घरेलु मजदुरका रूपमा दुबई हिँडेकी काठमाडौं हिलेटोलकी सम्झना शर्मा (परिवर्तित नाम) एकाएक इराकस्थित सुलेमानी अन्तर्राष्ट्रिय विमानस्थल झर्दा नै झस्केकी थिइन् । छाँगाबाट खसेको अनुभूति त उनीले त्यसपछि गरिन्, जब दलालले पत्तै नदिई बेचेको सुइँको पाइन् ।
मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार शर्मालाई झापा बिर्तामोड नगरपालिका– ९ टंगाबारीका ४५ वर्षीय भीमप्रसाद बजगार्ईं, इलाम रोङ गाउँपालिका– ४ का ४० वर्षीय सन्तोष सुनुवार र हेमरानी घलेको समूहले दुबई लैजाने भन्दै इराक लगेर ६ लाख ७० हजार रुपैयाँमा बेचेका हुन् । घटनामा संलग्नमध्ये बजगाईं पक्राउ परेका छन् । अरू दुई फरार छन् । ब्युरोका प्रवक्ता एसपी भावेश रिमालले बजगाईं दुई दिनअघि मात्रै पुर्पक्षका लागि जेल चलान भएको र फरार अभियुक्तविरुद्ध खोजी कार्य जारी रहेको बताए ।
उनले भने, ‘महिलालाई दुबई लैजाने भनेर इराक पुर्याएछन् । ६ लाख ७० हजारमा बेचिदिएछन् । घटनामा संलग्नमध्ये एकजना पक्राउ परे । उनी पुर्पक्षका लागि जेल चलान भएका छन् । बाँकीको खोजी कार्य जारी छ ।’
ब्युरोका अनुसार शर्मासँग दुबई बस्ने हेमरानीको टेलिफोनमार्फत भेट भएको थियो । शर्मालाई प्रतिमहिना ४० हजार रुपैयाँ पाउने गरी दुबईमा घरेलु मजदुरका रूपमा काम लगाइदिने प्रलोभन उनै हेमरानीले दिएकी थिइन् । उनकै प्रयासपछि शर्माले भीमप्रसादसँग भेट गरेकी थिइन् । दुबई जानका लागि आवश्यक कागजातसहित ३५ हजार रुपैयाँ पनि भीमप्रसादलाई नै दिन उनले भनेकी थिइन् । सोहीअनुसार गरेकी शर्मा ३० असार ०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दुबई पुगेकी थिइन् ।
तर, फ्लाई दुबईको विमानबाट गएकी उनलाई दुबईमा भने झर्न दिइएन । जहाज उडेर अर्कै दिशातर्फ लाग्यो । केही घण्टाको यात्रापछि जहाज अवतरण भयो । जब उनी जहाजबाट झरिन्, त्यसपछि इराकको सुलेमानी आइपुगेको सुइँको पाइन् । उनलाई लिन मचाक कम्पनीका मान्छे पहिले नै विमानस्थल पुगिसकेका थिए । तनावमा रहेकी उनी विमानस्थलबाट बाहिरिनेबित्तिकै मचाकका मान्छेले भेटेर सँगै लिएर गए ।
प्रहरीका अनुसार उनलाई अज्ञात स्थलतर्फ लगियो । कोठामा बन्धक बनाइयो । त्यसरी कोठामा बन्धक पारिएका उनीजस्तै अन्य महिला पनि थिए । खानासमेत नदिएपछि उनले समस्या नेपाल रहेका श्रीमान्लाई भनिन् । श्रीमान्ले भीमप्रसादलाई भेटे । त्यसको केही दिनपछि उनको कोठामा इराकमै बस्ने इलाम रोङ गाउँपालिका– ४ का ४० वर्षीय सन्तोष सुनुवार पुगे । आश्वासन दिँदै भएभरका सबै कागजात उनीसँग मागे र आफूसँगै लिएर गए । त्यसपछि उनी कहिल्यै फर्किएनन् ।
पीडितका अनुसार करिब डेढ महिनाको बन्धक जीवनपछि उनलाई एक इराकीको घरमा लगियो । घरेलु मजदुरका रूपमा नियुक्त गरियो । घरमालिकले उनलाई दैनिक १५ घण्टा काम लगाए । शारीरिक र मानसिक यातना दिए । तलबसमेत नदिएपछि उनले नेपाल फर्किने निधो गरिन् । प्रस्ताव लिएर घरमालिककहाँ पुगिन् । त्यसपछि पो थाहा पाइन्, उनलाई त दलालले ६ लाख ७० हजार रुपैयाँमा बेचेका रहेछन् ।
ब्युरोका एसपी रिमालले भने, ‘यिनीलाई दलालले ६ लाख ७० हजार रुपैयाँमा बेचेका रहेछन् । तलब पनि नदिने रहेछ । शारीरिक र मानसिक यातना दिने रहेछ । सबैगरी यिनले उक्त घरमा १० महिना काम गरेको देखिन्छ । तर, तलब भने ६ महिनाको मात्रै लिएको देखिन्छ ।’
नेपाल फर्कन खोज्दा घरमालिकले ६ लाख ७० हजार रुपैयाँ फिर्ता मागे । उनले उक्त पीडा श्रीमान्सँग पोखिन् । अन्ततः श्रीमान्ले मालिकले मागेबमोजिमको रकम चार किस्तामा भुक्तानी गरे । त्यसपछि गत ५ भदौमा उनी नेपाल फर्किन सफल भएको मानव बेचबिखन अनुसन्धान ब्युरोले बतायो ।
ब्युरोका एसपी रिमालले भने, ‘नेपाल फर्कन खोज्दा घरमालिकले ६ लाख ७० हजार फिर्ता मागेछ । यिनको श्रीमान्ले चार किस्ता गरेर नेपालबाट मागबमोजिमको रकम भुक्तानी गरेको देखिन्छ । त्यसपछि मात्रै उनी नेपाल फर्कन सफल भएकी हुन् । हामीकहाँ जाहेरी परेपछि घटनाको अनुसन्धान भयो । भीमप्रसाद पक्राउ परे । तर, अन्यलाई भने पक्राउ गर्न सकिएको छैन ।’