर्यमण्डलको अन्त्य हुँदा पनि अर्को सौर्यमण्डलमा उसको बस्ती बसिसकेको हुनेछ । मार्क्सले भनेझैँ साम्यवाद भनेको स्वतन्त्रता, समानता र भ्रातृत्वसहितको मानव समाज हो ।
त्यहाँ देश र विश्व रहन्छ, शोषण, शासन र सिमाना रहँदैन, त्यहाँ व्यक्ति र सामुदायिक अनुशासन रहन्छ कानुन रहँदैन, त्यहाँ मानव समाज रहन्छ वर्ग रहँदैन, त्यहाँ पर्यावरण रहन्छ, जीवजन्तु रहन्छन्, त्यहाँ उत्पादन, गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य, सुरक्षा, अनुशासन, मनोरञ्जन, सेवा र खुसी नियमित जीवनशैली बनेको हुन्छ । यस्तो खालको मानव समाज निर्माण गर्न, सबै खाले अन्याय पूर्ण युद्ध अन्त्य गर्न गरिएको जनताको हस्तक्षेप नै जनयुद्ध हो ।
नेपालका सन्दर्भमा जनयुद्धको लक्ष्य संघीय लोकतान्त्रिक गणतन्त्र मात्र होइन, यो त विश्वकै सन्दर्भमा वैज्ञानिक समाजवादभन्दा पनि परसम्मको प्रश्न हो । त्यसैले जनयुद्ध नेपालमा मात्र होइन, अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापान, चीनलगायत विश्वभरि नै फरक रूपमा जारी छ । जबसम्म विश्वमा वर्गीय समाजको अन्त्य भएर मानव समाजको निर्माण हुँदैन, तबसम्म जनयुद्ध जारी रहन्छ ।
(गोतामे बागमती प्रदेश सभाका सदस्य हुन्)