रुविन राइकाले अर्धशतक बनाएपछि नेदरल्यान्ड्सले घरेलु टोली नेपाललाई त्रिदेशीय टी–२० सिरिजको पहिलो खेलमा १५८ रनको लक्ष्य दिएको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कप्तान इन्दु बर्माले टस जितेकी हुन् । योसँगै ब्याटिङ सुरु गरेको नेदरल्यान्ड्सले २० ओभरमा चार विकेट गुमाउँदै १५७ रन बनायो ।
नेदरल्यान्ड्सका लागि चौथो नम्बर क्रिजमा पुगेकी रुविन राइकाले ४८ बलमा आठ चौकासहित अविजित सर्वाधिक ५९ रन बनाइन् । आइरिस ज्वाइलिङले १३ बलमा ३१ रनको अविजित योगदान गरिन् । रुविन र आइरिसबिच पनि ४७ रनको साझेदारी भएपछि नेदरल्यान्ड्स ठुलो स्कोर बनाउन सफल भयो ।
त्यस्तै, स्टेर कालिसले ३५ बलमा चार चौकासहित २९ रनको योगदान गरिन् । हेथर सिगेर्सले २३ रन बनाएकी हुन् । अन्य खेलाडीले ठुलो स्कोर बनाउन सकेनन् ।
नेदरल्यान्ड्सका लागि रुविन र सिगेर्सले चौथो विकेटका लागि ३४ बलमा सर्वाधिक ५४ रनको साझेदारी गरेका थिए । रुविन र कालिसले तेस्रो विकेटका लागि ५१ बलमा ४७ रनको दोस्रो ठुलो साझेदारी गरेका हुन् ।
यसअघि ओपनर फेबे मोइकेनबोइरलाई दुई बल खेल्दा कविता कुँवरले एलबिडब्लू धरापमा पारिन् । पूजा महतोले ६ बलमा पाँच रन बनाएकी कप्तान बाबेट डे लिडेलाई आउट गरेपछि १.६ ओभरमा नाै रन जोड्दा नेदरल्यान्ड्सले जम्मा नाै रन जोड्यो।
नेपालका लागि कविता र पूजासँगै ईश्वरी विष्ट र सीता राना मगरले समान एक विकेट हात पारे । रविना क्षेत्री, इन्दु बर्मा र कविता जोशी भने विकेट विहिन रहे ।
इन्दु बर्मा कप्तान रहँदा टिममा रुविना क्षेत्री, सीता राना मगर, पूजा महतो, विन्दु रावल, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रोमा थापा, ईश्वरी विष्ट, राजमती ऐरी, एलिसा यादव, मनीषा उपाध्याय र रेवती धामी छन् ।
नेपाल र नेदरल्यान्ड्सबिच पहिलोपटक खेल हुन लागेको हो । सिरिजमा थाइल्यान्ड पनि सहभागी छ । नेपालले दोस्रो खेलम शनिबार थाइल्यान्डसँग खेल्नेछ ।