साउनदेखि पुससम्म ६ महिनामा देशभर ११ हजार ३३८ दुर्घटना भएका छन् । जसमा १२ सय ३२ जनाको मृत्यु भएको र तीन हजार २६२ जना गम्भीर घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीको यो तथ्यांकअनुसार औसतमा दैनिक ६२ दुर्घटना भएका छन् र जसमा सातजनाले ज्यान गुमाएका छन् । यो अवधिमा १५ हजार ५१८ जना सामान्य घाइते भएका छन् ।
तथ्यांकअनुसार सबैभन्दा धेरै दुर्घटना मधेश र सबैभन्दा कम गण्डकीमा भएका छन् । मधेशमा तीन हजार २४८, कोशीमा दुई हजार ८१७, काठमाडौं उपत्यकामा दुई हजार ४२९ वटा दुर्घटना भएका छन् । बागमतीमा एक हजार ३१, लुम्बिनीमा ८७८, कर्णालीमा ४८८, सुदूरपश्चिममा २६२ र गण्डकीमा १८५ सवारी दुर्घटना भएका छन् ।
सवारी दुर्घटनाबाट सबैभन्दा धेरै मृत्यु लुम्बिनी प्रदेशमा भएको छ । ६ महिनाको अवधिमा लुम्बिनीमा २६१ जनाले ज्यान गुमाएका छन् । मधेशमा २२९, कोशीमा २२३, बागमतीमा १४५, गण्डकीमा ११३, सुदूरपश्चिममा ९८, उपत्यकामा ९४ तथा कर्णालीमा ६९ जनाले ज्यान गुमाएका छन् ।
पुसमा मात्रै लुम्बिनीमा ३६५ सवारी दुर्घटना, ५७ को मृत्यु, ५९२ घाइते
धेरै दुर्घटना रुपन्देहीमा भए पनि ज्यान गुमाउनेको संख्या भने दाङमा धेरै
लुम्बिनी प्रदेशमा पुस महिनामा मात्र ३६५ सवारी दुर्घटनामा ५७ जनाले ज्यान गुमाएका छन् । ५९२ जना घाइते भएका छन् । गत वर्ष पुसमा १०५ दुर्घटनामा ९५ को मृत्यु भएको थियो भने २१८ जना घाइते भएका थिए ।
प्रदेशभर पुसमा सबैभन्दा धेरै दुर्घटना रुपन्देहीमा भएको छ भने ज्यान गुमाउनेको संख्या दाङमा धेरै छ । यस्तै, मंसिरमा लुम्बिनीमा १९३ सवारी दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको छ भने २९५ जना घाइते भएका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले चारपांग्रेभन्दा दुई पांग्रे (मोटरसाइकल र स्कुटी) दुर्घटना दर बढेको बताए । ‘दुर्घटनामा पर्ने पनि धेरै युवा छन् । तीव्र गतिमा र ट्राफिक नियमको पालना नगर्दा दुर्घटना बढेका छन् । रातको समयमा मदिरा सेवन गरेर एउटै मोटसाइकल तथा स्कुटीमा तीन जना सवार गर्दा पनि दुर्घटना हुने गरेका छन्,’ उनले भने ।
धेरै दुर्घटना रुपन्देहीमा भए पनि ज्यान गुमाउनेको संख्या भने दाङमा धेरै छ । रुपन्देहीमा ८३ वटा दुर्घटनामा नौजनाले ज्यान गुमाएका छन्, ११६ जना घाइते भएका छन् । त्यस्तै, दाङमा ५६ सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ भने ९७ जना घाइते भएका छन् ।
नवलपरासी पश्चिममा ५० सवारी दुर्घटनामा सातजनाको ज्यान गएको छ भने ९३ घाइते भएका छन् । बाँकेमा ५६ दुर्घटनामा नौजनाको मृत्यु भएको छ र ६८ जना घाइते भएका छन् । बर्दियामा ४५ दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन् । कपिलवस्तुमा ४२ दुर्घटनामा नौजनाले ज्यान गुमाएका छन् । ६५ जना घाइते भएका छन् । प्युठानमा १२ दुर्घटनामा दुईजनाको मृत्यु र २८ घाइते भएका छन् ।
रोल्पामा ११ दुर्घटनामा तीनको मृत्यु हुँदा १६ घाइते भएका छन् । गुल्मीमा सात दुर्घटनामा परी तीनजनाको ज्यान गएको छ । २८ जना घाइते भएका छन् । पाल्पामा ६ वटा दुर्घटनामा दुईजनाको मृत्यु र नौजना घाइते भएका छन् । अर्घाखाँचीमा पाँचवटा दुर्घटनामा आठ घाइते भएका छन् । त्यस्तै पूर्वी रुकुममा एक दुर्घटनामा चारजना घाइते भएका छन् ।
प्रहरीले दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम गरिएको जनाएको छ । पुसमा मात्रै एक हजार १२६ पटक कार्यक्रम गरिएको प्रहरीले जनाएको छ । ती कार्यक्रममा ५२ हजार १९९ जना सहभागी भएको तथ्यांक प्रहरीसँग रहेको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार पुसमा ट्राफिक नियम उल्लंघन गर्ने १२ हजार २६७ सवारी कारबाहीमा परेका छन् । कारबाहीबाट एक करोड ३० लाख २६ हजार राजस्व संकलन भएको छ ।