उदयपुर जिल्लामा रहेका पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्न ‘राइड टु कोशी–२०८१’ कार्यक्रम हुने भएको छ। उदयपुर जिल्ला साइक्लिङ संघ र नेपाली सेनाको संयुक्त आयोजनामा आगामी फागुन १६ र १७ गते ‘राइड टु कोशी–२०८१’ कार्यक्रम हुने भएको हो।
साइकलको माध्यमबाट जिल्लाका विभिन्न पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्नुका साथै वातावरण प्रदूषण रोकथाम गर्ने उद्देश्यले साइड टु कोशी आयोजना गरिएको बिहीबार एक पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला साइक्लिङ संघका अध्यक्ष माधव बानियाँले जानकारी दिए ।
उनका अनुसार यात्रामा देशभरका तीन सयदेखि पाँच सयसम्म साइकलयात्रीले सहभागिता जनाउनेछन् । साइकल यात्रा त्रियुगा नगरपालिकाको गाईघाटबाट सुरु भएर बेलटार, रामपुर हुँदै चतरा, उदयपुरतर्फको कोशी टप्पुसम्म पुग्नेछ । त्यसपछि पुनः अर्को दिन सो यात्रा गाईघाट आएर समापन हुने बताइएको छ।
आयोजकका अनुसार स्वास्थ्य, फिटनेस, एकता र वातावरणीय सचेतनालाई प्रवर्द्धन गर्ने, बढ्दो सहरीकरणले वातावरणमा पारेको नकारात्मक प्रभावबारे जनचेतना जगाउन यो कार्यक्रम महत्त्वपूर्ण रहनेछ। २०८२ लाई कोशी प्रदेश सरकारले पर्यटन वर्ष घोषणा गरेको सन्दर्भमा यस कार्यक्रमले उदयपुर जिल्लाको पर्यटन विकासमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।