मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १६ बुधबार
  • Thursday, 30 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ १६ बुधबार १o:o१:oo
Read Time : > 4 मिनेट
विश्व डिजिटल संस्करण

प्रयागराज महाकुम्भ मेलामा भएको भागदौडमा कैयौँको मृत्यु 

Read Time : > 4 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ १६ बुधबार १o:o१:oo

गंगा, यमुना र सरस्वती नदीको संगमस्थल प्रयागराजमा  चलिरहेको विश्वप्रसिद्ध महाकुम्भ मेलामा बुधबार भागदौडमा परेर कैयौँको मृत्यु भएको छ । एक दिनमै करिब एक करोड पुग्ने यो मेलामा बुधबार बिहान भागदौड मच्चिएको थियो। जसमा धेरैले ज्यान गुमाएको भारतीय सञ्चारमाध्यमले बताएका छन् । 

कम्तीमा १५ जनाको मृत्यु भएको र कैयौँ अस्पतालमा उपचार गराइरहेको प्रहरी अधिकारीले बताएका छन्। 

घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई फोन गरेर घटना विवरण बुझेका छन्। योगी आदित्यनाथले दर्शनार्थीहरूलाई प्रशासनको नियम मानिदिन अनुरोध गरेका छन् । 

दैनिक एक करोड पुग्छन् 
यही माघ १ गतेदेखि सुरु भई ४५ दिनसम्म सञ्चालन हुने उक्त कुम्भमेलामा हिन्दु धर्मावलम्बीहरूले भारतको सबैभन्दा पवित्र नदी मानिने गंगा, यमुना र पौराणिक सरस्वती नदीको संगममा स्नान गर्ने गर्छन् । मेलामा ४५ करोड तीर्थालु भक्तजन आउने विभागले अनुमान गरेको छ । हिन्दु धर्मावलम्बीहरूको पवित्र भूमि प्रयागराजमा महाकुम्भ स्नान गर्न भारत, नेपालसहित विभिन्न मुलुकबाट लाखौँको संख्यामा तीर्थयात्री आउने गरेका छन् ।

उत्तर प्रदेश पर्यटन विभागका महानिर्देशक ईशा प्रियाले १४४ वर्षपछि परेको महाकुम्भ मेलाको विशेष महत्त्व रहेको भन्दै प्रयागराज महाकुम्भको अदभूत आनन्द लिन सबैमा आह्वान गरिन् । उनले सीमापार धार्मिक पर्यटन प्रवर्द्धनका लागि महाकुम्भ मेला उपयोगी बन्ने विश्वास व्यक्त गरिन् ।

मेलाको रौनक

मेलामा स्नान गर्न आउने तीर्थालु भक्तजनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ । मेलालाई दृष्टिगत गर्दै भारत सरकारले २५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । मेलाको आकर्षणका रूपमा इलाहवाद सडकका चोकचोकमा सूचनामूलक ब्यानर, पोस्टर र झिलिमिली बत्तीले झकिझकाउ पारिएको छ । तीन नदीको संगममस्थलमा दायाँ र बायाँ किनारमा तीर्थालु भक्तजनका लागि वासस्थानका निम्ति स्तरअनुसारको सुविधासम्पन्न अस्थायी ‘टेन्ट हाउस’हरू निर्माण गरिएका छन् । रातको समयमा टेन्ट हाउस क्षेत्रमा झिलिमिली बत्तीले मेलाको रौनकलाई थप बढावा दिएको छ ।

मेलामा वास व्यवस्थापनका लागि अस्थायी शिविर, स्वास्थ्य शिविर रहेका छन् । एक लाखभन्दा बढी टेन्ट स्थापना गरिएको छ । मेलामा नागाबाबा, अघोरी बाबाको भिन्न आकर्षण देखिन्छ । मेलाको सुरक्षालाई मध्यनजर गर्दै नदीको पानीमुनि २५ हजारभन्दा बढी सिसिक्यामेरा जडान गरिएका छन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार मेलामा पुग्ने तीर्थालुको सहजताका लागि प्रयागराज विमानस्थलबाट सात हजारभन्दा बढी बसको व्यवस्था गरिएको छ । ५५० सटल बस, १३ हजारभन्दा बढी रिक्सा, १३ हजार ट्रेन, तीन हजार विशेष ट्रेनको व्यवस्था मिलाइएको छ।

यसैगरी, मेला क्षेत्रमा ४३ अस्थायी अस्पताल स्थापना गरिएका छन् । सरकारी र निजी अस्पतालमा गरी ६ हजार शय्याको व्यवस्था छ । एयर एम्बुलेन्ससहित सडक एम्बुलेन्सको व्यवस्था गरिएको छ । हेलिकोप्टरबाट मेलाको अवलोकन गर्ने प्रबन्धसमेत गरिएको छ । भारतीय राष्ट्रपति द्रौपदी मुर्मू तथा प्रधानमन्त्री नरेन्द्र मोदीसमेत महाकुम्भमेला अवलोकन गर्न पुग्ने बताइएको छ ।
 

पवित्र नदीहरूको संगममा स्नान गर्दा पापमोचन हुने र आत्मा शुद्ध हुने जनविश्वास छ । मेलामा सहभागी धर्मावलम्बीहरूको ताँती अन्तरिक्षबाट देख्न सकिने बताइएको छ । दैनिक एकदेखि डेढ करोड भक्तजनले गंगा स्नान गरेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

ज्योतिषीहरूले निश्चित ग्रह र नक्षत्रहरूका आधारमा नुहाउने मिति र शुभ समय तय गरेका छन् । त्यसका आधारमा स्नानका लागि सोमबारबाहेक अन्य दिन शुभ रहेको बताइएको छ । कुम्भमेला हिन्दु धर्मावलम्बीको एक महान् स्नान पर्व हो । यो मेला पृथ्वीमा जम्मा १२ स्थानमा लगाउन सकिने कुरा शास्त्रहरूले उल्लेख गरेका भए पनि हालसम्म जम्मा पाँचवटा स्थान मात्र पत्ता लागिसकेका छन् । ती पाँच स्थानमध्ये भारतका चार ठाउँमा प्रत्येक तीन–तीन वर्षको अन्तरालमा लाग्दछ भने एक कुम्भस्थल नेपालमा पर्दछ । कुम्भमेला हुने स्थलहरूमा इलाहावाद (उत्तर प्रदेश), उज्जैन (मध्य प्रदेश), नासिक (महाराष्ट्र), हरिद्वार (उत्तराखण्ड) र चतराधाम (बराहक्षेत्र, सुनसरी नेपाल) रहेका छन् ।

के हो महाकुम्भ मेला   ?
 यो मेला एक स्थानमा प्रत्येक १२ वर्षमा लाग्ने गर्दछ । हिन्दु धर्मका सबै ग्रन्थमा कुम्भमेलाको वर्णन गरिएको पाइन्छ । धर्मग्रन्थअनुसार जो व्यक्ति कुम्भमा स्नान गर्दछ त्यो सम्पूर्ण पापबाट मुक्त भएर पुण्यको भागी बन्नेछ । भारतका चार कुम्भमेलाका सन्दर्भमा सूर्य, चन्द्र एकै राशिमा परेको, वृहस्पति वृष राशि तथा मौन अमावश्या र श्रीपञ्चमीको बिचमा कुम्भ संक्रान्ति परेका अवस्थामा महाकुम्भ योग पर्छ र यसैलाई महाकुम्भ भनिन्छ ।  कुम्भमेला भारतको तीन ठाउँमा लाग्ने गरेको थियो । तर, ०५९ वैशाख १ गतेदेखि नेपालको सुनसरी जिल्लास्थित चतराधाममा समेत लाग्न थालेको छ ।

‘डिजिटल’ महाकुम्भ

भारतको संस्कृति मन्त्रालयका अनुसार महाकुम्भ मेलामा विज्ञान प्रविधिको पनि भरपूर उपयोग गरिएको छ । प्रयागराज महाकुम्भमा अध्यात्म र नवप्रवर्तनको असाधारण मिश्रणका रूपमा ‘सेट’ गरिएको छ । आधुनिक प्रविधिलाई अँगालेर उच्च–टेक सुरक्षा उपायहरूदेखि डिजिटल भूमि ‘आवंटन’हरू र ‘इमर्सिभ भर्चुअल’ वास्तविकता अनुभवहरू, महाकुभ्भ २०२५ ले भक्तहरूलाई पूर्वाधार, सुरक्षा र डिजिटल सेवाहरूमा व्यापक तरिकाका साथ महाकुम्भ परम्परा र प्रविधिबिचको मेलमिलापको नमुना बनेको छ । भक्तजनको सुरक्षाका लागि विशेष साइबर सुरक्षा व्यवस्था सुरु गरिएको छ ।

साइबर सुरक्षा

उत्तर प्रदेश सरकारले प्रिन्ट, डिजिटल र सोसल मिडियासहित प्रत्येक प्लाटफर्म प्रयोग गर्ने निर्णय गरेको छ । एआई, फेसबुक, एक्स र इन्स्टाग्रामजस्ता प्लाटफर्महरू शोषण गर्ने गिरोहहरूको अनुसन्धान गरिरहेका छन् । व्यापक जनचेतना अभियानका लागि मोबाइल साइबर टोली पनि तैनाथ गरिएको छ।

उत्तरप्रदेश पर्यटन विभागका अतिरिक्त रणनीतिक अधिकृत आकाश दीपले प्रयागराज महाकुम्भले ऐतिहासिक रेकर्ड बनाएको बताउँदै धार्मिक पर्यटन अभिवृद्धिमा टेवा पुग्ने धारणा राखे । वनारसी टुरिजम गिल्टका अध्यक्ष सन्तोषकुमार सिंहले १२ वर्षपछि लाग्ने कुम्भमेलामा हिन्दु नेपाली पर्यटकलाई सहभागी हुन आह्वान गरे । आगरा ट्राभल एजेन्ट एसोसिएसनका महासचिव कौशलेन्द्र सिंहले महाकुम्भ मेलाले क्षेत्रीय धार्मिक पर्यटन प्रवर्द्धनमा सघाउ पुर्‍याउने बताए ।

महाकुम्भमेलामा पहिलो दिन मकर संक्रान्तिका दिन महामण्डलेश्वरले शाही स्नान गर्ने चलन छ । त्यसो त श्रीपञ्चमी, शिवरात्रि र पूर्णिमा पनि शाही स्नान गर्ने प्रचलन छ । उक्त दिन शाही स्नानका कारण केही समय सर्वसाधारण भक्तजनका लागि केही असुविधा हुनेसमेत आयोजकको भनाइ छ । अन्य दिन भने भक्तजनहरूले सहज रूपमा महाकुम्भ स्नान गर्ने गरी विभिन्न घाटहरू निर्माण गरिएको छ भने घाटसम्म पुग्नका लागि मोटरबोट तथा डुंगाहरू पर्याप्त मात्रामा उपलब्ध छ ।

महाकुम्भको इतिहास पुरानो छ । केही ग्रन्थहरूका अनुसार सत्ययुगमा पहिलो महाकुम्भमेला आयोजना भएको मानिन्छ । जसको सुरुवात शंकराचार्यले गरेका थिए । जानकारहरूका अनुसार कुम्भको परम्परा हजारौँ वर्ष पुरानो हो ।

नेपालबाट पनि उल्लेख्य संख्यामा तीर्थालुहरू महाकुम्भ मेला गइरहेका छन् । साथीभाइ, परिवार र समूह बनाएर नेपालीहरू प्रयागराजमा स्नानका लागि गएका हुन् । समुद्र मन्थनको समयमा देवता र दानवहरू अमृत पाउनका लागि लडिरहेका थिए, सोही क्रममा भगवान् इन्द्रका छोरा जयन्त अमृत भाँडा लिएर भागिदिए, त्यसपछि ती दानवहरू पनि कलश लिन जयन्तको पछि लागे । यस समयमा राक्षस र देवताहरूबिच भयानक युद्ध भयो । जब जयन्त अमृत कलश लिएर भागे, अमृत कलशका केही थोपा भने चार ठाउँमा खसे, जहाँ अहिले महाकुम्भ आयोजना गरिएको छ । त्यसवेलादेखि, प्रयागराज, उज्जैन, नासिक, हरिद्वारमा १२–१२ वर्षको अन्तरालमा कुम्भमेला आयोजना गरिएको पाइन्छ । राससको सहयोगमा