मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २ बुधबार
  • Wednesday, 15 January, 2025
२o८१ माघ २ बुधबार १९:५o:oo
Read Time : < 1 मिनेट
समाचार

पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनर्निर्माण हुन बाँकी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २ बुधबार १९:५o:oo

०७२ को भूकम्पले क्षति पुर्‍याएको विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार क्षेत्रका २४ ऐतिहासिक सम्पदामध्ये २२ सम्पदाको पुनर्निर्माण भइसकेको छ भने दुई संरचना पुनर्निर्माण हुन बाँकी छ। उक्त सम्पदा पुनर्निर्माण प्रक्रिया अघि बढेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ। 

राणकालीन अदालत भवन र ऐतिहासिक नरसिंह मन्दिर पुनर्निर्माण भइरहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख मन्जु थापाले जानकारी दिइन्। उनले भनिन्, ‘भारत सरकारको सहयोगमा पुनर्निर्माण हुन लागेको अदालत भवनको दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ। ऐतिहासिक नरसिंह मन्दिरको पनि ललितपुर महानगरपालिकाको सहयोगमा पुनर्निर्माण अघि बढेको छ।’ 

करिब चार सय वर्ष पुरानो नरसिंह मन्दिरमा एक सय ५३ थरिका इँटा प्रयोग गरिएकाले हाल इँटा तयारी भएको ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए। उनका अनुसार उक्त मन्दिरको पुनर्निर्माण आगामी आठ महिनाभित्र सम्पन्न हुनेछ। 

भूकम्पले क्षति पुर्‍याएका केही संरचना पुनर्निर्माण भई उद्घाटनसमेत भइसकेका छन्। कम क्षति पुगेका सम्पदाहरूको सामान्य मर्मत गरिएको पाटन दरबार संग्रहालयका प्रमुख सुरेशमान लाखेले बताए। उनका अनुसार पाटन दरबारको सबैभन्दा ठुलो मन्दिरको रूपमा चिनिने देगुतलेजु मन्दिर पुनर्निर्माण सम्पन्न भएको छ। 

१९९० को भूकम्पले भत्काएको भाइदेव मन्दिर संरक्षणको काम अघि बढेको भए पनि आर्थिक अभावका कारण पुनर्निर्माण सम्पन्न हुन सकेको छैन। विभिन्न दाताको सहयोगबाट पुनर्निर्माण सुरु भएको उक्त मन्दिरको काम हाल स्थगित छ। -रासस