एकपटक छत्रपति महाराज शिवाजीका बहादुर सेनापतिले कल्याणको किल्लामा जित हासिल गरे । हतियार भण्डारका साथै अकुत सम्पत्ति पनि उनको हातमा आयो । आफूले जित हासिल गरेको किल्लाको छानबिन गर्ने क्रममा उनका एक सिपाहीले मुगल सेनाका एक सुबेदारकी अत्यन्त सुन्दर छोरीलाई भेट्टाए । उनले ती सुन्दर महिलालाई आफ्ना सेनापतिसामु पेस गरे । ती नवयौवना महिलालाई देख्दा सेनापति उनको रुपलावण्यमाथि मुग्ध भए । उनले तिनलाई महाराज शिवाजीसमक्ष उपहारका रूपमा भेट गर्नु उचित ठाने । त्यसैले, उनी ती महिलालाई पाल्कीमा राखेर दरबारतिर गए ।
उनी दरबार पुग्दा शिवाजी आफ्ना मन्त्रीहरूसित शासन व्यवस्थाबारे विमर्श गरिरहेका थिए । युद्धमा विजयी सेनापतिले महाराज शिवाजीलाई प्रणाम गरे र आफूले एक अमूल्य रत्न उपहारस्वरुप महाराजसमक्ष अर्पण गर्न चाहेको बताए । महाराज शिवाजीको अनुमति पाएपछि सेनापतिले पाल्कीतिर संकेत गरे ।
शिवाजीले पाल्कीको पर्दा उठाउँदा ती सुन्दर नवयौवनालाई देखे । तिनलाई देख्नासाथ लज्जापूर्वक उनको शिर झुक्यो । उनले प्रत्यक्षतः सेनापतिलाई हप्काउँदै भने– सेनापति, तिमी मेरो साथमा यति लामो समयदेखि सँगै छौ । तैपनि, तिमीले मेरो स्वभाव चिन्न सकेनौ । म आफ्नी रानीबाहेक अन्य सम्पूर्ण महिलालाई आफ्नै आमा र छोरीचेलीसमान मान्छु भन्ने तिमीले थाहा पाउनुपर्ने हो । अब तिमी अहिल्यै जाऊ र यिनलाई सम्मानपूर्वक उनकी आमासमक्ष सुम्पेर आऊ ।
महाराज शिवाजीबाट इनामको अपेक्षा गरिरहेका सेनापतिसामु महाराजको हप्काइपछि चुपचाप ती महिलालाई उनकी आमासमक्ष सुम्पन जानुको विकल्प रहेन । उनले ससम्मान ती महिलालाई उनकी आमासमक्ष पुर्याइदिए । यथार्थमा छत्रपति शिवाजी महाराज वीरतामा जति अगाडि थिए, चरित्रमा पनि उति नै अगाडि थिए । उनले आफ्नो जीवनकालमा आफ्नो चरित्रमाथि सानोभन्दा सानो दाग पनि लाग्न दिएनन् ।