मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २ बुधबार
  • Wednesday, 15 January, 2025
शिल्पा कर्ण काठमाडौं
२o८१ माघ २ बुधबार १७:२९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मुद्दा न्यून भएपछि विशेष अदालतमा बुधबार पेसी तोकिएन

Read Time : > 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २ बुधबार १७:२९:oo

विशेष अदालतमा न्यून मुद्दा भएपछि बुधबार पेसी नै तोकिएन। विशेषका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नै एउटा मुद्दा दर्ता गरेपछि हाल विचाराधीन मुद्दाको संख्या ४९ पुगेको छ।

‘धेरै कम मुद्दा भएकाले हामीले तयार गर्ने साप्ताहिक पेसीमा आजलाई राख्ने मुद्दा नपुगेको हो। मुद्दा अपुग भएर आज पेसी नचढाएका हौँ,’ विशेषका सूचना अधिकारी यज्ञराज रेग्मीले भने। 

रेग्मीका अनुसार नयाँ दर्ता भएका कतिपय मुद्दामा अंग पुगेको छैन। दसैँअघि पनि केही दिन यस्तै अवस्था आएको उनले बताए। ‘अहिले हामीसँग भएका ४९ वटामा ६ महिना नाघेका मुद्दा १८ वटा छन्। अरू सबै नयाँ हो,’ शाखा अधिकृत रेग्मीले भने।

उनका अनुसार मुद्दा हेर्नुपर्ने नभएपछि बुधबार विशेषका न्यायाधीशहरू फैसला लेखनमा सक्रिय छन्। झन्डै डेढ सय मुद्दाको फैसलाको पूर्णपाठ तयार गर्न बाँकी रहेको उनले जानकारी दिए। मुद्दाहरू कम भएकाले फैसला लेखन पनि शीघ्र सकिने उनको भनाइ छ।

हाल विशेषका अध्यक्षमा टेकनारायण कुँवर छन् भने सदस्यहरूमा खुसीप्रसाद थारू, तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापा छन्। विशेष अदालत भ्रष्टाचार, सम्पत्ति शुद्धीकरणजस्ता केही मुद्दा हेर्नका लागि गठित विशिष्टीकृत अदालत हो।

गत १२ पुषमा न्यायपरिषद्को बैठकले थारूको सरुवा उच्च अदालत वीरगन्ज इजलास गरेको थियो। उनको स्थानमा उच्च अदालत पाटनका न्यायाधीश विदुर कोइरालालाई ल्याइए पनि उनी विशेषमा हाजिर भइसकेका छैनन्।

मिश्रमाथि प्रतिकूल बकपत्रको मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा प्रतिकूल बकपत्र गरेको भन्दै एकजनामाथि मुद्दा दायर गरेको छ। बुधबार चन्दनकुमार मिश्रउपर उक्त अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो।

मिश्रले साइबर ब्युरो भोटाहिटीका तत्कालीन प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीमाथिको घुस रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरेको अभियोग छ। यसै वर्ष २८ भदौमा सुवेदीमाथि मुद्दा दायर भएकोमा मिश्रले अदालतमा बयान फेरेका थिए।

प्रहरी निरीक्षक सुवेदीले मिश्रको भाइमाथि लागेको साइबर अपराधको मुद्दा मिलाइदिने भनी ९९ हजार रुपैयाँ घुस लिएको अभियोग अख्तियारले लगाएको थियो। तर, मिश्रले अदालतमा बयान फेरेपछि उनीविरुद्ध पनि मुद्दा दायर भएको हो।