खोटाङको दिक्तेलबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको सुमो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ टेकसेलेस्थित भँडारेखोलामा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। केपिलासगढी गाउँपालिका– ३ बास्पानीकी ५६ वर्षीया माया गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १२ जालपा निवासी मायाकी बहिनी ४५ वर्षीया तारा गुरुङको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङले दिएको जानकारीअनुसार पूर्वखोटाङ यातायात प्रालिको ना.१ज ६४२१ नम्बरको सुमो दिक्तेलबाट बुधबार साँझ करिब ७ः३० बजे बिरामी लिएर काठमाडौं हिँडेको थियो । आगलागीमा परेर गम्भीर घाइते परेकी मायालाई लिएर काठमाडौं हिँडेको सुमो गएराति नै दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।
मध्यपहाडी लोकमार्गको भँडारेखोलामा बिहान करिब ६ः३० बजेको समयमा सुमो दुर्घटना भएको अवस्थामा स्थानीयले भेटेपछि ट्राफिक प्रहरी कार्यालय हर्कपुरलाई जानकारी दिएका थिए । दुर्घटना भएलगत्तै सुमोचालक सुनसरी जिल्लाको इनरुवा नगरपालिका निवासी २२ वर्षीय अनिल पण्डित फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको छ।
बास्पानीस्थित आफन्तको मृत्यु कार्य (सुध्याई)मा आउने निम्तालुलाई दिनका लागि रक्सी ठानेर तताउने क्रममा पेट्रोल परेपछि सल्किएको आगोले जलेर गम्भीर घाइते परेकी मायालाई उपचारका लागि छोरा पुजन र बहिनी ताराले काठमाडौं लिएर हिँडेका थिए । आगलागीमा कम्मरमुनिको भाग जलेर गम्भीर घाइते बनेकी मायालाई आफन्तले बास्पानीबाट उद्धार गरी जिल्ला अस्पताल खोटाङ ल्याएर साँझ ५ बजे भर्ना गरेका थिए ।
अस्पतालका प्रमुख डा. रुपेश संग्राैलाका अनुसार जलनसम्बन्धी बिरामीका लागि जिल्ला अस्पतालमा उपचारको व्यवस्था नभएकाले प्राथमिक उपचार गरेर थप उपचारका लागि काठमाडौं रिफर गरिएको थियो।
दिक्तेल–काठमाडौं सडकखण्डमा पर्ने भँडारेखोला दिक्तेलबाट सवारीसाधनमा करिब चार घण्टा यात्रा गर्दा पुगिन्छ। सुमोमा चालकसहित चारजना मात्रै सवार रहेको बुझिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए। ‘भँडारेखोलामा भएको दुर्घटनाबारे आज (बिहीबार) बिहान मात्र जानकारी प्राप्त भयो। घटनाबारे थप अनुसन्धान गर्न जिल्लाबाट प्रहरी टोली परिचालन गरिएको छ,’ उनले भने, ‘चालक फरार रहेका छन् । सुमोमा सवार तीनैजनाको मृत्यु भएपछि दुर्घटना हुनुको कारण खुल्न सकेको छैन।’