
भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार आन्तरिक उडानहरू नियमित नै भए पनि दुबईबाट आएको फ्लाई दुबईले भिजिबिलिटी नपुगेको भन्दै अवतरण नगरी काठमाडौंमा उडान डाइभर्ट गरेको छ । बिहीबार दिनभर भैरहवा विमानस्थलको भिजिबिलिटी दुई हजारदेखि २५ सय मिटरसम्म रहेको विमानस्थल कार्यालयले जनाएको छ ।
जबकि, भैरहवामा अवतरण गर्न १८ सय मिटर भिजिबिलिटी पर्याप्त मानिन्छ । बिहीबार यती र बुद्धका १७ वटा आन्तरिक उडान कुनै समस्या नभई दिनभर भैरहवा–काठमाडौं समयमै उडान भएका थिए । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता दीपक बज्राचार्यले बिहीबार १७ वटा आन्तरिक उडानहरू साँझ साढे ६ बजेसम्म नियमित समयमै भएको बताए । विमानस्थलको भिजिबिलिटी पनि दुई हजारदेखि २५ सय मिटरसम्म रहेको उनको भनाइ छ । तर, भिजिबिलिटीलाई नै कारण देखाएर अन्तर्राष्ट्रिय उडान डाइभर्ट गरिनुलाई विमानस्थल सञ्चालन गर्न नदिन चलखेल भएको स्थानीय पर्यटन व्यवसायीले आशंका गरेका छन् ।
बिहीबार रुपन्देहीमा आयोजित एक कार्यक्रममा पर्यटन परिषद् लुम्बिनी प्रदेशका सदस्य राजेश मलहोत्राले भैरहवा विमानस्थल नियमित सञ्चालन गर्न नदिनमा ठुलो चलखेल भइरहेको बताए । विमानस्थलका कर्मचारी र काठमाडौंका व्यवसायीहरू यस्तो चलखेलमा संलग्न रहेको उनको जिकिर छ । आन्तरिक उडान नियमित भइरहँदा विभिन्न बहानामा अन्तर्राष्ट्रिय उडान डाइभर्ट हुनु शंकाको विषय भएको सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल ज्ञवालीले बताए । हिजोका दिनमा लामो सडक आन्दोलन भएको बताउँदै विमानस्थल नियमित सञ्चालनका लागि पुनः आन्दोलन आवश्यक रहेको उनले बताए ।
भैरहवा र पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने यात्रुलाई तीन हजार सस्तो पर्ने
भैरहवाको गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाईयात्रा तीन हजार रुपैयाँ सस्तो पर्ने भएको छ । सरकारले दुवै विमानस्थल भएर अन्तर्राष्ट्रिय हवाईयात्रा गर्ने यात्रुलाई विमानस्थल सेवा शुल्कमा शतप्रतिशत छुट दिने निर्णय गरेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले यात्रु सेवा शुल्कबापत प्रतियात्रु तीन हजार लिँदै आएको छ । सरकारले भदौ ०८३ सम्म दुवै विमानस्थलबाट अन्तर्राष्ट्रिय यात्रा गर्नेलाई यात्रु सेवा शुल्कमा शतप्रतिशत छुट दिने निर्णय गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने यात्रुको हकमा भने यात्रु सेवा शुल्क यथावत् नै छ ।
गत साउनमै मन्त्रिपरिषद् बैठकले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न कार्ययोजना स्वीकृत गरेको थियो, जसमा भैरहवा र पोखरामा विमानस्थल सेवा शुल्क पूरै छुट दिने उल्लेख थियो । सोही निर्णय अहिले आएर कार्यान्वयन गर्ने निर्णय भएको हो ।