कञ्चनपुरको महाकाली नदीमा भत्किएको तटबन्ध अनुगमन गर्न गएका गृहमन्त्री लेखक र भौतिक पूर्वाधारमन्त्री दाहाल आश्वासन मात्र दिएर फर्के, तत्काल पुनर्निर्माण नभए पुनः ठूलो विपत्को जोखिम यथावत्
गत भदौमा आएको बाढीले भत्काएको कञ्चनपुरस्थित निर्माणाधीन महाकाली पुलको तटबन्ध अहिलेसम्म पुनर्निर्माण भइसक्नुपर्ने हो । तर, चार महिनापछि बल्ल गृहमन्त्री रमेश लेखक र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल दलबलसहित अनुगमनमा पुगेका छन् ।
महाकाली नदीमा चार लाख ६१ हजार क्युसेक पानीको बहावले तीन सय मिटर तटबन्ध भत्काएपछि भुजेला खोला महाकालीमा ठोक्किएर गाउँ पसेपछि भीमदत्त नगरपालिकाका वडा नम्बर ११, १२ र १३ का दर्जनौँ गाउँबस्ती डुबानमा परे । त्यसपछि स्थानीयले असोजदेखि नै भत्किएको तटबन्ध छिटो पुनर्निर्माणको माग गर्दै आएका थिए ।
तर, पुस मसान्तसम्म पनि पुनर्निर्माणमा केही प्रगति भएन । शनिबार गृहमन्त्री लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालसहित सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की, सांसद प्रकाश रावल, बेलबहादुर राना, मधु भारती, भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीसहित तीनै तहका सरकारका प्रतिनिधिले स्थलगत अनुगमन गरेका छन् ।
महाकाली पुल आयोजना प्रमुख इन्जिनियर विवशबाबु सदादेवले भेरिएसन स्वीकृत नहुँदा काम अघि बढ्न नसकेको मन्त्री र जनप्रतिनिधिलाई जानकारी गराएको बताए । उनले योजना कार्यालयबाट भेरिएसन स्वीकृतिका लागि फाइल पठाए पनि मन्त्रालयमा थन्किएकाले कामकाज अघि बढ्न नसकेको बताए ।
स्थानीयले समयमै भत्किएको तटबन्ध पुनर्निर्माण र भुजेला खोला नियन्त्रण नभए आफूहरू यस वर्ष पनि जोखिममा पर्नेतर्फ मन्त्रीद्वय दाहाल र लेखकको ध्यानाकर्षण गराएका छन् । ‘यो तटबन्ध भत्किएको चार महिनाभन्दा बढी भइसक्यो, तर वास्ता पनि गरेनौँ । वर्षाका वेला सिंगै महाकाली भुजेला खोलामा उल्टिन्छ,’ स्थानीय अगुवा कृष्णसिंह देउवाले भने, ‘सिंगो नदी गाउँ पस्दा विपत्मा पर्छौँ, यो भुजेला खोलाको निकास नभए यस वर्ष पनि विपत्मा पर्ने अवस्था छ ।’
भीमदत्त नगरपालिका– ११ का वडाध्यक्ष प्रकाश थापाले भुजेला खोलाको मुहानैदेखि निकास अपरिहार्य रहेको बताए । उनले भुजेला खोला महाकाली नदीकै समानान्तर हिसाबले बगाउनुपर्ने बताए ।
वडा नम्बर १३ अध्यक्ष रामबहादुर बोहराले अनुगमनका नाममा अनुगमन नभई काम गर्नुपर्ने बताए । उनले भौतिक पूर्वाधारमन्त्री दाहाललाई शीघ्र तटबन्ध निर्माणदेखि भुजेला खोला निकास र गृहमन्त्री लेखकलाई चौकी निर्माणका लागि निवेदन दिएका छन् ।
पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले भौतिकमन्त्री दाहालसमक्ष समयमै तटबन्ध पुनर्निर्माण नभए पहुँचमार्गमा समेत क्षति पुग्ने र अहिलेसम्मको उपलब्धि गुम्ने ध्यानाकर्षण गराउँदै बाँकी काम समयमै सक्न अनुरोध गरे । गृहमन्त्री लेखकले भौतिकमन्त्री दाहाललाई विपत्को गाम्भीर्यता बुझेर वर्षाअगावै कामकाज अघि बढाइदिन आग्रह गरे । भौतिक पूर्वाधारमन्त्री दाहालले अध्ययन गरेर मन्त्रालयले भत्किएको तटबन्ध पूननिर्माणको काम अघि बढाउने आश्वासन दिए ।