
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको देवचुली–२, दुम्कौलीमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्।
बुटबलबाट बिरामी लिएर नारायणघाटतर्फ जाँदै गरेको ना ४ च ४६१६ नम्बरको एम्बुलेन्स र रजहरबाट दुम्कौलीतर्फ जाँदै गरेको दिव्य एकेडेमी बोर्डिङ स्कुल केउरेनीको बा २० च ७२ नम्बरको स्कुल भ्यान एक आपसमा ठोक्किएको नवलपुर प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा स्कुल भ्यानका चालक देवचुली नगरपालिका–१ का ५२ वर्षीय कुलप्रसाद सुवेदी रहेकाे जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए। उनको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो।
दुर्घटनामा एम्बुलेन्समा सवार रुपन्देहीको बुटवल गोलपार्ककी ३६ वर्षीया लक्ष्मी राई, २५ वर्षकी इसु राई र २५ वर्षीया स्नेहा परियार तथा भ्यानमा सवार विद्यार्थीहरू देवचुली–१७ की १० वर्षीया आयुषा गौतम र ६ वर्षकी सोखनिया रोक्का घाइते भएकाे नेपालले जानकारी दिए।
घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको र एम्बुलेन्समा आएका बिरामीहरूलाई अन्य एम्बुलेन्समा राखी चितवन पठाइएको प्रहरी नायब उपरीक्षक नेपालले जानकारी दिए।
नारायणघाट–बुटबल सडक कालोपत्रे भएसँगै नवलपुरमा दुर्घटना बढेको छ। लेन अनुशासनविपरीत तीव्रगतिमा सवारीसाधन चलाउँदा यहाँ हरेक दिन सवारी दुर्घटना भइरहेका छन्।