मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २१ सोमबार
  • Monday, 03 February, 2025
२o८१ माघ २१ सोमबार १८:o४:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

नेपालगन्जमा ‘ट्राफिक लाइट’ को नियम लागू

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २१ सोमबार १८:o४:oo

‘अहिले म सुर्खेतबाट आउँदै छु, एक्कासि अगाडि गाडीहरू रोकिएको देखेँ, दुर्घटना भएछ भन्ने ठानेको थिएँ, तर ‘ट्राफिक लाइट’ बलेर पो अगाडि गाडी रोकिएका रहेछन्,’ सुर्खेत बांगेसिमलका प्रवीणकुमार गिरीले ट्राफिक जाममा रोकिँदै नेपालगन्जमा लागू भएको ट्राफिक लाइटको अनुभव सुनाए।

उनी नेपालगन्ज मेडिकल कलेजमा उपचाररत आफन्तलाई भेट्नका लागि आज सुर्खेतबाट नेपालगन्ज आउँदै गर्दा धम्बोझीमा लागू गरिएको ट्राफिक लाइटको नियमलाई पालना गर्दै जाममा रोकिएका थिए। मोटरसाइकलचालक गिरीले इ–रिक्साका कारण नेपालगन्जको सडक अस्तव्यस्त हुने हुँदा ट्राफिक लाइटको नियम आफूलाई प्रभावकारी लागेको बताए।

‘म पहिला आइरहँदा यहाँ इ–रिक्साका कारण धेरैपटक दुर्घटना हुनबाट जोगिएको छु,’ उनले भने, ‘ट्राफिक लाइटको नियम लागू भएपछि अब त रिक्सा पनि व्यवस्थित रूपमा चल्ने भएछन्।’ नेपालगन्जको मुटु मानिने धम्बोझी चोकमा नै ट्राफिक लाइटको नियम लागू भएसँगै पूर्व-पश्चिम र उत्तर-दक्षिणतर्फबाट तीव्र गतिमा चल्ने सवारीसाधन अब ट्राफिक नियमानुसार सुस्त गतिमा चल्न लागेका छन्।

गत वर्षको चैतमा उक्त ट्राफिक लाइटको परीक्षणकाल सुरु गरिए पनि गत पुसको २८ गतेदेखि नियमित रूपमा लागू भएको ट्राफिक लाइटले सडकलाई मात्र नभई सवारीसाधनचालक र यात्रुलाई समेत व्यवस्थित रूपले सडकमा हिँड्न सहयोग गरेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १ का बासिन्दा बलवीर खड्काले बताए। ‘ट्राफिक लाइटको नियम लागू भएदेखि यो सहर बल्ल व्यवस्थित सहरजस्तो भएको छ,’ उनले भने, ‘पहिला जसलाई जताबाट मन लाग्यो, त्यतैबाट बाटो काटेर हिँड्ने बानी थियो, अब भने बल्ल सडकमा नियमअनुसार हिँड्नुपर्ने रहेछ भन्ने कुराको चेतना जागेको छ।’

सुर्खेतका गिरी र बाँकेका खड्काजस्तै नेपालगन्जमा ट्राफिक नियम लागू भएपछि बच्चालाई स्कुल पुर्‍याउने समयभन्दा आधा घण्टाअगाडि नै निस्कने गरेको नेपलगन्ज–१० ट्राफिक चोकनिवासी सरिता थापाले बताइन्। ‘पहिला १०–१५ मिनेटअघि छोरीलाई स्कुल पुर्‍याउन निस्कन्थेँ, अहिले जाममा परिन्छ भनेर आधा घण्टाअगाडि नै निस्कने गरेको छु,’ उनले भनिन्।

बाँकेमा पहिलोपटक ट्राफिक लाइटको नियम लागू भएको छ। गत पुसको २८ गतेदेखि ट्राफिक लाइटको नियम लागू भएसँगै यहाँका सवारीसाधनचालक र यात्रुहरूले उक्त नियमको पालना गरेको अस्थायी ट्राफिक प्रहरी पोस्ट नेपालगन्जका ट्राफिक प्रहरी वरिष्ठ नायब निरीक्षक प्रवीण आचार्यले बताए।

‘यहाँ ट्राफिक लाइटको नियम लागू भएको भर्खर भर्खर भएको हुनाले हामीले जरिवानाभन्दा पनि ट्राफिक लाइट र लेनको प्रयोग कसरी गर्ने र कस्तो अवस्थामा गर्ने भनेर सिकाइरहेका छौँ,’ उनले भने, ‘विशेष गरी महिला र ग्रामीण भेगतिरबाट आउने सवारीसाधनचालकसँगै यात्रुलाई ट्राफिक लाइटको नियम बुझाउन अलि गाह्रो भइरहेको छ।’ उनका अनुसार तीन–चारपटकसम्म सम्झाइबुझाइ गर्दा पनि रातो बत्तीको नियम पालना नगरेका आठजनालाई जरिवानास्वरूप चिट काटेर कारबाही गरिएको छ।

इ–सेवा, खल्ती, इ-चलान र राष्ट्रिय वाणिज्य बैंकको माध्यमबाट हालसम्म आठजनाबाट रु. चार हजारसम्मको राजस्व संकलन भएको अस्थायी ट्राफिक प्रहरी पोस्ट नेपालगन्जका प्रमुख आचार्यले जानकारी दिए। नेपालगन्जमा ट्राफिक लाइटको नियम लागू भएसँगै जरिवानाभन्दा पनि यात्रुलाई सडक लेनको प्रयोग कसरी र कस्तो अवस्थामा गर्ने भनेर जनचेतना दिने विषयमा आफूहरू केन्द्रित रहेको आचार्यको भनाइ थियो।

‘रातो बत्ती बल्दा जहिले पनि देब्रे लाइन भएर जाने सवारीसाधनचालक र यात्रुहरू रोकिनुपर्दैन, भनेर हामीले अलमलमा परेकालाई सम्झाएर बाटो काट्न सिकाउँदै छौँ,’ उनले भने, ‘यहाँका सवारीसाधनचालक र यात्रुलाई जरिवानाभन्दा जनचेतनाको आवश्यकता भएको हुनाले हामीले सडक नियमका विषयमा डिउटीकै समयमा जानकारी दिने प्रयास गरिरहेका छौँ।’

प्रमुख आचार्यका अनुसार ट्राफिक लाइटको नियम लागू भएसँगै पहिलाको तुलनामा अहिले धम्बोझीदेखि बिपी चोकमा हुने दुर्घटनामा कमी आएको छ। पहिला हप्तामा आठ-दशवटा सामान्य दुर्घटना हुन्थ्यो भने अहिले सोही ठाउँमा ट्राफिक लाइटको नियम लागू भएपछि दुर्घटना नभएको ट्राफिक प्रहरी वरिष्ठ नायब निरीक्षक आचार्यले बताए। उनका अनुसार ट्राफिक लाइटको नियम सञ्चालन भएसँगै हालसम्म रातो बत्ती कारबाहीमा १६५ परेका छन् भने गलत तरिकाले बाटो काट्ने ३२३ जनालाई कारबाही गरिएको छ। रासस